निश्चित भयो ६ करोड आउने : अब संसद् किन धाउने ?

  •   काठमाडौं
  •   २१ जेष्ठ २०७६, मंगलवार
  •   नयाँपत्रिका
0Shares

प्रदीप गिरि भन्दै थिए, ‘या त यो बजेटबाट समाजवाद शब्द हटाइदिनुस्, म खुसी हुनेछु, या सहरलाई गाउँ बनाइदिनुस् म तपाईंलाई धन्यवाद दिनेछु ।’

सांसद प्रदीप गिरि

बजेटबारे एउटा आधारभूत कुरा भन्छु । उर्दूमा एउटा कथन छ– लुकमे के फेर से खुदा जुदा हो जाता है । उर्दूमा एउटै शब्दमा चन्द्रबिन्दु राखे त्यो खुदा (ईश्वर) हुन्छ, हटाए जुदा (विछोड) हुन्छ । बजेटको ४७ पेजमा ‘आधुनिक सभ्यताका मानक नै सुविधायुक्त सहर भएको र मुलुकको विकासको स्वरूप सहरी पूर्वाधारबाटै प्रतिबिम्बित हुने यथार्थलाई ध्यान दिँदै सहरी विकासको कार्यक्रम प्रस्तुत गरेको छु,’ भनिएको छ ।

यस पंक्तिमा एउटा शब्द फेरिदिने हो भने मलाई यो बजेट पूर्णतः स्वीकार छ । त्यो खुदालाई जुदा बनाउने शब्द हो । के आधुनिक सभ्यताको मानक सहर हो त ? काठमाडौंलाई सहरको सट्टा कहर बनाएर पनि चित्त बुझेन ? कहरको अर्थ हो बर्बादी । यसलाई तपाईं ठाँटले ‘आधुनिक सभ्यताको मानक नै सुविधायुक्त गाउँ …’ लेख्न सक्नुहुन्न ? के गाउँलाई सुविधायुक्त बनाउन सकिँदैन ? गाउँलाई नै सुविधायुक्त बनाउनु आजको नेपालको चुनौती हो कि होइन ? एउटा शब्द छ, पियुआरए (प्रोभाइडिङ अर्बन एमेनेटिज टु रुरल एरियाज्) ।

अब्दुल कलाम भारतका राष्ट्रपतिले प्रयोग गरेको शब्द हो यो । बिन्ति छ– सहरलाई गाउँ बनाइदिनुस् त, सारा बजेटको रुपरेखा बदलिन्छ । तर, गाउँ, सहर, अझ ठूलो सहर, अनि फोहोर काठमाडौँ त्यसपछि विदेश जाने लर्को छ । यही हो नेपालीको नियति ? ५०–६० वर्षअघि देश बनाउने कसम खाएका होइनौँ ? हामीले गाउँ बनाउने हो । सहरलाई अझै कति चाहिने हो ? गाडी पुगेन कि स्कुल पुगेन कि अस्पताल ?

विद्वान् सांसद प्रदीप गिरि बोल्दा पनि प्रतिनिधिसभामा उपस्थिति यस्तो छ

अर्को प्रश्न– सभ्याताको परिभाषा के हो ? मैले पनि यसबारे विचार गरेको छु । सभ्य भनेको त्यो हो, जो सभामा बस्न लायक छ । हाम्रा आचरण हेर्दा आफैँलाई सभ्य भन्न सकिन्न । गाउँका साधारण मानिसमा के कमी छ र ऊ सभ्य भएन ? के ऊ छिमेकीप्रति दयालु छैन ? मर्दा–पर्दा अरुलाई साथसहयोग गर्दैन ? तर, यो सहरमा तल्लो तलाको मान्छे मर्दा माथिल्लो तलाको मान्छे मलामी जाँदैन । विकासको आजको जुन धारणा छ, त्यो आधारभूत रुपमा गलत छ । असभ्य छ, बर्बर छ, पाशविक छ ।

कति आयु छ वर्तमान प्रधानमन्त्रीको ? उहाँको ठट्टाअनुसार ५ दिन । अर्का आकांक्षीका अनुसार १५ महिना । पाँच वर्ष । यस देशमा नीतिको बारेमा छलफल हुँदैन । नेताको बारेमा मात्र हुन्छ । कति प्रधानमन्त्री हेर्ने ? यस देशलाई चाहिएको तथाकथित समाजवादी नीति भनेको के हो ? हामी जता गए पनि समाजवादतर्फ गइरहेका छौँ । समाजवाद भनेको जीवनप्रति अर्कै दृष्टिकोण हो । सबै मनुष्य मनुष्य हुन् भन्ने दृष्टिकोण हो ।

विपी र माओबाट मैले समाजवाद सिकेको हो । बिल्कुल अलग धारका । गान्धीको नाम किन लिन्नँ भने गान्धीले कहिल्यै पनि आफूलाई समाजवादी भनेनन् । बिपीका रचनाका बारे म ढुक्क छु– हामीलाई धेरै थाहा छैन । कतिपय अन्तर्विरोध भए पनि उनले आखिरी वर्षमा बारम्बार विकास भनेको मानवीय प्रक्रिया हो भनेका थिए । तर, यो बजेटमा मानवीय पक्ष छ, स्वास्थ्य, शिक्षा, रोजगारीको कुरा छ । तर, यसमा के छैन ? जुन शिक्षकले हाजिरी गर्छ तर आफैं राम्ररी पढाउँदैनन्, आफ्ना छोराछोरीलाई भने ट्विंकल– ट्विंकल लिटिल स्टारमा पढाउँछन्, यो बजेटले त्यसलाई ‘दूर’ गर्न सक्छ ? शिक्षक र कर्मचारीलाई हाजिर गराउन सक्नुहुन्छ ? कृषि अनुदान खाने बिचौलियालाई रोक्न सक्नुहुन्छ ? त्यसकारण यो काम अर्थमन्त्रीको वशमा छैन । नयाँ विचार ल्याउनुहोस् । समाजवाद भनेको नयाँ सभ्याता हो, दुईचार हजार रुपैयाँ बढाउनु वा घटाउनु होइन ।दुईटा अनुरोध, या त यो बजेटबाट समाजवाद शब्द हटाइदिनुस्, म खुसी हुनेछु । या सहरलाई गाउँ बनाइदिनुस् म तपाईँलाई धन्यवाद दिनेछु ।

बजेटमा छलफल : न सत्तापक्ष न प्रतिपक्ष दल
प्रतिनिधिसभामा गत आइतबारदेखि आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ । तर, बजेटजस्तो गम्भीर विषयमाथिको छलफलमा सांसदको उपस्थिति भने न्यून हुने गरेको छ । सोमबार बजेट वक्तव्यमाथि भएको सैद्धान्तिक छलफलमा शीर्ष नेताहरू नै अनुपस्थित भए ।

शीर्ष नेता बस्ने पहिलो पंक्तिका सिट रित्तै 
कांग्रेसका सबै खाली: प्रमुख प्रतिपक्षी दल कांग्रेसका लागि पहिलो पंक्तिमा ६ सिट निर्धारण गरिएको छ । सोमबार सबै सिट खाली रहे । नेकपाका १२ मध्ये १० रित्तै: सत्तारूढ नेकपाका शीर्ष नेताका लागि अग्रपंक्तिमा १२ सिट छुट्याइएको हुन्छ । तर, सोमबार दुई सिटमा प्रमुख सचेतक देव गुरुङ र नेता अग्नि सापकोटा थिए । अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताको कुर्सी खाली रह्यो ।
मन्त्रीका ६ सिटमा ५ अनुपस्थित : अग्रपंक्तिमा मन्त्रीहरूका लागि ६ सिटको व्यवस्था गरिएको छ । तर, सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायतको ५ कुर्सी खाली रहे । एउटा कुर्सीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली थिए ।

समाजवादी पार्टीको ३ सिट खाली : सत्तारूढ समाजवादी पार्टी नेपालका लागि अग्रपंक्तिमा छुट्याइएका ५ सिटमध्ये दुईवटामा मात्रै सांसद थिए । उमाशंकर अरगरिया र रामसहायप्रसाद यादव छलफलमा उपस्थित हुँदा संयोजक उपेन्द्र यादवलगायत देखिएनन् ।

राजपाका ५ मध्ये ४ अनुपस्थित : विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका लागि अग्रपंक्तिमा ५ सिट छुट्याइएको छ । तर, महन्थ ठाकुर, उपेन्द्र महतोलगायत शीर्ष नेता उपस्थित भएनन् । पाँच सिटलाई प्रतिनिधित्व गर्दै एउटा सिटमा अनिल झा मात्रै देखिन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *