हुथी विद्रोहीको ड्रोन आक्रमणबाट साउदी अरबको तेल उत्खनन क्षेत्रमा आगलागी

  •   काठमाडौं
  •   १ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी
0Shares
एजेन्सी । यमनका हुथी विद्रोहीले जिम्मेवारी लिएको एक ड्रोन आक्रमणले एउटा साउदी तेल तथा ग्यास उत्खनन् गर्ने मैदानमा आगलागी भएको छ ।
यद्यपि, आक्रमणमा कुनै हताहती नभएको र तेल उत्पादन पनि अवरुद्ध नभएको सरकारी उर्जा कम्पनी अरम्कोले बताएको छ ।
‘साउदी अरम्कोको टिमले आज विहान शेबाहको प्राकृतिक ग्यास संयन्त्रको सिमित भागमा लागेको आगोलाई निभाएको छ,’ शनिबार अरम्कोले बतायो, ‘आगलागीले उक्त तेल संयन्त्रका कसैलाई पनि क्षति पुर्याउन भने संयन्त्रमा पनि कुनै अवरोध पुगेको छैन ।’
शनिबार विहान हुथी विद्रोहीका सैन्य प्रवक्ताले आफूले शेबाहको तेल क्षेत्रमा १० ड्रोनको प्रयोग गरेर आक्रमण गरेको बताए । उनले यो आक्रमण साउदी अरबभित्र हुथीले गरेको सबैभन्दा ठूलो आक्रमण भएको पनि जानकारी दिए ।
पछिल्ला महिनाहरुमा यमनको विद्रोही समूहले छिमेकी साउदी अरबको भू–भाग भित्र मिसाइल र ड्रोन आक्रमण बढाएको छ । तिनको आक्रमणको निशाना साउदी हवाई आधार र अन्य संयन्त्र हुने गरेको छ ।
साउदी उर्जा मन्त्री खालिद अल–फलिहले आक्रमणबारे बोल्दै भने, ‘शेबाहको महत्त्वपूर्ण संयन्त्रमा भएको आक्रमणलाई साउदी अरब कडा शब्दमा आलोचना गर्छ ।’
‘आतकंवादीहरुको यो आक्रमण अन्तर्राष्ट्रिय तेल आपुर्तिलाई अवरोध गर्ने लक्ष्य सहित भएकाले यो साउदी अरबविरुद्ध मात्र नभएर समग्र विश्व अर्थतन्त्रविरुद्ध लक्षित छ,’ मन्त्री फलिहले भने ।
शेबाहले दैनिक दशौँ लाख कच्चा तेल उत्पादन गर्छ र यो हुथी नियन्त्रणमा रहेको उत्तरपश्चिम यमनबाट हजार किमी टाढा छ ।
आफ्नो बेवसाइटमा साउदी अरम्कोले शेबा तेल खानीलाई ‘पृथ्वीको सबैभन्दा सुदुर खजाना ’ भनेको छ । त्यस क्षेत्रमा १४.३ अर्ब ब्यारेल तेल भण्डार छ ।
साउदी अरबले यमनको राजधानीसमेत महत्त्वपूर्ण बन्दरगाह कब्जा गरिरहेका हुथीविरुद्ध केही वर्षदेखि हवाई आक्रमण गरिरहेको छ । त्यस विरुद्ध हुथीले समय समयमा साउदी अरबभित्र सानो आकार मिसाइल र ड्रोन आक्रमण गर्ने गरेको छ ।
हुथी विद्रोहीले संचालन गरेको टेलिभिजनले आफ्ना प्रवक्ताको भनाई उदृत गर्दै भनेको छ, ‘यमनमाथिको दमन कम नभए ‘थप गम्भीर र ठूलो आक्रमण’ हुनेछ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *