प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक ज्ञवाली ,लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ सम्पन्न

  •   काभ्रे
  •   २४ असार २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

नेपाल प्रहरीकाे सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ सम्पन्न भएकाे छ ।

काठमाडौं असार २४ गते


नेपाल प्रहरीकाे तीस वर्ष सेवा अवधि पुरा गरी सेवानिबृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक सूर्य प्रसाद उपाध्यायलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले आफ्नो कार्यकालमा संगठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीहरुको कार्यक्षमता तथा कार्यकौशल अनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने र संगठनका हरेक सदस्यहरुको संगठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताउनुभयो । कोरोना भाइरसको विश्वव्यापी संक्रमणको प्रकोपको कारण राज्यसँगै प्रहरीको प्राथमिकता र कार्यशैलीले अनेपक्षित मोड लिन बाध्य भएतापनि आफ्नो दृष्टिकोणलाई डगमगाउन नदिई संगठनमा प्रहरी कर्मचारीको वृत्तिविकास लगायतका विविध सुधारका पक्षलाई गति दिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी सेवा नागरिकहरुका लागि हो तर यसमा दुवै पक्षवीचको परस्पर सहकार्य, सदभाव र तालमेल पनि आवश्यक रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले भन्नुभयो, ‘दिनेले सेवा दिए भन्नु मात्र पनि पर्याप्त हुँदैन, सेवा पाउनेले पनि पाएको महसुस गर्नुपर्छ । प्रहरी कर्मचारीहरुमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार हुनुपर्ने प्रशस्त स्थान रहेको छ ।’ लामो र वृहत इतिहास र भविष्य भएको प्रहरी संगठनलाई समाजमा स्थापित गर्न आन्तरिक एकता र नागरिकको विश्वासले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई जोगाउन भावि नेतृत्व अझै प्रयासरत रहनुपर्नेमा उहाँले जोड दिनुभयो । 

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई दीर्घ सेवा सम्मान प्रदान गर्नुभयो । साथै उहाँले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।

सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरुको व्यावसायिक इमानदारिता, नेतृत्व क्षमता र सादा जीवनबारे चर्चा गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले सेवानिवृत्त भएपछि पनि संगठनको संस्थागत हितका लागि आगामी दिनमा सल्लाह र सुझावको अपेक्षा रहने समेत बताउनुभयो । 

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले उहाँहरुलाई हार्दिक बिदाइ गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *