
नेपाली काँग्रसका ४१ वटा जिल्लाका सभापतिहरुकाे जुम बैठक सम्पन्न भएकाे छ । जिल्ला सभापतिहरूले खोपको प्रबन्ध गर्न सरकारलाई आग्रह गरेको छ ।
जुम बैठकमा सहभागि नेपाली काँग्रेसका ४१ जिल्लाका सभापतिहरुले अविलम्ब सम्पूर्ण नेपाली नागरिकलाई कोभिड बिरुद्धको खोपको प्रवन्ध गर्न, सबै पालिकास्तरमा पर्याप्त अक्सिजन आपूर्ति सहितको आईसोलेसन केन्द्र स्थापना गर्न र श्रमिक एवं बिपन्न परिवारलाई तत्काल राहत खाद्यान्न ब्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गरेको नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यले जानकारी दिए ।
त्यस्तै सबै जिल्लाका पार्टी स्वामित्वमा रहेका भवनहरु कोभिड संक्रमितहरुको उपचारार्थ क्वारेन्टाईन वा आईसोलेसन सेन्टरको रुपमा प्रयोगमा ल्याउन उपलब्ध गराउने, मुलुकका सम्पूर्ण वडामा जनस्तरसम्मै ब्यापक पिसिआर टेष्ट गराउने अभियान सरकारले अघि बढाओस, त्यसमा नेपाली कांग्रेसका पार्टी सदस्यहरु स्वयंसेवकको रुपमा सहयोग गर्न तयार रहेको प्रतिवध्दता समेत व्यक्त गरेका छन् ।
जुम बैठकले लामो त्याग, संघर्ष र वलिदानमार्फत स्थापित लोकतन्त्र, संविधान,जनादेश र जनअपेक्षा विपरीत सुनियोजित ढंगले अधिनायकवादी बाटोमा अग्रसर वर्तमान ओली सरकारलाई बिस्थापन गर्नेतर्फ गंभीर हुन तथा बैकल्पिक सरकार निर्माणका सबै बिकल्पहरु खुला गरेर अन्य दलहरुसँग संवाद अघि बढाउन पार्टी नेतृत्व समक्ष आग्रह गरेको छ ।
नेपालको संविधान र पार्टीको विधान अनुसार समयमै पार्टीको महाधिवेशन हुने कुरामा संसय देखिएको हुँदा बेलैमा महाधिवेशन वा विशेष महाधिवेशन सम्पन्न गर्नेतर्फ आवश्यक परिपक्व निर्णय तथा विश्वसनीय तयारीका लागि केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउने निर्णय भएको काभ्रे जिल्ला सभापति आचार्यको भनाई छ ।