शुक्रबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ८-२ गोलको फराकिलो अन्तरले पराजित गर्दै बायर्न

  •   काभ्रे
  •   ३१ श्रावण २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

बार्सिलोनाको पोस्टमा बायर्नको ८ गोल

श्रावण ३१ गते

जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ८-२ गोलको फराकिलो अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

पोर्चुगलको लिस्बनस्थित स्टाडिओ डा लुजमा भएको खेलमा बायर्नलाई जित दिलाउन थोमस मुलर र फिलिप्पे काउटिन्होले दुई/दुई गोल गरे । त्यस्तै इभान पेरिसिक, सर्जे नाब्री, जोसुआ किमिच र रोबर्ट लेवान्डोवस्किले एक/एक गोल गरे । बार्सिलोनाका लागि लुइस सुआरेजले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको चौथो मिनेटमा नै बायर्नले अग्रता लिएको थियो । रोबर्ट लेवन्डोवस्किको पासमा मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै डेभिड अल्बाले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा आएको थियो ।

२१ औं मिनेटमा पेरिसिकले गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए । उनले नाब्रीको पासमा गोल गर्दै २-१ को अग्रता दिलाए । २७ औं मिनेटमा नाब्रीले गोल गर्दै बायर्नलाई ३-१ गोलले अगाडि बढाए । ३१ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरे । उनले जोसुआ किमिचको क्रसमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा ४-१ गोलको अग्रता दिलाए ।

खेलको ५७ औं मिनेटमा जोर्डी अल्बाको पासमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६३ औं मिनेटमा अल्फोन्सोको क्रसमा किमिचले गोल गर्दै बायर्नलाई ५-२ गोलले अगाडि बढाए ।

७५ औं मिनेटमा मौदान प्रवेश गरेका काउटिन्होले दुई गोल र एक असिस्ट गरेका थिए । ८२ औं मिनेटमा लेवान्डोवस्किको गोलमा असिस्ट गरेका थिए । त्यस्तै ८५ औं र ८९ औं मिनेटमा व्यक्तिगत दुई गोल गर्दै बायर्नलाई ८-२ गोलको फराकिलो जित दिलाएका थिए ।

अब बायर्नले सेमिफाइनलमा प्रीमियर लिग क्लब म्यानचेस्टेर सिटी र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग खेल्ने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *