बालिका करणी गर्ने दुई फरार अभियुक्त पक्राउ:-डिएसपी नवराज ढुंगाना

  •   काभ्रे
  •   १ जेष्ठ २०७८, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

बालिका करणी गर्ने दुई फरार अभियुक्त पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले जबरजस्ती करणीका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं. ६ सिमपानी बस्ने वर्ष ३१ को मोहन श्रेष्ठ र मन्थली नगरपालिका वडा नं. १३ बस्ने वर्ष २२ को सागर भन्ने रामबहादुर सुनार रहेका छन् ।

घटना विवरण अनुसार श्रेष्ठले वैशाख २७ गते दिउँसो १ बजे १६ वर्षीया बालिकालाई बारीमा मकैछर्न गएको समयमा कोही नभएको मौकापारी जबरजस्ती करणी गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

त्यस्तै गत वैशाख २७ गते साँझ ७ बजे १४ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुनारलाई पक्राउ गरेको हो । आफन्तले प्रहरीमा दिएको उजुरी अनुसार सुनारले त्यसपछि पनि विभिन्न पटक डर देखाई जबरजस्ती करणी गर्ने गरेको उल्लेख छ ।

आज (शुक्रबार) पक्राउ परेका श्रेष्ठ र हिजो (बिहिबार) पक्राउ परेका सुनारलाई आज जिल्ला अदालत रामेछापबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी नवराज ढुंगानाले बताए ।
ढुंगानाका अनुसार – ‘पीडित परिवारका आफन्तले बिहिबार प्रहरीमा उजुरी दिएपछि साथै, घटना भएको थाहा पाउने बित्तिकै हामीले फरार अभियुक्तको खोजीकार्यलाई तीव्र बनाएका थियौं । सोही अनुसार उजुरी परेकै दिन हिजो बिहिबार सुनार र आज श्रेष्ठलाई पक्राउ गर्न सफल भएका हौं ।’

डिएसपी ढुंगानाले जिल्लामा घट्ने गरेका विभिन्न प्रकारका घटनाको बारेमा प्रहरीलाई तत्काल सूचना उपलब्ध गराउने हो भने अपराधीलाई छिटो भन्दा छिटो पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिने बताए । त्यसका लागि नागरिकलाई निर्धक्क साथ सूचना उपलब्ध गराएर सहयोग गर्नसमेत ढुंगानाले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *