नेपाल सरकारको सह-सचिव पदमा छनौट हुनुुुभएकाे हार्दिक बधाई तथा शुभकामना

  •   काभ्रे
  •   २९ असार २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

  • मछिन्द्र कुमार लामा,बेथानचाेक २ ढूंखर्क

नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी (सह-सचिव) पदमा छनौट हुनुुुभएकाे हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।याे सफलता मातापिता, गुरुहरू, कुलदेवता, वेथानचोक नारायण,साथिभाई र बन्धुबान्धव लगायत सबैको आशिर्वाद, शुभेच्छा र उहाँको मेहनतको प्रतिफल हो।

सफलताको कसीमा नमराजको कथा

चाल्स डार्विनको एउटा सुप्रसिद्ध भनाई सम्झनामा आयो । उहाँले भन्नु भएको थियो– जो जो व्यक्ति संघर्ष गरेर बाँच्न सक्षम हुन्छन्, तिनीहरु नै सबैभन्दा योग्य हुन्छन् । बेलायतमा १८०९ मा जन्मिएका विश्व प्रसिद्ध वैज्ञानिक चाल्स डार्विन जीवको विकास कसरी भयो भन्ने विषयमा ज्ञान दिने सबैभन्दा पहिलो वैज्ञानिक हुन् । ७४ वर्षको उमेरमा सन् १८८२, अप्रिल १९ मा उनको निधन भएको थियो । चाल्र्स डार्विनको प्रसिद्ध भनाई संसारका धेरै मान्छेमा लागु भएको छ नै । त्यसमध्येका एक हुन् नमराज घिमिरे । मेरो बालसखा नमराज घिमिरेले खुला प्रतिशस्पर्धामा दोस्रो नम्बरमा सह–सचिवमा नाम निकाले पछि बधाई आउने क्रम अझै रोकिएको छैन । हामी सहपाठी उनको उन्नतीमा खुशी नहुने कुरै भएन । किन भने उनी संघर्ष गरेरै योग्य बनेका पात्र हुन्, समयमै बेथाञ्चोकको पहिलो सचिव बन्ने ढोका खोलेका छन् उनले । गाउँले परिवेस, आर्थिक असहजता, पारिवारिक बोझ सबै व्यहोरेका छन् उनले । परिवारबाट सहयोग पाउनुभन्दा पनि परिवालाई सहयोग गर्नु पर्ने बाध्यता थियो त्यसबेला । यतिवेला सबै दाइभाइ आर्थिक रुपमा सक्षम भएका छन् । वास्तवमा हुने विरुवाको चिल्लो पात भनेझै नमराज सानैदेखि चलाख थिए, मर्दापर्दा गाउँघरमा खट्ने मात्र होइन, विषय वस्तुलाई तार्किक निष्कर्षमा पुर्याउने सानैदेखिको स्वभाव थियो नवराजको । हामीले १ कक्षादेखि एसएलसीसम्म सँगै पढेका हौं, म टेक्निकल फिल्डतिर लागें । उनले अस्कल क्याम्सबाट बीएससी, त्रिभूवन विश्वविद्यालयबाट दुई विषयमा डिग्री, जापान र अष्ट्रेलियाको युनिभर्सिटीबाट एक एक डिग्री लिएका छन् । निम्न मध्यमवर्गीय परिवारको आर्थिक र अन्य विशेषता, बाल्यकालको माहोल, मेहनत गर्ने आदत, बहुमुखी प्रतिभा, असाधारण व्यक्तित्व, आँट र क्षमता, मानवता, जीवनको उद्देश्य र दृढता आदि सबै दृष्टिकोणले उनी गाउँघरदेखि प्रशासनसम्म लोकप्रिय छन् । बालकदेखि बुढासम्म तुरुन्तै घुलमिल हुन सक्ने बोलैया उनको स्वभावले पनि लोकप्रिय बनाएको हुनुपर्छ ।
त्यो दिन (मिति सम्झन सकिन) इन्द्रबहादुर तिमल्सिना सरले भन्नु भएको कुरा मेरो दिमागमा झल्झली आइरहेको छ । हामी कक्षा ७ मा पढ्दै थियौं । सरले एक दिन नमराजलाई देखाएर भन्नु भयो– यो एक दिन प्रमुख जिल्ला अधिकारी बन्छ। हामी केटाकेटी न थियौं, सरको कुरालाई त्यति महत्व दिएनौं, नमराजले मनमा लिएको भए थाहा भएन । तर हाम्रोबीच कुनै कुरा लुक्दैनथ्यो । हामी खुलेर कुरा गथ्यौं, तर त्यस्तो कुराको आभाष पनि दिएका थिएनन् उनले । हुन त त्यही पार्वती स्कूलमा ४७ वर्ष शिक्षण पेशामा विताएर अवकाश पाउनु भएको इन्द्रबहादुर सरले बालमनस्थिति नबुभझ्ने कुरै भएन, राम्रो शिक्षकले कुन विद्यार्थीको क्षमता के के छ, उसको रुची कुन क्षेत्रमा छ भन्ने कुरा बुझेकै हुन्छन् । २०१६ सालमा स्थापना भएको पार्वती प्रविमा २०१८ सालदेखि विधिवत पढाउन थाल्नु भएको हो । उहाँले नघोकाएको, हात समातेर नलेखाएको को होला र (?) ढुंखर्कमा । हुन पनि शिक्षकहरू इन्द्रबहादुर तिमल्सिना, डा.रामप्रसाद ज्ञवाली, भरत शाही, बलराम तिमल्सिनालगायत अब्बल शिक्षकहरूका प्रिय थिए नमराज । बलराम तिमल्सिना प्रधानाध्याक भएर पार्वती माविमा जानु भएको थियो । लोकसेवामा नाम निश्किएपछि शिक्षा मन्त्रालयको अधिकृतको रुपमा प्रवेश गर्नु भएको बलराम तिमल्सिनाले केही वर्षअघि उपसचिवबाट राजिनामा दिएर युनेश्कोमा आफुलाई व्यस्त बनाउनु भएको छ । डा. रामप्रसाद ज्ञावली पनि प्रशंसा गर्न लायक शिक्षक हुनुहुन्थ्यो । भरत शाही अहिले कता पुग्नु भएको छ जानकारी छैन । आफ्ना विद्यार्थीलाई सक्रिय सिकारु, निर्धक्क सिकारु, उत्सुकतापूर्ण विद्यार्थीका रुपमा देख्न चान्छन् राम्रा शिक्षकहरु । त्यस मानेमा निजामती सेवा तर्फ नमराज सफल भए । विद्यालयमा केवल विद्यार्थीलाई पास गराउने उद्देश्यले शिक्षण गरिने नभई पाठ्यक्रमलाई जीवन र जगतसँग जोडेर विद्यार्थीको प्रत्यक्ष संलग्नतामा ज्ञानको सिर्जना गरिन्छ । त्यसमा सामूदायिक विद्यालयहरु कति सफल भए कति असफल भए त्यो समिक्षको अलग विषय हुन सक्छ । शिक्षा सबैको लागि, अनि सधैको लागि भनिन्छ । २१ औ शताब्दीका बिद्यार्थीलाई २० औ शताब्दीका शिक्षकहरु, अनि १९ औ शताब्दीका पाठ्यक्रमलाई १८ औं शताब्दीको विधिले पढाइदैछ भने कसरी हामीमा समृद्धि आउला, सस्कार र संस्कृति हामीले कसरी सिकौला ? मेरो जिज्ञाषा छ । सबै नमराज हुदैनन् भन्ने ख्याल गर्नै पर्छ । बालुवामा पानी निरन्तर हालिराख्यो भने वालुवामै पोखरी बन्न सक्छ भन्ने कुरा हामीले कहिले सिक्ने ?


स्कूलमा नमराज एक पटक पढाएको कुरा खरर भन्दिन्थे
पढाईभन्दा उनी सिकाइमा ध्यान दिन्थे । साबिकको ढुंखर्क गाविस वडा नं–६ थलीमा २०३२ साल मंसिर २५ गते जन्मिएका नमराज घिमिरेको पहिलो शिक्षक पिता बिजुलीप्रसाद घिमिरे, आमा इन्द्रछायाँ घिमिरे र पहिलो पाठशाला घर नै हो । यद्यपी सबै व्यक्तिको पहिलो विश्वविद्यालय घर नै हो । उनका पिता विजुलीप्रसाद शिक्षक र राजनीतिक कर्मीका रुपमा उतिबेलै स्थापित हुनुहुन्थ्यो । उसबेला गाउँमा शिक्षक बन्नु भनेको दशैंमा टिका लगाएर अशिष दिदा फलानो माष्टरजस्तो भएस् भनिन्थ्यो । विजुलीप्रसाद घिमिरेले पार्वती प्राविको पहिलो अनौपचारिक शिक्षकका रुपमा नौ महिना पढाउनु भएको कुरा प्रेमप्रसाद तिमल्सिनाले बताउनु भएको थियो । २०२९–३० सालतिरै भारतबाट प्रकाशित हिन्दीका म्यागाजिनहरु मगाएर पढ्नु हुन्थ्यो रे उहाँ । हाम्रो हजुरबा बलबहादुर तामाङसँग उहाँको पारिवारिक सम्बन्ध थियो । हामी बेलाबखत घरमा पनि गइरहन्थ्यौं । नमराजको हजुरबा कृष्णबहादु घिमिरे श्री ३ मोहनशंशेरको आठपरिया कर्णेल हुनुहुन्थ्यो ।


भारतीय प्रसिद्ध लेखक शिव खेडाले भनेका छन्– जित्नेहरु कुनै फरक काम गर्दैनन्, उनीहरु हरेक काम फरक तरिकाले गर्छन् । हामी एउटै कक्षामा पढ्थ्यौं, सँगसँगै बस्थ्यौं, हाम्रो बुझाई र उनको सिकाई फरक हुन्थ्यो । उनी जहिल्यै फष्ट । पढाउने, सिकाउने शिक्षक उही, पढ्ने, सिक्ने विद्यार्थी पनि उही । तर सिक्ने, बुझ्ने तरिका फरक हुनु सानैदेखिको तिक्ष्ण प्रतिभा होइन र ? लक्ष्मीप्रसाद देवकोटाले भनेझै ‘उदेश्य के लिनु उडी छुनु चन्द्र एक’, नमराजको इच्छा शक्ति र उदेश्य स्पष्ट छ । हामी पार्वती मावि को पुर्व विद्यार्थी र वेथानचोक बासिको तर्फबाट यो सफलताको लागि बधाई एवं शुभकामना पनि छ नमराजलाई ।

आगामी दिनहरूमा थप सफलता प्राप्त हुदै जाओस् ।वेथानचोक नारायणको कृपा र अनुकम्पाको बर्षा भैरहोस्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *