निषेधाज्ञा उल्लंघन गर्ने २ हजार १ सय ७५ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

  •   काभ्रे
  •   १ असार २०७८, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार १ सय ७५ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार १ सय ७५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये ५ सय २ वटा गाडी र १ हजार ६ सय ७३ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ सय १६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५६ हजार ३ सय १५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २ सय २२ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ३७ हजार ९ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा २ हजार ९ सय १६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ६७ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ५ सय ४ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *