ट्राफिक महाशाखाले चाेरी भएका २४ माेटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

  •   काभ्रे
  •   ११ भाद्र २०७८, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं उपत्यकाबाट चोरी भएका २४ मोटरसाइकल प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । शुक्रबार ट्राफिक प्रहरी महाशाखाले पत्रकार सम्मेलन गरेर विभिन्न मितिमा हराएका २४ वटा मोटरसाईकल सम्बन्धितलाई हस्तान्तरण गरेको हो ।

ट्राफिक महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका मोटरसाईकलहरू बन्दाबन्दीको समयमा पनि खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको बताए । उनले चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको पनि बताए ।

ट्राफिक प्रहरीको अनुसन्धान अनुसार चोरले काठमाडौंका अस्पताल, पार्टी प्यालेस तथा विभिन्न स्थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चावी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने पाइएको छ । यसरी चोरी गर्नुपुर्ब उक्त मोटरसाइकल र चालकको गतिबिधि निगरानी गर्ने, मौकाको खोजी गरि उपयुक्त समयमा बिभिन्न तरिका अपनाएर चोरी गर्ने गरेको पाइएको छ ।

चोरी पश्चात वर्कशपमा गएर स्वरुप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्रि गर्ने तथा आफैले समेत चलाउने गरेको पाइएको छ । पार्टसहरू खोलेर विक्रि वितरण गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

बिशेष गरि चोरी गर्ने समुहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिन्छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकोले पल्सर मोटरसाईकल बढी चोरी हुने गरेको महाशाखाको बुझाई रहेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए । उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए ।

गत आर्थिक वर्षमा मात्रै हराएका ४६० वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५७ जनालाई समेत बिभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागी प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *