इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ
काठमाडौं । ३३ किलो सुन तस्करी गरेको आरोप लागेर फरार एक अभियुक्त पक्राउ परेका छन् । असार २७ गते शनिबार दुबईबाट काठमाडौं आएका हरिशरण खड्कालाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको छ । चुडामणी उप्रेती ‘गोरे’को समूहले दुवईबाट २०७४ माघमा ल्याएको ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोप लगेका खड्का फरारको सुचीमा थिए ।
काभ्रेपलाञ्चाेक जिल्लाको बेथानचोक गाउँपालिका–४ घर भएका खड्का लामो समयदेखि दुवई रहदै आएका थिए । सरकारले बिदेशमा अलपत्र परेका नेपालीलाई नेपाल फर्काउने क्रममा खड्का नेपाल आएका थिए । सुन तस्करीको आरोप पछि खड्कालाई इन्टरपोलले रेडक कर्नर नोटिस जारी गरेको थियो । उनी नेपाल आउन लागेको सूचना पाएको अध्यागमन कार्यालयले बिमानबाट ओर्लिर आगमन कक्ष तर्फ आउदै गर्दा प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको बताइएको छ ।

अध्यागमनका अनुसार पासपोर्ट नम्बर १००६६५९४ बाहक खड्का चार्टर्ड फ्लाईटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेती समेत भएको अपराधिक समूह स्थापना र संजाल गरी सुन अवैध चोरी निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई फरार प्रतिवादीहरु मध्येका खड्का दुबईबाट हिमालयन एयरलाईन्सको फ्लाईटमा नेपाल आउँदै छन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरेको हो ।जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका खड्कालाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ९ गते ईन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो ।
२०७४ माघमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन ‘गोरे’ को समूहले दुबईबाट ल्याएको इश्वरराज पौडेलको अध्यक्षतामा गठित छानवीन समितिले पुष्टि गरेको थियो । सो सुन हराएपछि तस्करको समूहले दिएको यातनाबाट मोरङ उर्लाबारीको सनम शाक्यको निधन भएको थियो । अहिले सम्म पनि उक्त सुन कहां पुर्याइयो भन्ने बारेमा प्रहरीले सुइको समेत पाउन सकेको छैन ।
खड्कालाई आवश्यक कारबाहीका लागि आइतबार जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको उक्त शाखाले जनाएको छ