
काभ्रेपलाञ्चाेक जिल्लाको पनौती नगरपालिकामा अवैध रुपमा विक्री हुदै आएको घरेलु मदिरा प्रहरीले नष्ट गरेकाे छ । नगरभित्रका विभिन्न मदिरा पसलबाट बरामद गरेको मदिरा जनप्रतिनिधि, स्थानीयको रोहवरमा प्रहरीले नष्ट गरेको हो।
पनौती नगरपालिका वडा न ४, ५, ६ र ९ का ज्यालेपाटी, बसपार्क, ठाडोबाटो, नमोबुद्धरोड, सुन्थान लगायतका भट्टी पसलबाट बरामद गरिएको १ हजार लिटर मदिरा नष्ट गरिएको प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी सव ईन्स्पेटर सन्तोष बानियाँले जानकारी दिए ।

उनका अनुसार अवैध मदिरा बिक्री वितरणका कारण अपराधिक घट्नामा बृद्धि भएको, घरायसी झै–झगडाका घट्ना बढेको, महिला हिंसा लगायत घट्नामा बृद्धि भएको गुनासो आएपछि मदिरा नष्ट अभियान सञ्चालन गरेको बानियाँले जानकारी दिए । उनले मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिने पनि बताए । उनले समाजमा शान्ति, अमनचयन कायम गर्नु आफुहरुको कर्तब्य रहेको उल्लेख गर्दै कोहि कसैको व्यवसायमा दखल पुर्याउने चाहना नभएको बताएका छन् ।
भिडियाे यहाँ हेर्नुहाेस :-
यसैविच, प्रहरी चौकी पनौतीले सार्वजनिक स्थलमा उम्रिएका ३५० गाँजाका बोट समेत फडानी गरेको छ । हालै स्थानीयको सहयोगमा पनौती नगरपालिका वडा न ४ को ठाडोबाटो, वडा न ५ को बाँसघारी लगायत क्षेत्रका डेढ रोपनी जग्गामा उम्रिएको गाँजाका बोट फडानी गरेको प्रहरी सब ईन्स्पेटर बानियाँले जानकारी दिए ।