ह्रृन्जेन दोर्जे क्रसर उद्योगको कारण बस्ती र सडक जोखिममा

  •   काभ्रे
  •   २४ जेष्ठ २०७८, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

ह्रृन्जेन दोर्जे क्रसर उद्योगको कारण बस्ती र सडक जोखिममा

काभ्रे । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडां. १ मा सञ्चालित ह्रृन्जेन दोर्जे क्रसर उद्योगको कारण बस्ती र सडक जोखिममा परेको छ भने झ्यु खोलाको सुन्दरता हराएको छ ।

जेठ २१ गते पाँचखाल बोहरे दोभान, चुखा, ठुलो पर्सेल हुँदै तित्तिरटार सम्म बस चल्ने सडक मार्ग ह्रृन्जेन दोर्जे क्रसर उद्योगको कारणले अवरुद्ध भएको भएको थियो । प्राविधिक मापदण्ड नपुर्याई ढुङ्गा, माटो निकालेको कारण उक्त सडक मार्गमा सुख्खा पहिरो जान थालेको छ । बर्खाको समयमा थप पहिरो जानसक्ने खतरा पनि उतिकै बढेको छ ।

तेमाल गाउँपालिका वडा नं. १ को जनतासँग क्रसरको बारेमा बुझ्दा गाउँको लागि ह्रृन्जेन दोर्जे क्रसर उद्योगले केही नगरेको बुझ्नमा आएको छ । उक्त स्थानमा क्रसर संचालन गर्दा गाउँ नै जोखिममा पर्ने भएपछि क्रसर उद्योगको विरुद्धमा करिब १८५ जनाको संघर्ष समिति नै गठन गरेको संघर्ष समितिका अध्यक्ष संग्राम तामाङले जानकारी दिए ।

तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङसँग हामीले ह्रृन्जेन दोर्जे क्रसर उद्योगकोबारेमा सोध्दा “पहिरोले बाटो अवरुद्ध भएको कुरा सुन्नमा आएको छ तर वास्तविकता के हो बुझेर म जानकारी दिने छु ।” उनले बताए ।

यसैगरी स्थानीय नेता तथा नेकपा (एमाले)को जिल्ला कमिटीको युवा नेता इन्द्र तामाङ यसो भन्नु हुन्छ “उद्योग संचालन गर्न पाइन्छ तर गाउँलाई नै जोखिम पार्ने उद्योग के काम ? अहिले क्रसरको नै कारणले सामुदायीक वन पनि मासिँदै गएको छ । हुन त बाहिर बाहिर एक नं. वडालाई यो गर्यो त्यो गर्यो भनेको सुनेको छु तर गाउँलेले त्यसबाट केही सुविधा लिन पाएको छैन । ”

समुदायिक वन मासेर क्रसरको लागि ढुङ्गा निकाल्दा पहिरो गइरहेको छ । पहिरोको कारण दीर्घकालीन रुपमा माथिल्लो गाउँ जोखिममा छँदैछ । हाल चुखाबेशी, पर्सेल जाने सडकखण्डमा आवतजावत गर्न समेत निक्कै जोखिम भएको छ ।

ढुङ्गा,गिट्टी,वालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड (२०७७ं) अनुसार ढुङ्गा, गिट्टी र माटोजन्य पदार्थ उत्खनन गर्दा बस्ती र भौतिक संरचनामा जोखिम उत्पन्न हुनसक्ने भएकोले जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस समेत लिनुपर्ने हुन्छ तर उक्त क्रसर उद्योगले कसको अनुमतिमा उत्खनन गरिरहेको छ यसबारे सबै अनविज्ञ छन् ।

मापदण्डमा घना बस्ती र वन क्षेत्रको दुई किलो मिटर, राजमार्गको पाँचसय मिटर, सडक पुल तथा झोलुङ्गे पुलको एक किलोमिटर तल र पाँच सय मिटर माथि खानी राख्न नपाइने र कुनैपनि पदार्थ उत्खनन र संकलन गर्न नपाउने व्यवस्था छ तर ह्रृन्जेन दोर्जे क्रसर उद्योगले पानीको मुहान नै विस्थापित हुने गरि क्रसर राखेको छ, व्यक्तिको निजि जंगल भनेर सार्वजनिक वन मासेर ढुङ्गा उत्खनन गरिरहेका छन् ।

ह्रेन्जेन दोर्जे क्रसर उद्योग र खानीको दर्ताको क्षेत्र एकतिर तर उत्खनन अर्को तिर गरिरहेका छन् । केही स्थानीयलाई हातमा लिएर सार्वजनिक जंगल फँडानी गरेर बस्ती र सडकखण्ड नै जोखिम बनाउँदा समेत स्थानीय सरकार मौन देखिन्छ । सोही जोखिम सडक मार्ग हुँदै त्यहाँका स्थानीय सरकारका जनप्रतिनिधिहरु, सांसद,मन्त्रीहरु आवतजावत गरिरहेका हुन्छन् । तर उक्त क्रसर उद्योगको विषयमा कुरा उठाउन कसैले हिम्मत गर्दैनन्, एक स्थानीयले सारा खबरलाई बताए ।

केही महिना अगाडि काभ्रे जिल्लाको क्रसर उद्योगहरुको अनुगमनको क्रममा प्रदेश सांसदहरुको अनुगमन टोली ह्रृन्जेन दोर्जे क्रसर उद्योगमा पनि पुगेका थिए तर उक्त क्रसरको सञ्चालक तामाङले प्रशासन संग सेटिङ गरेर गुन्डागर्दी गरेको भन्दै उक्त गाडी समेत बिच बाटोमा प्रहरी लगाएर खनतलासी गर्न लगाएको थियो ।

क्रसरको कारण किसानहरुको उत्पादनमा ह्रास

ह्रेन्जेन दोर्जे क्रसर उद्योगबाट निस्केको डस्टलाई सहि ढंगले व्यवस्थापन नगरि सिधै खोलामा मिसाउँदा उक्त खोलाको पानीमा निर्भर किसानहरुले उत्पादन गरेको बालीनालीमा ह्रास आउन थालेको त्यहाँका किसानहरु बताउँछन् ।

केही वर्ष अगाडि सम्म खेतमा राम्रो उत्पादन हुन्थ्यो तर पहिलाको तुलनामा डस्ट मिसेको पानीको कारण शेराबेसी,अमलटार, भोकटार, खहारेघाट लगायतका किसानहरुको उत्पादनमा समस्या आउन थालेको छ । पहिला बजारमा पाउने विभिन्न किटनाशक औषधीहरु प्रयोग नगर्दा पनि बाली राम्रो उत्पादन हुन्थ्यो तर अहिले औषधीको प्रयोग गर्दा पनि उत्पादन सोचे जस्तो नभएको किसानहरु बताउँछन् ।

यो विषयमा स्थानीय सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदा समेत किसानहरुले न्याय पाएका छैनन् । केही महिना अगाडि सबै किसानहरु एक भएर निवेदन हाल्ने कुरा समेत भएको थियो तर केही स्थानीय युवाहरूलाई पुलिसमा फसाइदिने धम्की दिएपछि डराएर नहालेको एक स्थानीयले नाम बताउने सर्तमा बताए ।

स्थानीयले उक्त खोलाको पानी खानेपानीको रुपमा समेत प्रयोग गरिरहेका छन् । उक्त दुषित पानीको प्रयोगले किसानको बालीनालीमा त समस्या उत्पन्न हुन्छ नै स्वास्थ्य समेत समस्या आउन सक्ने विज्ञहरु बताउँछन् ।

क्रसरको कारण तामाघाट, बोहोरेदोमन सडकको हरिविजोग

ह्रृन्जेन दोर्जे क्रसर उद्योगको मालसामान ओसारपसार गर्न दैनिक दर्जनौं ट्रिफरहरु गुड्दा तामाघाट, बोहोरेदोमनको सडकको बिजोग भएको छ । उक्त सडक बिग्रिँदा तेमाल गाउँपालिकाका वडा १,२,३,४,६ वडामा जान आउनका लागि समस्या उत्पन्न भएको वर्षौं भइसकेको छ तर स्थानीय सरकारको कुनै ध्यान जान सकेको छैन ।

ट्रिफर गुडेर ठुलठुला खाल्डोहरु हुने, धुलैधुलो हुनाले उक्त सडकबाट प्रायः मान्छे हिँड्न पनि मुस्किल छ । उक्त बाटो हिँड्न नसकेर स्थानीयहरु वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् । उक्त सडकखण्ड ह्रृन्जेन दोर्जे क्रसर उद्योगको लागि बनाएको जस्तो भएको स्थानीयहरुको गुनासो रहेको छ ।

उक्त क्षेत्रमा रातभरि ट्रिफर गुड्दा ध्वनि प्रदुषणले समेत स्थानीयहरु सुत्न सकेका छैनन् । करोडौंको उद्योग स्थापना गरेपछि बेलाबेलामा उक्त सडक खण्ड मर्मतसम्भार गर्ने, खाल्डोहरु पुरिदिने, धुलो हटाउने, ट्यांकरले पानी हाल्ने र विभिन्न विकल्पहरु प्रयोग गर्न सकिन्छ तर यी सबै गर्न उक्त क्रसर उद्योग तयार छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *