स्वास्थ्यका हिसाबले चिया पिउनु फाईदा कि बेफाइदा ???नशा लाग्छ, उत्तेजित बनाउँछ, अनिद्रा गराउँछ, रक्तचाप बढाउँछ, मुटुको धड्कन बढाउँछ

  •   काठमाडौं
  •   २५ भाद्र २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं

संसारभरि पानीपछि सबैभन्दा धेरै पिइने पेयपदार्थ चिया नै हो । हामीले धेरै थरी चिया पिउने गर्छौं– दूध हालेको सेतो चिया, दूध–मसला दुवै हालेको मसला चिया, केही पनि नहालेको कालो वा हरियो चिया, आयुवेर्दिक जडीबुटी मिसिएको हर्बल चिया आदि । धेरैले चियामा चिनी हालेर पिउँछन्, कसै–कसैले चिनी नहालेको चिया मन पराउँछन् ।

दूध, चिनी हाली आगोमा भकभकी उमालेर पकाएको चिया धेरैको रोजाइमा पर्छ । किनकि यो हामीलाई स्वादिलो लाग्छ । तर स्वास्थ्यका जानकारहरुले यस्तो चियाले स्वास्थ्यमा हानि पुर्‍याउँछ भनी खबरदारी गर्छन् ।

यस्तो खबरदारीलाई ध्यानमा राखेर केही मान्छेले चियामा दूध–चिनी केही पनि नमिसाई कालो चिया पिउने गर्छन् । कतिले त स्वास्थ्यलाई फाइदा गर्छ भनेर हरियो चिया मीठो नलागे पनि पिउने गर्छन् ।

स्वास्थ्यका हिसाबले चिया सेतो, कालो या हरियो कुन फाइदाजनक छ भन्ने बारे धेरैलाई जान्ने उत्सुकता छ । हामीले दिनदिनै २–४ कप चिया पिएकै हुन्छौं । यसबारे कुन राम्रो, कुन नराम्रो भन्ने जानकारी लिनु सबैका लागि उपयोगी हुन्छ ।

हरियो र कालो दुवै चिया एउटै जातको क्यामेलिया नामक वनस्पतिबाट उत्पादन हुने गर्छ । चिया बगानबाट चियापत्ती टिप्दा त्यो हरियो हुन्छ अनि त्यसलाई प्रशोधन गरेपछि त्यो कालो हुन्छ ।

हरियो चिया भनेको सबैभन्दा कम प्रशोधित चिया हो । चियाको पातलाई जति धेरै प्रशोधन गरिन्छ त्यति नै मात्रामा त्यसमा भएका गुणकारी तत्वहरु नष्ट हुँदै जान्छन् ।

यो हिसाबले कालोभन्दा हरियो चियालाई बढी स्वास्थ्यबद्र्धक मान्नुपर्छ । हरियो चियामा स्वास्थ्यवद्र्धक तत्व पोलिफिनोल र क्याटेखिन बढी पाइन्छ भने कालो चियामा यिनीहरुको मात्रा अलि कम हुन्छ तर क्याफिनको मात्रा बढी हुन्छ । क्याफिनले शरीरलाई उत्तेजित पार्ने, नशा लाग्ने कारणले त्यति राम्रो मानिदैन ।

चियामा भएको गुणकारी तत्वहरु पोलिफिनोल आदिले मुटु, हड्डी, पेट आदिलाई फाइदा गर्छ । यसले क्यान्सरको रोकथाममा पनि मद्दत पुर्‍याउँछ । मधुमेह, उच्च रक्तचापजस्ता समस्यालाई पनि कम गर्न सहयोग गर्छ ।

चियालाई धेरैबेर उमाल्यो, त्यसमा दूध र चिनी मिसायो भने पोलिफिनोल, क्याटेखिन आदि गुणकारी तत्वहरु निष्क्रिय भैदिन्छन् । यसकारण स्वास्थ्यका हिसाबले सोझो अर्थमा चिया कालोभन्दा हरियो राम्रो, दूध–चिनी हालेको भन्दा नहालेको राम्रो ।

यो विज्ञानले बोलेको कुरो हो । तर मेरो विचार बेग्लै छ । मलाई लाग्छ, दूध–चिनी हालेर मज्जाले पकाएको १–२ कप मीठो चिया पिउँदैमा स्वास्थ्यलाई खासै केही नकारात्मक असर पर्दैन । झन् उल्टो आनन्द आउँछ, चियाको मिठासमा मान्छे रमाउँछ र यसले स्वास्थ्यमा सकारात्मक असर पार्छ ।

हामीले पोलिफिनोल एन्टिअक्सिडेन्ट चियाबाटै किन लिनुपर्‍यो । फलफूल, सागसब्जी, गेडागुडी, ड्राइफ्रुट्स आदिबाट प्रशस्त फाइबर र एन्टिअक्सिडेन्ट पाउन सक्छौं । यी चिजहरु खाए भैहाल्यो नि ∕ चियाको स्वाद बिगारी–बिगारी टर्रो चिया नै किन पिउनुपर्‍यो ∕ कोक, फान्टा, स्प्राइट, रेडबुलजस्ता पेयपदार्थहरु पिउनुभन्दा आगोमा भकभकी उमालेको दूध, चिनी हालेको चिया नै बढी फाइदाजनक हुन्छ ।

यस्तो चिया दैनिक १–२ कप पिउँदा केही पनि हानि छैन । तर जसले दैनिक २ कपभन्दा बढी चिया पिउँछ उसले विचार पुर्‍याउनुपर्छ– कस्तो चिया पिउने रु कति कप पिउने रु कुन बेला पिउने रु चिनी–दूध हाल्ने कि नहाल्ने रु आदि । यससम्बन्धमा मेरो अवधारणा यस प्रकार छ :-

१. यदि तपाईंलाई मधुमेह रोग छ, रगतमा ट्राइग्लाइसेराइडको मात्रा धेरै बढेको ९४०० भन्दा बढी नै० छ, शरीर मोटो छ भने चियामा चिनी नहालीकन पिउनुहोस् । तपाईंले हरियो चिया पिएको राम्रो ।

२. पेटको समस्या छ, पेट फुल्छ, पोल्छ, ग्यास्ट्रिक बढ्ने समस्या छ, डकार धेरै आउँछ, अमिल्युकी आउँछ भने चियामा दूध नहालेको राम्रो । यस्तो समस्या भएकाहरुले दूधविनाको कालो या हरियो चिया पिउँदा राम्रो हुन्छ ।

तर तपाईं चियाको असाध्यै पारखी हुनुहुन्छ, सेतो दूध हालेको चिया मन पराउनुहुन्छ भने खालि पेटमा नपिउनुहोस् । पहिले अलिकति पानी पिउनुहोस् अनि दूध हालेको चिया पिउनुहोस्, दैनिक १ कपभन्दा बढी सेतो चिया नपिउनुहोस् । कालो चियामा अदुवा मिसाएर पकायो भने स्वाद पनि बढ्छ, पेटलाई फाइदा पनि हुन्छ ।

३. तौल घटाउने इच्छा छ भने दूध–चिनी नहालेको हरियो चिया दैनिक ४ कपसम्म पिउनुहोस् । यो भन्दा धेरै पिउँदा हानि पुग्न सक्छ, विचार पुर्‍याउनुहोला ।

४. तपाईं स्वस्थ हुनुहुन्छ भने दैनिक २ कपसम्म दूध–चिनी हालेर भकभकी पकाएको नेपाली चिया आनन्दपूर्वक पिउन सक्नुहुन्छ । चियामा रहेको पौष्टिक तत्व नष्ट भयो भनी चिन्ता नगर्नुहोस्, चियाको स्वादमा रमाउनुहोस् ।

तर दैनिक २ कपभन्दा बढी यस्तो चिया नपिउनुहोस् । धेरै भयो भने यसमा भएको क्याफिनले नशा लाग्छ, उत्तेजित बनाउँछ, अनिद्रा गराउँछ, रक्तचाप बढाउँछ, मुटुको धड्कन बढाउँछ ।

यसकारण सावधानीका साथ चियाको मज्जा लिनुहोस् । चिया सेतो कि कालो पिउने भन्ने विषयमा धेरै नसोच्नुहोस् । तपाईंलाई जुन चियाको बढी स्वाद लाग्छ त्यही चिया पिउनुहोस्, तर सावधान ∕ धेरै नपिउनुहोस्

डा.प्रकाशराज रेग्मी
मुटु राेग विशेषज्ञ

Leave a Reply

Your email address will not be published. Required fields are marked *