सुदूरपश्चिम प्रदेश प्रहरीले दसैं-तिहार लक्षित सुरक्षा रणनीति सार्वजनिक गरेको छ। आइतबारदेखि लागू हुने गरी चाडवाड लक्षित सुरक्षा योजना ल्याइएको प्रदेश नायव प्रहरी महानिरिक्षक उत्तम सुवेदीले बताउनु भयाे ।
उनका अनुसार प्रदेश भरि चाडवाडमा पाँच हजार प्रहरी खटाउने योजना ल्याइएको छ। त्यसमा पिकेट, पैदल, साइकल,गाडी मोबाइल, क्युआरटी, सादा पोशाकको ड्युटी, नाका चेकप्वाइन्ट, महत्वपूर्ण सरकारी कार्यालयहरूको सुरक्षा ड्युटी छन्।
यस्तै, मेला पर्व, ट्राफिक प्रहरीसहितको ड्युटी, बैंक तथा वित्तिय संस्थामा ड्युटी, राजमार्ग स्कर्टिङ, जुवा तास, मदिरा तथा लागुऔषध र आइसोलेसन तथा क्वारेन्टाइन ड्युटी हुनेछन्।
प्रदेश प्रहरी प्रवक्ता एसएस्पी मुकेस सिंहका अनुसार सादा पोशाकका प्रहरी परिचालन गरी खबर संकलन तथा शंकास्पद व्यक्तिमाथि निगरानी गरिने छ।

त्यसैगरी, प्रहरी साझेदारी कार्यक्रममार्फत् दसैं-तिहारमा हुने आपराधिक घटना, दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ।
कोभिड-१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी धार्मिकस्थलहरूमा अत्यावश्यक पूजाबाहेक अनावश्यक भीडभाड नियन्त्रण गरिने छ।
यस्तै, सीमा नाका, बसपार्क तथा मानिसहरूको भीडभाड हुने स्थानमा सहजीकरणका लागि हेल्प डेस्क सञ्चालन गरिने छ।
रातको समयमा हिँडडुल गर्ने शंकास्पद व्यक्ति, सवारीसाधनलाई आकस्मिक चेकजाँचको व्यवस्था मिलाइने छ। ‘यात्रुहरूमाथि हुने दुर्व्यवहार, चोरी, लुटपाट, पाकेटमार, ठगी रोक्नका लागि ट्राफिक प्रहरीसमेतको यात्रु सहायता कक्ष स्थापना गरिने छ,’ सिंहले भने, ‘जुवा-तास खेल्ने खेलाउने ठाउँमा निगरानी र गस्ती बढाइने छ।’
शंकास्पद ठाउँमा सरप्राइज चेकजाँच, विशेष सुरक्षाका लागि कुकुरसहितको टोली, कालोबजारी नियन्त्रण गर्नेलगायत योजना रहेका छन्।
प्रदेश प्रहरीले सुरक्षा चुनौतीको रुपमा यात्रुको सुरक्षा, लुटपाट, ठगी, अपहरण, हत्या, बैंक तथा वित्तीय संस्थामा हुने कारोबार, कालोबजारी, जुवा-तास, कुटपिट तथा झै-झगडा, बलात्कार, डकैती, गुन्डागर्दीलाई लिएको छ। ‘यस्ता ठाउँमा विशेष सुरक्षा व्यवस्था मिलाइने छ,’ सिंहले भने, ‘प्रहरीको दुरुस्त र योजनावद्ध परिचालन, अनुगमन गरी शान्ति सुरक्षाको अनुभूति दिलाउने हाम्रो लक्ष्य छ।’
सुदूरपश्चिम प्रदेश प्रहरी मातहत ९ वटा जिल्ला प्रहरी कार्यालय छन्। यस्तै, ९ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रदेश ट्राफिक कार्यालय कैलाली, प्रहरी दंगा नियन्त्रण गण महेन्द्रनगर, सशस्त्र प्रहरी गण धनगढी र सशस्त्र प्रहरी १ नम्बर गुल्म दीपायल छन्।