साैच गर्ने क्रममा भेटिएका किशाेर किशाेरीकाे जबर्जस्ती बिहे, वडाअध्यक्षद्वारा घटना लुकाउन दवाव

  •   काठमाडौं
  •   ३१ श्रावण २०७६, शुक्रबार
  •   त्रिबेणी
0Shares

केही उच्छृंखल युवाहरूले किशोर किशोरीको जबरजस्ती विवाह गराएको भिडियो समाजिक सञ्जाल फेसबुकमा केही दिनयता भाइरल भइरहेको छ । यो घटना धनुषा जिल्लाको हो ।
सो भिडियो धनुषाको एक गाउँको हो, जहाँ गाउँका केही युवकहरू मिलेर किशोर र किशोरीलाई जबरजस्ती विवाह गराइरहेको दृश्य देख्न सकिन्छ । यति मात्र नभई ती उच्छृंखल युवाहरूले ती किशोर किशोरीलाई जबरजस्ती विवाह गराइरहँदा दर्जनौं व्यक्ति रमिते भएर ताली बजाइरहेको समेत देख्न सकिन्छ ।

भीडमा रहेका अधिकांशले आ–आफ्नो मोबाइलमा यो अपराधलाई रमितेको रुपमा लिइ भिडियो समेत खिचिरहेको देखिन्छ । त्यसैमध्ये कुनै एक जनाले यो भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका छन् ।

यति हुँदासम्म पनि यो घटनाको उजुरबाजुर कतै लागेको छैनन् । सुरुमा बालिकाको बदनामी हुने भन्दै त्यहाँका वडाध्यक्षको दबाबमा यो घटना लुकाउने प्रयास गरियो, तर सामाजिक सञ्जालमा भिडियो नै भाइरल भएपछि अहिले बालिकालाई घरबाहिर निस्किन समेत कठिन भएको छ ।
यसले किशोर–किशोरीका साथै गाउँकै बदनामी हुने भन्दै त्यहीँका वडाध्यक्षले घटना दबाउने प्रयासमा लागेको बुझिएको छ ।

ममता (नाम परिवर्तन) र रोशन (नाम परिवर्तन )मिल्ने साथी हुन् । ममता कक्षा १० को परीक्षामा दुई विषयमा अनुत्तीर्ण भएपछि त्यसकै तयारीमा लागेकी छिन् भने रोशन विद्यालयको पढाइ सकाएर उच्च तहको अध्ययनका लागि भारतमा बस्दै आएका थिए । रोशन केही दिन अगाडी मात्र गाउँ आएका थिए । ममताको घरमा शौचालय नरहेकाले उनी सधैं शौचका लागि चौरमा जाने गर्छिन् । गत मंगलबार पनि उनी शौचकै लागि अपराह्न २ बजेतिर चौरतर्फ गएकी थिइन् । जहाँ उनको भेट रोशनसँग भयो ।

धेरै दिनपछि भेट भएका कारण दुवैले एक अर्काको हालखबर सोधेर पढाइबारे सोधखोज गरे । दुवै मिल्ने साथी भएकाले एकछिन गफ समेत गरे । त्यतिकैमा उनीहरू दुवैलाई केही युवकले देखे र उनीहरूको छरछिमेकका युवाहरूलाई फोन गरिदिए । ममता भन्छिन, ‘हामी दुवै सामान्य कुरा गरिरहेका थियौं, केही युवाहरुको हूल हामीमाथि जाइलाग्यो ।’ ती युवाले हामी दुवैलाई बाँसको लाठीले बेस्सरी कुटे । लगभग पाँचजनाको समूहमा रहेका युवकहरू आफूहरूलाई केही बोल्नै नदिई लात, लाठी र झापड़ले गाला ढाड़ र तिघ्रा सबैमा हिर्काउन थाले उनले भनिन् ।
यता, रोशनका काकाले भने–यिनीहरु समाज बिगार्ने काम गर्दै छन् भनेर दुवै जनालाई घिसार्दै मन्दिरमा लगे, त्यहाँ हामीहरूलाई युवाहरूले बोलाए, हामीले जबरजस्ती बिहे नगराइदिनुस् भन्दै आग्रह गरेपछि त्यहाँ दुवैलाई छोडिदिए ।

तर, पछि केही युवाले दुवैजनालाई फेरि समातेर सिन्दुर हाल्न लगाएर जबरजस्ती बिहे गराए । जबरजस्ती बिहे गराइएपछि ममतालाई केहीबेर रोशनकै घरमा राखियो । तर, पछि गाउँलेहरूकै सहमतिमा ममतालाई आफ्नो घर जान दिइयो ।

युवकहरुको पिटाइले ममताको तिघ्रा, पिठ्यु, ढाड़मा निलडाम बनिसकेको छ । घटनालाई गाउँमै दबाउने प्रयास बालविवाहलाई नेपालको कानूनले दण्डनीय अपराध मानेको छ । बालविवाह गराउनेलाई कडा सजायको समेत व्यवस्था गरिएको छ ।

तर, यहाँको बालविवाह जस्तो घटनालाई लुकाउन त्यहीँका वडा अध्यक्षले प्रमुख भूमिका निर्वाह गरिरहेको पाइएको छ । घटनालाई सामसुम पार्न वडा अध्यक्षले गाउँमै मिलापत्रका लागि बालिकापक्षलाई दबाव दिइरहेको केही स्थानीयवासीले आरोप लगाएका छन् ।

तर, त्यहाँका वडाध्यक्षले आफू घटनालाई सामसूम गर्ने प्रयास नगरेको बरु गाउँमा घटित यो घटनाबाट श्रृजित परस्थितिलाई सामान्य बनाउन शुरुदेखि नै पहल गरिरहेको दावी गरे । उनले भने ‘आफूलाई घटनाबारे थाहा भए लगत्तै गाउँ पुगे, गाउँको नै बदनामी हुन्छ भनेर प्रहरीमा नगई गाउँमै समस्या समाधान गर्ने प्रयास गरे ।’

यता बालविवाह गराएका युवकहरुको जीवन नै बर्बाद हुने भन्दै बालिका र परिवारसँग माफी माग्न लगाई घटनालाई सामसुम पार्ने प्रयास भइरहेको बालिकाका बुवाले बताए । इलाका प्रहरी कार्यालय रेल्वे स्टेशनका सहायक प्रहरी निरिक्षक लेखनाथ खनाल भन्छन्, ‘हामीले जबरजस्ती विवाह भएको घटना थाहा पाउने बित्तिकै घटनामा संलग्न केही युवकलाई पक्रियौँ पनि तर केटा र केटी पक्षबाट कुनै प्रकारको जाहेरी नपरेपछि बाध्यवश उनीहरुलाई रिहा गर्यौँ ।’ घटनाको भिडियो नै भाईरल भएपछि उक्त कार्यमा संलग्नको खोजी कार्य जारी राखेको सई खनालले बताए ।

यता यस घटनाको भिडियो भाइरल भएपछि पीडित दुवै परिवार घटनाको उजुरी दिनका लागि तयार भएका छन् । सई खनालले उजुरी आए आफूहरु पीडितको न्यायका लागि हरसम्भव प्रयास गर्ने दावी गरे । राजधानी दैनीकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *