शैक्षिक स्तरोन्नतिका लागि सबैको सक्रियता आवश्यक -प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली

  •   काभ्रे
  •   ८ असार २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रेपलान्चोक


विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक स्तरोन्नतिका लागि सबैको सक्रियता आवश्यक -प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बताउनु भयाे।


प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले विद्यालयको भौतिक पूर्वाधार विकास गर्न तथा शैक्षिक स्तरोन्नतिका लागि सबैको मेहनत, सहयोग र सक्रियता सदैव आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल पुलिस स्कुल साँगाको हाताभित्र नवनिर्मित २ वटा छात्राबास भवनहरुको सोमबार आयोजित एक समारोहबीच उद्‍घाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक ज्ञवालीले विद्यालयको शैक्षिक स्तरोन्नति तथा भौतिक पूर्वाधारको विकासको लागि विद्यालयका पूर्व समादेशक, प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले निर्वाह गरेको भूमिकाप्रति आभार व्यक्त गर्नुभयो । मानव सभ्यताको विकास र देशको समृद्धिमा शिक्षाको महत्व र आवश्यकताबारे चर्चा गर्दै उहाँले विकासको आधारभूत तत्व नै शिक्षा रहेको र शिक्षामा गरेको लगानी कहिल्यै खेर नजाने बताउनुभयो ।


कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको विषम परिस्थितिले विद्यालय संचालनका साथै विद्यार्थीहरुमा पर्न गएको अप्ठेरो अवस्थालाई भर्चुअल कक्षाले केही सहयोग गरेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले यस परिस्थितिमा समेत उच्च आत्मबलकासाथ विद्यालय व्यवस्थापनले निभाएको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । विद्यालयको शैक्षिक क्षेत्रलाई अझ बढी प्रभावकारिताकासाथ अगाडि बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक ज्ञवालीले नवनिर्मित भवनहरुले विद्यालयको शैक्षिक स्तरलाई थप सुदृढ बनाउन मद्दत गर्ने विचार व्यक्त गर्दै आगामी दिनमा विद्यालयको छवि उच्च हुने विश्वास व्यक्त गर्नुभयो । यसका लागि सबैको साथ, सहयोग र समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।    
समारोहमा प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना निर्देशनालयका प्रहरी नायव उपरीक्षक ईश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयको आन्तरिक श्रोतबाट निर्माण सम्पन्न भएका उक्त भवनहरुमध्ये ९ हजार १ सय २१ दशमलव २५ वर्गफिट क्षेत्रफलमा रहेको पहिलो छात्राबास भवन ३ करोड रुपैयाँ र १८ हजार ५ सय ५२ वर्गफिट क्षेत्रफलमा रहेको दोस्रो छात्राबास भवन ५ करोड रुपैयाँको लागतमा निर्मांण सम्पन्न भएको हो ।


विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रिन्सिपल सञ्जिव घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समारोहमा प्रहरी महानिरीक्षक ज्ञवालीले भवन निर्माणको क्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी हवल्दारहरु धनलाल तामाङ, सिताराम शाक्य र गोरे गुरुङलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।
भवन उद्‍घाटन समारोह पश्चात प्रहरी महानिरीक्षक ज्ञवालीले नवनिर्मित भवनहरुको निरीक्षण गर्नुको साथै छात्राबास परिसरमा विभिन्न जातका बिरुवाहरुको वृक्षारोपण समेत गर्नुभयो ।


समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, विद्यालयका पूर्व प्रिन्सिपल तथा पूर्व समादेशकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय निकायका प्रतिनिधिहरु, शिक्षकहरु, स्थानीय वासिन्दा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *