शक्तिशाली बन्न बालकको बली दिन उक्साउने झाँक्री पक्राउ

  •   जनकपुर
  •   ३२ श्रावण २०७६, शनिबार
  •   त्रिबेणी
0Shares

धनुषामा शक्तिशाली बन्न अढाई वर्षीय बालकलाई बली दिन उक्साएको आरोपमा एक जना झाँक्री पक्राउ परेका छन्।

बैशाख २३ गते धनुषाको मिथिला नगरपालिका-६ बस्ने शम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको अपहरण पश्चात् घाँटी रेटेर बली दिई हत्या गरेको घटनामा मुछिएपछि फरार रहेका मिथिला नगरपालिका-७ कुसुमबिसौना बस्ने ५५ वर्षीय झाँक्री जंगली महतो पक्राउ परेका हुन्।
घटनापछि फरार झाँक्री महतोलाई बिहीबार रक्षाबन्धनको दिन उनकै घरबाटै ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पक्राउ परेका झाँक्रीमाथि अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

शक्ति बढाउन भन्दै टुनामुना झाँक्री विद्या सिक्दै गरेका छिमेकी गाउँका ५५ वर्षीय शत्रुधन महतोले गएको बैशाख २३ गते राती अपहरण गरी बालक आर्यनलाई घरेलु हतियार प्रयोग गरी घाँटी रेटेर बली दिएका थिए।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले गएको जेठ १६ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। शत्रुधनले आफूलाई झाँक्री सिकाउने छिमेकी गाउँका झाँक्री जंगली महतोले यौनशक्ति प्राप्त गर्न र शक्तिशाली बन्न बालकको बली दिन भनेपछि यस्तो घटना भएको प्रहरीमा बयान दिएका थिए।

त्यस पछि झाँक्री जंगली महतो फरार भएका थिए भने शत्रुधन महतोलाई असार ११ गते को जिल्ला अदालत धनुषाको आदेशमा पूर्पक्षका लागि जेल पठाइएको छ।

असार ११ गते धनुषा जिल्ला अदालतका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले महतोलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई महोत्तरीको जलेश्वर कारागार पठाइएको हो।

गएको बैशाख २३ आफ्नो दैलोमा खेलिरहेका बालक आर्यनलाई शक्तिशाली तान्त्रिक बन्न भन्दै महतोले अपहरण गरी त्यही राती २ बजे आफ्नो आँगनमा बलि चढाएका थिए। आर्यनको शव २४ गते बिहान घर नजिकैको बाँसघारीमा फेला परेको थियो।

बालकलाई बली दिएको आरोपमा महतोलाई जिल्ला सरकारी वकिलको कार्यालयले आजीवन कारावासको अभियोग दर्ता गराएको छ। महतोमाथि अपहरण, बन्धक, कर्तव्य ज्यान मुद्दा चलाइएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिई विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान गरेपछि महतोले बालकलाई बली दिएको खुलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *