व्यवस्थापकले नै गरे सहकारीको ८९ लाख हिनामिना, दोष स्वीकार्दा पनि १३ वर्षसम्म किन भएन कारबाही?

  •   काठमाडौं
  •   ३२ श्रावण २०७६, शनिबार
  •   त्रिबेणी
0Shares

राजविराज- सप्तरीमा एक सहकारी संस्थाका व्यवस्थापकले सेयर सदस्यको नाममा कीर्ते तमसुक गरी ८५ लाख रुपैयाँ ऋण निकालेर हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ।

खडक नगरपालिका-१, सिस्वा बेल्हीस्थित साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक श्रवण कुमार साहले सेयर सदस्यको नाममा कीर्ते तमसुक गरी सो रकम हिनामिना गरेका खुलेको हो। स्थानीयवासीसमेत रहेका साहले २१ जना सेयर सदस्यको नामबाट कीर्ते तमसुक गरी ८५ लाख ४ हजार ५ सय ५२ रुपैयाँ ऋण निकालेका छन्।

यसैगरी, असुलीबाट जम्मा भएको संस्थाकै ३ लाख ९४ हजार ६ सय १० रुपैयाँसमेत गरी कूल ८८ लाख ९९ हजार १ सय ६२ रुपैयाँ ८९ पैसा हिनामिना भएको सेयर सदस्यहरुले दाबी गरेका छन्।
२०६३ सालमै भएको उक्त घटना कतिपय सञ्चालक समितिकै सदस्यका कारण गुपचुप राखिएको थियो। तर, तोकिएको समयमा समेत साहले रकम फिर्ता नगरेपछि सेयर सदस्यले व्यवस्थापकको हर्कत बाहिर ल्याएका हुन्।

‘संस्थामा देखिएको समस्या आन्तरिक रुपमै मिलाउन दबाब आएपछि त्यतिबेला हामी चुप लागेर बस्यौं। ठूलो रकम डुब्ने खतरा भएकाले चुप लागेर असुल गर्नुपर्ने बाध्यता पनि थियो,’ सेयर सदस्य उमेश प्रसाद चौधरीले भने, ‘तर, तोकिएको भाकामा पनि रकम जम्मा नभएपछि अर्को विकल्प खोज्नुपर्ने बाध्यता भयो।’

सेयर सदस्यको नाममा ऋण लिएको तथा संस्थामा जम्मा भएको रकम आफूले हिनामिना गरेको साहले स्वीकारसमेत गरेका छन्। उनले २०७५ साउन १६ मा नै लिखित कागज गरी गत पुस मसान्तभित्र ब्याजसहित रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए। लिखित काजगमा उनीसहित पिता आनन्दप्रसाद साह र पत्नी पिंकीकुमारी साहसमेतले हस्ताक्षर गरेका छन्।

साहले दोष स्वीकार्दै रकम फिर्ता गर्ने प्रतिवद्धतासहित गरेको लिखित कागज।

सञ्चालक समितिका अध्यक्ष रामनारायण साह, सहायक प्रवन्धक कविता कुमारी चौधरी र सेयर सदस्य जिवछकुमार मण्डल साक्षी बसेका छन्। तर, हालसम्म पनि रकम फिर्ता नभएको साक्षीमध्येका एक मण्डलले बताए।

क-कसको नाममा निकालियो ८५ लाख ऋण?
साहले अरुणादेवी साहको नाममा १० लाख रुपैयाँ, केश्वरप्रसाद साहको नाममा ८ लाख रुपैयाँ, वैजनाथ साह, मिनादेवी साह, शिव मण्डल, मनकुमारी श्रेष्ठ, गुलावदेवी साह, सुरतलाल साह, महेश्वर ठाकुर , अनुरागीदवी साह, कोशीला देवी, हैदर मियाँ, याकुव मियाँ, रामकुमार मण्डल, जिवछ साह र ललितादेवी साहको नाममा समान ३/३ लाख रुपैयाँ निकालेका छन्।
यसैगरी, ममता कुमारी मण्डल, सुर्यानारायण झा र रामलखन चौधरीको नाममा समान २/२ लाख रुपैयाँ ऋण लिइएको देखिएको छ। श्रवणकुमार साहको नाममा ९ लाख ५० हजार रुपैयाँ र पिंकी कुमारी साहको नाममा ९ लाख ५४ हजार रुपैयाँ समेत सहकारीबाट निकालिएको अर्का सेयर सदस्य देवप्रसाद साहले बताए।

पीडितहरुले आफूहरुको नाममा लिएको ऋण तत्काल जम्मा गर्न माग गर्दै संस्थामा तालाबन्दी गर्ने तयारी गरिरहेका छन्।

१३ वर्षसम्म किन भएन कारबाही?
यस विषयमा खडक नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, सप्तरी र साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय जनकपुरलाई समेत यसअघि नै पत्राचार गरिएको मण्डलले बताए।

पत्राचारपछि साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय जनकपुरले गत असार १७ गते नै साहलाई निलम्बन गरी विभागीय कारबाही गर्न पत्राचार गरिसकेको छ। यसैगरी, खडक नगर कार्यापालिकाको साउन २४ गते बसेको बैठकले साहलाई १ महिनाको लागि निलम्बन गरी विज्ञद्वारा अनुसन्धान गर्ने निर्णय गरेको थियो।

तर, ०६३ असोज १ गतेदेखि सहकारीमा व्यवस्थापक रहेका साह अहिले पनि सोही पदमा कार्यरत छन्। उनलाई कुनै किसिमको कारबाही गरिएको छैन।

आफूलाई निलम्बन गरिएको विषयमा हालसम्म कुनै पत्र प्राप्त नभएको साहले प्रतिक्रिया दिए। ‘मैले रकम मासेको स्वीकार गरेको छु र तिर्ने प्रतिवद्धता पनि जनाएको छु,’ उनले भने, ‘निलम्बन गर्ने निर्णय भएछ भने त्यो पनि सहन तयार छु। तर, अहिलेसम्म त्यस्तो पत्र पाएको छैन।’
सञ्चालक समितिले गर्ने जुनसुकै निर्णय आफूले मान्ने उनले स्पष्ट पारे।

सञ्चालक समितिका अध्यक्ष रामनारायण साहले गाउँकै मान्छे भएकाले रकम असुल हुने निश्चिन्त भएर कारबाही प्रक्रिया अघि नबढाएको बताए। ‘गाउँकै मान्छे हो उहाँ, भाग्न सक्नुहुन्न,’ उनले भने, ‘रकम असुल हुने भएकैले निलम्बन गरिरहनु जरुरी लागेन।’
साहले आफूले हिनामिना गरेवापत १० कठ्ठा जग्गा सहकारीका नाममा धितो राखिसकेको जानकारी दिएका अध्यक्ष साहले बाँकी रकम पनि असुल हुने जानकारी दिए। उनका अनुसार धितो राखिएको जग्गाको सरकारी मूल्यांकन करिब १५ लाख रुपैयाँ छ।

कहाँ गयो त ८९ लाख?
सेयर सदस्य तथा सहकारी संस्थालाई डुबाएर रकम हिनामिना गरेका साहले गाईपालन र छोरो पढाउँदा उक्त रकम खर्च भएको प्रतिक्रिया दिए। गाईपालन गर्न १५ लाख, छोरो पढाउँदा २० लाख तथा घरखर्च र व्यवहार मिलाउँदा बाँकी रकम सकिएको उनको भनाइ छ।
‘सहकारीबाट झिकेकोमध्ये १५ लाख रुपैयाँले गाईपालन सुरु गरेको थिएँ। मधेश आन्दोलनका समयमा दूध बिक्री नहुने तर लगानी बढिरहने भएपछि त्यो पैसा डुब्यो,’ उनले भने, ‘२० लाख रुपैयाँले छोरो पढाएँ।’

उनका छोरा हाल अष्ट्रेलियामा अध्ययनरत छन्। नेपाल लाइभबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *