विद्यालय शिक्षामा सूचना प्रविधि :-सीमित क्षमतामा विकल्पहीन विकल्प

  •   काभ्रे
  •   १४ असार २०७८, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

विद्यालय शिक्षामा सूचना प्रविधि :-सीमित क्षमतामा विकल्पहीन विकल्प

सम्झना हुमागाई काभ्रेपलाञ्चाेक

भक्तपुरको कौशलटार बस्ने आरजु सत्याल एरुडाइट एकेडेमीमा कक्षा ६ मा पढ्छिन् । कक्षामा सधैँ प्रथम हुने आरजुलाई घरमा बस्नभन्दा विद्यालय जानै रमाइलो लाग्छ । तर कोभिड १९ को महामारीले अघिल्लो वर्ष झन्डै ९ महिना उनी विद्यालय जान पाइनन् । लकडाउनको केही महिनापछि आरजुले झन्डै ६ महिना मोबाइलमा अनलाईन कक्षा लिइन् र बानी परिन् । यो वर्ष पनि अनलाइन कक्षा लिइरहेकी उनी भन्छिन्– मोबाइल त फोन गर्न र फेसबुक, टिकटक चलाउन, गेम खेल्नका लागि मात्रै हो भन्ने सोचेकी थिएँ, यसबाट सधैं पढाइ नै हुने रहेछ भन्ने पनि थाहा भयो ।

त्यस्तै हेटौडाकी कमला ढुंगानाका दुई छोराछोरी पनि लकडाउनको लामो समयसम्म स्कुल गएनन् । दुवैलाई घरमै पढाउने व्यवस्था गरियो । झन्डै ५ महिनापछि अनलाइन कक्षा सुरु भयो । भर्खर ८ वर्ष भएका हिमानी र हिमांशुको अनलाइन कक्षा चलुन्जेल कमला पनि सँगै बस्ने गरिन् । “केटाकेटीको पढाइ भइन्जेल सँगै बसेँ । नत्र साना केटाकेटी, मन चञ्चल हुन्छ, पुरै ध्यान पढाइमा पुग्दैन नि”, कमलाको बुझाइ छ । विद्यालय गएरै पढेजस्तो नभए पनि यो सिकाइ उनीहरूका लागि उपयोगी रहेको उनको अनुभव छ ।

यता, काभ्रेको धुलिखेल– ९ स्थित करथरी मा.वि., कक्षा ८ मा अध्ययनरत सोनाम तामाङ र कक्षा १० का अभिषेक मिजारले भने कोभिडको समयमा कुनै किसिमको अनलाइन कक्षा लिन पाएनन् । कारण– न उनीहरूसँग इन्टरनेटको सुविधा छ, न त ल्यापटप र स्मार्ट मोबाइल । त्यसैले घरमै पढ्ने र समस्या परे फोन गरेर केही सोध्ने गरेको शिक्षक हरिदेव सिग्देल जानकारी दिन्छन् ।

प्राविधिक कक्षाको सुरुवात

नेपालमा कोरोना महामारीभन्दा पहिला कुनै पनि शौक्षिक संस्थाले अनलाइन अर्थात भर्चुअल कक्षालाई चासोका दिएका थिएनन् । टेलिभिजन र रेडियोबाट अनिवार्य विषयहरू पढाइरहेको केही उदाहरण भए पनि विद्यालयहरूले यतातिर ध्यान दिएका थिएनन् ।  

प्रविधिको प्रयोगमा हामी पहिल्यै अभ्यस्त भएका भए त लकडाउनमा अब के गर्ने भनेर शिक्षक, अभिभावक र विद्यार्थीलाई अत्यास हुने थिएन । सूचना प्रविधिलाई समयानुकल चलाउन नजान्दा लकडाउनका कारण धेरैजसो सार्वजनिक विद्यालयले वार्षिक परीक्षाको नतिजा समयमै प्रकाशित गर्न सकेनन् भने नयाँ शैक्षिक सत्रमा कसरी पढाउने भन्ने अलमलमा परे । समय परिवेशअनुसार आफूलाई अद्यावधिक गरी वैकल्पिक माध्यमबाट सिक्न र सिकाउन तयार हुनुपर्ने सन्देश महामारीले दिएको छ । सबै पक्ष प्रविधि–मैत्री हुन प्रेरित र बाध्य भएका छ ।

आजको युग सूचना प्रविधिको युग हो । सूचनाको संकलन, सम्प्रेषण, एवम् सञ्चार गर्ने पत्रपत्रिका, कम्प्युटर, हार्डवेयर, सफ्टवेयर, नेटवर्क, इन्टरनेट लगायतका प्रविधिको समष्टिगत रूपनै सूचना तथा सञ्चार प्रविधि हो । पछिल्लो समय हाम्रो दैनिकीमा सूचना प्रविधिको प्रयोगले निकै फेरबदल ल्याएको छ । सूचना प्रविधिले शिक्षाको क्षेत्रमा विद्यमान रुढीवादी संस्कार र पद्धतिलाई चुनौती दिंदै शिक्षण र सिकाइका नयाँ विधि र मान्यतालाई अभूतपूर्व रुपमा अघि बढाएको छ । पाठ्यक्रम निर्माणदेखि त्यसको कार्यान्वयन र मूल्यांकनका सम्पूर्ण अवधिमा सूचना तथा प्रविधिको महत्वपूर्ण भूमिका हुन्छ ।

देशका अधिकांश शैक्षिक संस्थाहरू परम्परागत शिक्षण शैलीको मानसिकताबाट माथि उठ्न सकेका छैनन् । परम्परागत चालचलनलाई अनुशरण गर्दै विद्यार्थीलाई शिक्षकले भनेका शब्दहरू रटेर र दोहो¥याएर पढ्ने पद्धति बसेको स्थापित छ । तर यस्तो घोकन्ते विधिले शिक्षाको गुणस्तरमा परिवर्तन आउन सकेको छैन । 

विश्वभर सूचना र सञ्चार क्षेत्र शिक्षाको विस्तार गर्ने, परिमार्जन गर्ने, नयाँपन दिने र प्रतिस्पर्धी बनाउन सहयोग गर्ने साधनका रूपमा प्रमाणित भइसकेको छ । प्रविधि प्रयोगको यस्तो अवस्था भएर पनि नेपालमा सूचना तथा सञ्चारको व्यवस्थित प्रयोग र यसको उच्चतम प्रतिफल लिन नसकिएको अवस्था छ । सीमित मात्रामा विद्यालय र उच्च शिक्षामा यससँग सम्बन्धित पाठ्यक्रम कार्यान्वयनमा छन् । यसले गर्दा शैक्षिक संस्था एवं शिक्षकले अत्यधिक रूपमा प्रविधिको प्रयोगमार्फत पढाउनुपर्ने बाध्यता भएको छ । सञ्चार प्रविधिमा आफूलाई अद्यावधिक गर्नुपर्ने आवश्यकता आइलागेको छ । त्यसो भएमा आवश्यक शैक्षिक सामग्री, ई–बूक, भिडियो, अडियोजस्ता सामग्री तयार पारी प्रभावकारी रूपमा पढ्न पढाउन सकिन्छ ।

डिजिटल शिक्षाका चार दशक

प्रविधिबाट शिक्षण सिकाइ सुरु गर्ने सरकारको योजना भने धेरै पुरानो हो । वि.सं. २०३५ सालबाट नै रेडियो नेपालबाट शिक्षण सिकाइ सुरु गरेको शिक्षा तथा मानव श्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाल जानकारी दिन्छन् । भिडियो शिक्षा अर्थात् टेलिभिजनमा शिक्षण सामग्री बनाउने काम भने २०७२ को भूकम्पपछि थालिएको हो । यस्ता सामाग्रीहरू सामुदायिक विद्यालय–लक्षित भए पनि निजी विद्यालयका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको दाहाल बताउँछन् । केन्द्रले बनाएको शिक्षण सामाग्री यूट्युबमा पनि अपलोड भएकाले इन्टरनेटमा पहुँच हुनेहरूले सहजै हेरेर ज्ञान आर्जन गर्न सक्छन् । युट्यूबमा एनसीईडी भर्चुअल च्यानलमार्फत हेर्न सकिनेछ ।

कोभिड १९ को महामारी आएपछि शिक्षा मन्त्रालय अन्तर्गतको विभागलाई  शिक्षा तथा मानव स्रोत विकास केन्द्रका रुपमा परिवर्तन गरी शिक्षक सिकाइका विभिन्न माध्यममा जोड दिइएको छ । केन्द्रले अडियो भिजुअल सामाग्रीको विकास गरी विद्यार्थीहरूसम्म पु¥याउने काम गर्दै आएको छ । रेडियो पुग्ने ठाँउमा अडियो, टेलिभिजन भएका ठाउँलाई भिजुअल सामग्री, इन्टरनेटमा सहज पहुँच हुनेले यूट्युबमा हेर्न सक्ने छन् । केन्द्रका सूचना अधिकारी दाहालका अनुसार देशभरका ८० प्रतिशत विद्यार्थी तथा अभिभावक रेडियोको पहुँचमा छन् । टेलिभिजनको पहुँचमा भने जम्मा ५० प्रतिशत छन् ।

इन्टरनेटको पहुँच एकदमै कम विद्यार्थीमा छ । ग्रामिण क्षेत्रका २ प्रतिशत विद्यार्थी मात्र इन्टरनेटको सहज पहुँचमा छन् भने सहरी भेगमा १७ प्रतिशत विद्यार्थीले इन्टरनेटको उपयोग गरिरहेका छन् । १३ देखि २० प्रतिशत विद्यार्थीमा त कुनै पनि प्रविधिको पहुँच छैन । ‘केही पनि प्रविधिको पहुँच नपुगेका विद्यार्थीका लागि भने विषयगत विज्ञहरूबाट तयार पारिएको स्वअध्ययन सामाग्री विकास गरेर सम्बन्धित पालिकामार्फत विद्यालयसम्म पु¥याउने व्यवस्था मिलाएको दाहाल बताउँछन् । तर प्रचारप्रसार गर्न नसकिएकाले यसबारे चाहिँदो जानकारी गराउन नसकिएको उनलाई पनि लागेको छ । 

सूचना प्रविधि विभागका निर्देशक लोकराज शर्माले पनि प्रविधिबाट विद्यार्थीलाई पढाउने योजना अनुसार शिक्षक र विज्ञको परामर्शमा तयार गरिएका शैक्षिक सामाग्री विद्यालय र विद्यार्थीहरूका लागि उपयोगी रहेको बताए । रेडियो र टेलिभिजनमा एकदुई पटक कार्यक्रम प्रसारण हुने तर इन्टरनेटमा चाहेको समयमा हेर्न मिल्ने हुदाँ यूट्युबमा राखिएका सामग्री प्रभावकारी भएको उनको धारणा छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको ‘डिजिटल नेपाल अभियान’मा समेत टेवा पुग्ने र शिक्षामा प्रविधि विस्तार गर्ने उद्देश्यले विभिन्न सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला निर्माण गर्दै आएको छ । देशभरिका झन्डै एक हजार सामुदायिक विद्यालयमा डिजिटल कक्षा अर्थात सूचना प्रविधि प्रयोगशाला बनाइसकेको प्राधिकरणले जनाएको छ । एउटा सूचना प्रविधि प्रयोगशालामा विद्यार्थी संख्याको आधारमा १० देखि २४ थान कम्प्यूटर, राउटर, नेटवर्किङ्ग, सीसी क्यामेरा, मल्टिफङ्शन प्रिन्टर लगायतका सामाग्री राखेर सूचना प्रविधि प्रयोगशाला निर्माण गरिसकेको दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । सरकारको नीति अनुसार सूचना निकालेर छानिएका प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तिमा ४ वटा सामुदायिक विद्यालय छनोट गरी विद्यार्थी संख्याका आधारमा सूचना प्रविधिका सामग्रीहरू राखिएको छ । सामुदायिक विद्यालयमा गरिने शिक्षण विधिलाई गुणस्तरीय एवम् प्रतिस्पर्धी बनाउन सूचना प्रविधि प्रयोगशाला स्थापना गरी सामुदायिक विद्यालयहरूलाई सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि, २०७५ जारी भएको छ ।

आर्थिक वर्ष २०६७/६८ को बजेटमा प्रत्येक सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पु¥याउने उल्लेख थियो । त्यसापछिका हरेक वर्षका बजेटमा यससँग सम्बन्धित शिर्षक समेटिएको पाइन्छ । आर्थिक वर्ष २०७१÷७२ देखि तीन आर्थिक वर्षमा मात्र शिक्षा विभागमार्फत ५ हजार ५ सय भन्दा बढी विद्यालयमा करिब ५० करोड रकम सूचना प्रविधिको विकास र विस्तारका लागि खर्च गरिएको थियो । शिक्षामा सूचना प्रविधि गुरुयोजना २०७०, ब्रोडव्याण्ड नीति २०७१, सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ पनि छन् ।

आर्थिक वर्ष २०७६/७७ को बजेटमा शिक्षा तथा विज्ञान प्रविधिको क्षेत्रका लागि एक खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँ विनियोजित थियो । शैक्षिक प्रणालीलाई रोजगारीसँग आबद्ध गर्ने, सीपमूलक, आयमूलक र प्राविधिक शिक्षालाई अभियानका रुपमा सञ्चालन गर्ने कार्यक्रम उक्त बजेटमा थियो । सबै स्थानीय तहमा कम्तिमा एक प्राविधिक विद्यालय स्थापना गर्ने नीति अनुरुप बाँकी २ सय १२ स्थानीय तहका सामुदयिक विद्यालयमा प्राविधिक शिक्षा अध्ययन सुरु गर्न २६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ को बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिदैं १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख बिनियोजन भएको थियो । कोभिड–१९ महामारीको कारणले पठनपाठनमा सिर्जना भएको अवरोधलाई दृष्टिगत गरेर २०७७÷०७८ को बजेटमा भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन एवम् रेडियोमार्फत नयाँ शैक्षिक वर्षको पठनपाठनका गरिने उल्लेख थियो । २०७८/७९ को अध्यादेशमार्फत आएको बजेटमा शैक्षिक नतिजाका आधारमा अनुदान दिने लगायतका केही नयाँ कार्यक्रम थप गरेर शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ ।

आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट सेवा पु¥याउने उद्देश्यका साथ आगामी आर्थिक वर्षको अन्त्यसम्ममा मुलुकभरका ६० प्रतिशत विद्यालयमा सेवा विस्तार गर्ने सरकारी लक्ष्य छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने निर्देशिका २०७७ जारी गरेपछि यसका लागि चालू आवबाट बजेट विनियोजन गर्न थालेको हो । सरकारले चालू आर्थिक वर्षमा विद्यालय तह, प्रविधिक शिक्षा र उच्च शिक्षा क्षेत्रमा गरेर लगभग १ अर्ब रुपैयाँ वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्न बजेट विनियोजन गरेको छ ।

समस्या र चुनौतीका चाङ्

निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरू प्रविधिको प्रयोगले सुरु भएको वैकल्पिक सिकाइप्रति सकारात्मक छन् । बालबालिकाहरू केही पनि नगरी घर बस्नु भन्दा केही गर्नु उचित हुने उनीहरूको बुझाइ छ । यसबाट पनि विद्यार्थीले राम्रै शिक्षा आर्जन गर्न सक्ने शिक्षकहरू बताउँछन् । विद्या सागर इंग्लिस स्कुलका प्रिन्सिपल हिरा शर्मा नेपाल भर्चुअल पढाइका कतिपय नकारात्मक पक्ष भए पनि शिक्षा लिनुलाई महत्वपूर्ण मान्छन् । तर यसरी पढाउँदा झन्डै १५ देखि २० प्रतिशत विद्यार्थीलाई समेट्न नसकेको उनको अनुभव छ । 

श्वेत बराह उच्च मा.वि., बनेपाका शिक्षक शम्भु घिमिरे पनि प्रविधिको सिकाइप्रति सकारात्मक छन् । सामुदायिक विद्यालय भए पनि उत्साहजनक रुपमा विद्यार्थीले अनलाइन पढाइमा सहभागिता जनाएको उनको अनुभव छ । तर, घिमिरेका अनुसार ६० प्रतिशत विद्यार्थीले मात्र अनलाइन कक्षामा सहभागिता जनाएका छन् । उनलाई लागेको छ– भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरेको जस्तो भने अनलाइन कक्षा हुँदैन । विद्या सागरका प्रिन्सिपल हिरा शर्मा पनि भौतिक उपस्थितिमा कक्षामा हुने भावनात्मक अनुभव र अन्तरक्रिया गर्न नपाइएको महसूस गर्छन् । विद्यार्थीहरू पनि अडियो म्युट गरेर पढाइमा भन्दा बाहिर केन्द्रित हुने जस्तो समस्या पनि भर्चुअल कक्षामा पाइएको छ ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रले प्रविधिको पहुँच नभएका विद्यालयका लागि निर्माण गरेको स्वअध्ययन सामग्री इन्टरनेट नभएको ठाउँमा केही हदसम्म उपयोगी देखिएको छ । काभ्रेको बेथानचोक गाउँपालिकाको शिक्षा इकाई प्रमुख पुष्पा राईका अनुसार केन्द्रले पठाएको सामग्री घरदैलो गर्दै शिक्षक, विद्यार्थी र अभिभावकहरूसमक्ष पु¥याइएको छ । गाउँपालिकाले सबै विद्यार्थीका लागि स्वाध्ययन सामाग्री वितरण गरेको छ ।

बेथानचोकको सरस्वती मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीका अनुसार सम्भव भएका ठाउँका विद्यार्थीलाई टिभि हेर्न र रेडियो सुन्न भनिए पनि त्यसमा विद्यार्थीहरूको त्यति ध्यान पुगेको पाइएको छैन । ‘स्वअध्ययन सामाग्री भने टिभि र रेडियो भन्दा प्रभावकारी देखिएको छ । तर, यसका लागि पनि अभिभावक र शिक्षकको सहयोग चाहिन्छ । सबै अभिभावकले सिकाउन नसक्ने र सिकाउन चासो पनि नदिने चुनौती यसमा देखिएको छ । सरस्वती मा.वि.मै तीन छोरीलाई पढाउने बेथानचोक–४ की सुस्मिता श्रेष्ठ जस्ता अभिभावक पनि छन्, जसले आफूले नपढेकाले छोराछोरीलाई सिकाउन सक्दैनन् । उपाय भनेको सानो कक्षाको छोरीलाई ठूलो कक्षाको छोरीले सिकाउने र ठूलो कक्षामा पढ्नेले शिक्षकसँग परामर्श गरेर घरमै पढ्ने नै हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन २०७६/०७७ अनुसार ‘आर्थिक वर्ष २०६५÷०६६ सम्म कूल जनसंख्याको २२.९४ प्रतिशतमा टेलिफोन सेवाको पहुँच र इन्टरनेट प्रयोगकर्ता मात्र १.८७ प्रतिशतमा सीमित रहेकामा आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्तसम्म आइपुग्दा कूल जनसंख्याको १२६.७२ प्रतिशतमा टेलिफोन सेवाको पहुँच पुगेको छ भने इन्टरनेट प्रयोगकर्ता ७४.४३ प्रतिशत पुगेको छ । साथै इन्टरनेट सेवा प्रदायकहरू (ग्रामिण दूरसञ्चार सेवाको समेत) को संख्या १२८ पुगेको छ । विशेषत ः मोबाइल सेवाको व्यापक विस्तारले आम समुदायमा  दूरसञ्चार सेवाको पहुँच उल्लेखनीय रुपमा वृद्धि भएको  हो । हाल देशका ९० प्रतिशत भन्दा बढी जनसंख्याको पहुँचमा मोवाइल फोनको विस्तार भएको छ ।   

दूरसञ्चार प्राधिकरणकाको २०७७ फागुनको प्रतिवेदनअनुसार देशभर टेलिफोन प्रयोगकर्ताको संख्या बढेर १३३.४७ प्रतिशत पुगेको छ । तर, प्राधिकरणले यो संख्याको निर्धारण भने सिमकार्ड वितरणलाई आधार मानेर गरेको प्रवक्ता सन्तोष पौडेल बताउँछन् । सोही अवधिसम्ममा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको २ करोड ६३ लाख ५६ हजार ५ पुगेका छन् । प्रयोगकर्ता बढेसँगै इन्टरनेटमा पहुँच पाउने जनसंख्या प्रतिशत ८७.१९ पुगेको छ । यसमा मोबाइलमा मात्र नेट चलाउनेको संख्या १ करोड ९३ लाख ७० हजार १ सय ४३ छ । अर्थात्, ६४.०८ प्रतिशतले मोबाइलमा इन्टरनेट सुविधा उपयोग गरिरहेका छन् । यसमा फिक्स ब्रोडब्यान्ड इन्टरनेट भने २३.११ प्रतिशत जनसंख्यामा मात्रै पुगेको छ । करिब तीन चौथाइ जनसंख्यामा विद्युत् पहुँच पुगेको देखिए पनि फिक्स ब्रोडब्यान्ड इन्टरनेट थोरैमा मात्र पुगेको छ । फिक्स ब्रोडब्याण्डको विस्तार बढी भएमा मात्रै प्राविधिक शिक्षा पनि प्रभावकारी हुने देखिन्छ ।

फाेटाे :- प्रविधिकाे प्रयाेगबाट अनलाइन कक्षामा सहभागी विद्यार्थीहरू

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मान्ने हो विद्यालय शिक्षामा प्रविधिलाई उपयोग गर्न सहज हुने देखिन्छ । तर, प्राधिकरणको तथ्यांकले देखाएजस्तो अवस्था भने गाउँघरका विद्यालयमा कमै मात्र छ । विद्यालयमा मात्रै इन्टरनेट जडान गरेर पनि भएन विद्यार्थीका घरमा पनि त्यसलाई प्रयोग गर्न सक्ने पहुँच हुनुपर्याे । डाटा महँगो हुने एकातिर छ भने भौगोलिक अवस्थाका कारण नेटवर्कमा समस्या हुने अर्को पाटो पनि छ । फिक्स ब्रोडब्यान्ड इन्टरनेट भने २३.११ प्रतिशत जनसंख्यामा मात्र पुगेकाले पनि सहरी भेगमै इन्टरनेटको सहज पहुँच छ भन्न सकिदैन । त्यसमाथि यो धेरैजसो सहर केन्द्रित छ । अनि भएकै ठाँउमा पनि इन्टरनेटको गुणस्तर, अनलाइनमा विद्यार्थीको बुझाइको स्तर, घरमा अनलाइन बसेर पढ्न कतिको सहज छ भन्ने जस्ता विषयमा पनि ध्यान पुर्‍याउन आवश्यक छ । हातमा मोबाइल फोन हँुदैमा मात्र पढ्न सकिने भए अनलाइन माध्यम धेरै प्रभावकारी हुने थियो ।

यस्तै उदाहरण हुन्, काभ्रेको धुलिखेल बजारबाट ७ किलोमिटर मात्रै टाढाको करथरी मा.वि.का विद्यार्थी । लकडाउनको महिनौँ उनीहरूको त्यत्तिकै बित्यो । हातमा मोबाइल फोन भए पनि विद्यार्थीको घरमा सहज इन्टरनेटको पहुँच नहुँदा पढ्न पाएनन् । जबकि मूलतः न्यून आय भएका ११६ विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा इन्टरनेटको सुविधा भएको ४ वर्ष पुगिसक्यो । स्थानीय एउटा रेडियोमा कार्यक्रम बनाएर प्रसारण गरे पनि सबै भेगमा रेडियो नसुनिने हुनाले त्यो पनि त्यति प्रभावकारी नभएको प्रधानाध्यापक हरिबहादुर अधिकारी बताउँछन् । तसर्थ घरमै पढ्न प्रेरित गर्दै समस्या परे ‘हेलो सिकाइ’को प्रयोग गर्न प्रेरित गरेको उनी बताउँछन् । हेलो सिकाइमा विद्यार्थीले घरमा आफैं पढेर केही कुरा नबुझे सम्बन्धित शिक्षकलाई फोनमा सोध्न सक्छन् । यसरी नै पढेको भरमा विद्यालय खुलेपछि आन्तरिक परीक्षा लिइयो र उनीहरूको ग्रेड वृद्धि गरियो ।

कम्यूटर एशोसिएसन नेपाल (क्यान) ले पनि प्रविधि प्रयोगमा जोड दिदैं विद्यालयलाई डिजिटलाइजेसन गर्न पहल गर्दै आएको छ । क्यान बाग्मती प्रदेशका अध्यक्ष मनोजकुमार न्यौपाने आफूहरूले विद्यालयलाई प्रविधिमैत्री बनाउन पहल गर्न लागि विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरेको बताउँछन् । न्यौपानेका अनुसार, अनलाइन कक्षाका लागि अन्य पूर्वाधारको त्यति समस्या नभए पनि इन्टरनेटको पहँुच नहुनु नै सबैभन्दा ठूलो समस्या देखिएको छ ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा पनि कनेक्टिभिटी नै प्राविधिक शिक्षाको मूल मुद्दा रहेको ठान्छन् । थापाका विचारमा भर्चुअल कक्षामा विद्यार्थीलाई आकर्षित गराइराख्न र क्षमतालाई उकास्न त्यति सजिलो भएको छैन भने प्रविधिको प्रयोगसँगै समाज र संसारको वास्तविकतासँग परिचित गराउनु अर्को चुनौती छ । उनी ठान्छन्– प्राविधिक शिक्षण सिकाइ अहिलेको पुस्तामा त्यति प्रभावकारी नभए पनि अबको ८/१० वर्षपछिका पुस्तालाई भने प्रभावकारी हुने छ ।

संकटमा संभावनाको खोजी

प्रविधिको पहुँचमै कमीका साथै पहुँच भएकाले सुरक्षित प्रयोग गर्ने र त्यसबाट उच्चतम लाभ लिने संस्कार पनि विकास भइसकेको छैन । अर्कातिर विशेष गरी सामुदायिक विद्यालयहरूमा हाल कार्यरत शिक्षकको ठूलो संख्या प्रविधिसँग परिचित छैन । प्रविधिले शिक्षणलाई सहयोग गर्छ भन्नेमा उनीहरू पूर्ण विश्वस्त पनि छैनन् । विभिन्न संघसंस्था, सरकारी निकायबाट सामुदायिक विद्यालयका लागि प्रविधिमैत्री सामग्री हस्तान्तरण हुदाँ पनि त्यसको सदुपयोग कमै मात्र भएका छन् । विद्यालयमा उपलब्ध यस्ता साधनको प्रयोग खास गरी प्रशासनिक कामका लागि र बाँकी शिक्षकहरूले फुर्सदको समय बिताउने माध्यमको रुपमा भएको देखिन्छ । शिक्षण सिकाइ क्रियाकलापका सन्दर्भमा त यसको प्रयोग ज्यादै न्यून छ । शिक्षकहरूमा यी साधनको प्रयोग बढाउने उपायको खोजीभन्दा समस्या देखाउने प्रवृति बढी देखिन्छ ।

प्रविधि प्रयोग गर्ने मामिलामा त शिक्षकभन्दा विद्यार्थी धेरै अगाडि छन् । पुराना पुस्ताले खुर्पेठ्याक, बञ्चरो, ढिकी–जाँतो र डाडू–पन्यू खेलाए जस्तै हो, तिनलाई मोबाइल, ल्यापटप, ट्याबलेट, आइप्याड, स्मार्ट वाच । त्यसैले तिनीहरूलाई अब प्रविधिविमुख पठनपाठन होइन, प्रविधियुक्त पठनपाठनमै जोड दिनु उपयुक्त हुन्छ । शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्छन्, ‘विद्यार्थीहरू शिक्षकसँग भन्दा प्रविधिसित बढी सिक्छन्, सिक्न खोजिरहेका छन् । त्यसैले अब शिक्षक संख्या आधाभन्दा कम भए पुग्छ ।’

प्रविधिको प्रयोगमा जोड दिने हो भने आफूलाई ‘अपडेट’ गराउन नचाहने र नसक्ने शिक्षकको भविष्य हुँदैन । कम्यूटर एशोसिएसन नेपाल (क्यान) का बाग्मती प्रदेश अध्यक्ष न्यौपानेले पनि सामुदायिक विद्यालयका पुराना शिक्षकमा प्रविधिप्रति त्यति सकारात्मक सोच नभएको महसूस गरेका छन् । उनीहरू समयअनुसार आफूलाई बदल्न नचाहने सोचका भएकाले पहिला उनीहरूलाई नै तालिम दिनुपर्ने न्यौपानेको राय छ ।  डा. कोइराला भने शिक्षकहरू समयानुकुल आफैँ अपडेट हुन आवश्यक रहेको ठान्छन् । 

बेथानचोक गाउँपालिकाले विद्यालय बन्द रहेकै अवस्थामा पनि ४÷५ जनाको संख्यामा विद्यार्थीहरूलाई पालैपालो जम्मा गरेर पढायो । गाँउपालिकाको शिक्षा इकाई प्रमुख पुष्पा राईका अनुसार इन्टरनेट सबै ठाउँमा सहज नभएपछि यो विधि अपनाउँदै सरकारले उपलब्ध गराएको स्वाध्ययन सामग्रीसहित पढाइएको हो । शिक्षाविद् कोइराला पनि इन्टरनेट प्रभावकारी नहुने ठाँउमा यसै गर्नुपर्ने मान्यता राख्छन् । 

नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र  निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरेको छ । तर, प्राविधिक शिक्षाको नाममा विद्यार्थीलाई आवश्यक पर्ने कम्प्यूटर, ल्याप्टप, स्मार्टफोन, आइप्याड, नेटवर्किङ्ग लगायतले सामाग्री प्रयोग गर्न जोड गर्दा भने शिक्षा झनै महंगो पर्न जान्छ । “सरकारले यसै पनि संविधान विपरित सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग परीक्षा शुल्कका नाममा पैसा उठाएर गलत गरिरहेको छ । त्यसमाथि पनि अब स्मार्ट फोन, कम्प्यूटर, ल्याप्टप, आइप्याड लगाएका समान उनीहरूले कसरी जुटाउनू ?”, शिक्षाविद् कोइरालाको प्रश्न छ– जसको बाससमेत छैन, तिनले छोराछोरीलाई मोबाइल र ल्यापटप कसरी जुटाउने ? ती साधन चलाउन कसरी मद्दत गर्ने ?” त्यसैले बालबालिकाको शिक्षामा कुप्रभाव पर्न नदिन जहाँ जे उपलब्ध छ, त्यहीबाट अध्ययन अध्यापन गराउन शिक्षाविद् कोइरालाको सल्लाह छ ।

सामुदायिक विद्यालयमा अधिकांश निम्न आय भएका परिवारका बालबालिकाले पढ्छन् । प्रविधिमा आधारित शिक्षा सकारात्मक भए पनि उनीहरूका लागि खर्चिलो बन्नेछ । त्यसैले सूचना प्रविधिलाई विद्यालय शिक्षामा प्रभावकारी बनाउन सरकारले उनीहरूका लागि सकेसम्म निःशुल्क र नभए पनि न्यूनतम शुल्कमा इन्टरनेट उपलब्ध गराउनु पर्छ ।

प्रविधिको प्रयोगका खराब पक्ष

विद्यालय तथा कलेजहरूमा इन्टरनेटको प्रयोगलाई बढावा दिँदै जाँदा यसैबाट बढेको अश्लिलता र हिंसा न्यूनीकरण कसरी गर्ने भन्ने पनि चुनौति पनि थपिएको छ । मोबाइल वा कम्प्युटरमा इन्टरनेट चलाउनेहरू अक्सर साइबर बुलिङ वा साइबर उत्पीडनको सिकार हुने गर्दछन् । साइबर उत्पीडनमा विशेषगरी सामाजिक अफवाह फैलाउने, धम्की दिने, यौनजन्य सामग्री पठाउने, व्यक्तिगत सूचनाहरू खुलासा गरिदिने र उत्तेजक क्रियाकलाप पर्दछन् । पछिल्ला दिनमा समाजिक सञ्जालमा सक्रिय हुनेको संख्या बढ्दै छ ।

बेलायतमा गरिएको एक अध्ययनले सामाजिक सञ्जालको लत लागूऔषधको भन्दा पनि खतरनाक रहेको देखाएको छ । हातमा स्मार्टफोन बोक्ने सामान्य नागरिकले हरेक १२ मिनेटको अवधिमा एकपटक सञ्जाललाई रिफ्रेस गर्ने गरेको अध्ययनमा उल्लेख छ । अनि यसको लतमा फसेकाले त हरेक दुई–तीन मिनेटमा सामाजिक सञ्जाल चलाइरहेका हुन्छन् । साइबर बुलिङका कतिपय घटना सामाजिक सञ्जालबाटै हुने गरेका छन् ।

मोबाइल दिएपछि बालबालिका बिग्रन्छन् भन्ने आमाबाबु नै कतिपय अवस्थामा भने उनीहरूलाई विद्युतीय सामग्री दिएर अल्मल्याउने गर्छन् । अनि पछि तिनै अभिभावक  बालबालिकाले नेटमा धेरै समय बिताए भन्दै चिन्ता लिने गर्छन् । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका प्राध्यापक बालचन्द्र लुइँटेल सामाजिक सञ्जालमा अहिले भेटिने कतिपय सामाग्री डरत्रास पैदा गर्ने र नकारात्मक भाव दिने खालका हुनाले यसले बालबालिकामा नकारात्मक असर गर्ने बताउँछन् । कतिपय बालबालिकामा एकोहोरो इन्टरनेटमा बस्ने, गेम खेल्ने जसता कुलत लाग्न सक्नेतर्फ सचेत रहन उनको सल्लाह छ । यस अलावा पाटन अस्पतालमा कार्यरत डा. अशोक अधिकारीका अनुसार त  उपकरणको अत्यधिक प्रयोगले आँखा, कान, नशा, गर्धनमा समस्या, अनिद्रा जस्ता स्वास्थ्य समस्या पनि निकाल्छन् । 

विद्युतीय सामग्रीको अत्याधिक प्रयोगका कारण मानव स्वास्थ्यमा देखापर्ने असरको सूची लामै हुनजान्छ । विद्युतीय उपकरणको स्क्रीनबाट उत्सर्जित प्रकाशले हाम्रो आँखालाई सर्वाधिक असर पार्दछ । मोबाइल फोनको लगातार प्रयोग गर्दा कानको श्रवणशक्ति पनि क्षय हुन सक्छ । मोबाइल, कम्प्यूटर, ल्याप्टप लगायतमा लगातार घोत्लिरहँदा ढाड, कम्मर, गर्धन दुख्ने समस्या आउन सक्छ । लगातार कम्प्युटरको किबोर्ड हानिरहँदा कार्पल टनल सिन्ड्रोम जस्तो बिरामी पनि हुन सक्छ । घरमै बसेर अनलाइन कक्षा गर्दा सुतेर मोबाइल, ल्याप्टप हेर्ने गर्नाले अरु समस्या पनि थपिदै जान्छ । एकाग्र हुन नसक्ने, ध्यान नलाग्ने र विषय विश्लेषण गर्ने क्षमता घट्ने जस्ता मानसिक समस्या पनि देखा पर्दछन् । क्यान्सर, छालाको समस्या, प्रजनन क्षमतामा ह्रास, अनिद्रा, नैराश्य, स्मृति नाश, मुटुको समस्या, आनीबानीमा परिवर्तन र धेरै एकोहोरो यस्ता कुरामा ध्यान दिदाँ दुर्घटनासमेत हुन सक्छ ।

यसअलावा बाटोमै हिँड्दा मोबाइलमा ध्यान दिने, म्यासेज पठाउने, अडियो भिडियो सुन्दा÷हेर्दा दुर्घटना निम्त्याउनेतर्फ त ट्राफिक प्रहरीले पनि ध्यानाकर्षण गराउने गरेको छ । यी उपकरणको प्रयोगले दिमागमा चाप बढ्ने हुँदा प्रयोगकर्ता चाँडै तनावग्रस्त हुन सक्छ । त्यस्तै गर्भवती महिलाले इलेक्ट्रो म्याग्निटोक रेडिएसन उत्सर्जन गर्ने उपकरण प्रयोग गरेमा गर्भको शिशुलाई समेत असर पुर्याउन सक्छ । यस्ता सचेतनामूलक जानकारी सामग्री रेडियो तथा पत्रपत्रिकाले समेत सार्वजनिक गरिरहेका छन् ।

प्रविधिले मानिसलाई सामाजिक दुनियाँभन्दा बाहिर र एक्लो बनाउँदै छ । परिवार आफन्तबीचको सामिप्य कम गर्दैछ । फलतः सामाजिक सञ्जालमा घोत्लिने नाममा मान्छे असामाजिक बन्दै गइरहेको छ । बालबालिका पनि यसको लतमा फसेपछि बाबुआमा, आफन्त, साथीभाइ भन्दा टाढा र एक्लोपन रुचाउँछन् । विद्यार्थीलाई प्रविधिको नकारात्मक पक्षबाट रोक्न महत्वपूर्ण भूमिका त अभिभावककै हुन्छ । विद्या सागर स्कुलका प्रिन्सिपल हिरा शर्मा पनि आफ्ना बालबालिका घरमा हँुदा मोबाइल, ल्याप्टप, टिभिमा के हेर्दैछन् भन्ने ध्यान दिन सल्लाह दिन्छन् ।

विद्युतीय उपकरणमाथिको निर्भरतासँगै समस्या पनि बढ्दै गएका छन् । तर, प्रविधिको विकल्प छैन । तसर्थ आफ्ना बालबालिकाकालाई यस्ता साधन कति समय र कसरी प्रयोग गर्न दिने भन्ने प्रमुख दायित्व अभिभावक र शिक्षकले नै निधारण गर्न आवश्यक छ ।  शिक्षा तथा मानव श्रोत विकास केन्द्रका सूचना अधिकारी माधव दाहाल पनि नकारात्मक पक्षलाई रोक्नका लागि पहिलो भूमिका अभिभावक र शिक्षकको हुने ठान्छन् । विशेषगरी ५ कक्षाभन्दा मुनिका बालबालिकासँग उनीहरूले पढ्ने, लेख्ने समयमा अनिवार्य अभिभावक आवश्यक भएको उनको भनाइ छ ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति थापा विकृत प्रभावलाई कम गर्नका लागि दूरसञ्चार प्राधिकरण जस्ता निकायको भूमिका महत्वपूर्ण हुने ठान्छन् । “हामी सूचना प्रविधिको प्रयोगबाट पछाडि फर्किने सम्भावना छैन, तर नेटवर्कको सर्भिस दिने सरकारी निकायबाटै यस्ता सामग्रीहरू फिल्टर हुन आवश्यक छ”, थापा भन्छन् ।

ंहो, उपकुलपति थापाले भने जस्तै सरकारी पहल सूचना तथा प्रविधि विभागले लिइरहेको छ । विभागका निर्देशक लोकराज शर्मा प्रविधिका नकारात्मक पक्षलाई रोक्नका लागि सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिन्छन् । उनका अनसार, विभागले सीटीईभीटीसँग सहकार्य गर्दै विगत पाँच वर्षदेखि सुरक्षित प्रविधिको प्रयोगका लागि देशैभरका स्कुल तथा कलेजहरूमा सचेतनामूलक तालिम सञ्चालन गरिरहेको छ । विशेषगरी सामुदायिक विद्यालय लक्षित यस तालिममा निजी विद्यालयका विद्याथीहरू पनि सहभागी हुन्छन् । निर्देशक शर्माका अनुसार कतिपय गलत सामग्री राख्ने वेबसाइट दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा हटाइएको पनि उदाहरण छ ।

दूरसञ्चार प्राधिकरणको प्रतिवेदनअनुसार सूचना तथा संचार प्रविधिको विकाससँगै अनलाइन माध्यममा बालबालिकामाथि बढ्दो दुव्र्यवहारका घटनालाई सरोकारवालहरूको संयुक्त पहलबाट न्यूनिकरण गर्न तथा बालबालिकाका लागि इन्टरनेटको सुरक्षित प्रयोगका लागि अनलाइन बाल सुरक्षा निर्देशिका, २०७६ पनि लागु गरिएको छ ।

उपयोगी तर मूल होइन, विकल्प मात्र

सञ्चारका माध्यमले गर्दा नै विश्व एउटा गाउँ जस्तै भएको छ । सूचना प्रविधिमा चित्र, रंग र ध्वनिको सबैको सम्मिश्रण हुने हुनाले यसबाट प्रभावकारी शिक्षा प्रदान गर्न थप सुविधा पनि उपलब्ध छ । शिक्षा तथा सूचना र सञ्चार प्रविधि एक अर्काका परिपूरक भएका छन् । कक्षा कोठामा प्रविधि प्रयोगका कारण परम्परागत पठनपाठनको सिद्धान्त र संस्कृति विस्थापित भएर नयाँँ अवधारणाको सुरुआत भएको छ ।

सूचना सञ्चार प्रविधिका उपकरण शिक्षण सामग्रीका रुपमा परम्परागत सामग्रीभन्दा बढी सान्दर्भिक, उपयुक्त एवं प्रभावकारी रुपमा प्रयोग गर्न पनि सकिन्छ । त्यसैले यसको प्रयोग नगरी शिक्षक, अभिभावक र विद्यार्थी कसैलाई पनि अलग बस्ने परिस्थिति छैन । सूचना प्रविधिको क्षेत्र व्यापक र अपरिहार्य छ । हरेक विषयमा सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् नै । काठमाडौं विश्वविद्यालयका उपकुलपति थापा पनि सूचना प्रविधि अथाह सागर भएकोले त्यसमा रहेको हीरा लिने कि फोहोर भन्नेमा सचेत हुन सल्लाह दिन्छन् ।

नेपालको भौगोलिक बनावटका कारण सबैतिर इन्टरनेटको पहुँच उपलब्ध गराउनु मुख्य चुनौतीको रुपमा रहेको छ । त्यो पनि ब्रोडव्यान्ड इन्टरनेटमा लक्षित हुनुपर्ने देखिन्छ । तर यो काम रातारात नहुने भएकोले त्यसको विकल्पमा पनि ध्यान दिनु जरुरी छ ।  शिक्षामा प्रविधिको प्रभाव सकारात्मक भए पनि राजधानी उपत्यकामा समेत सबैले प्रविधिका साधन किन्न सक्ने क्षमता राख्दैनन् भन्ने सत्य जीवित छ । तसर्थ, यसलाई विकल्परुपमा मात्र लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *