काभ्रे,भदौ २१ गते
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य, राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता तथा रासस सेवाग्राही प्रमुख राजाराम कार्कीमाथी आक्रमण भएको छ ।
उहाँलाई सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी नेपाल प्रहरी स्कुल साँगामा नेपाली विषय शिक्षकका रुपमा कार्यरत उद्धव कार्कीले विहान ९ बजेको समयमा बनेपा नगरपालिका अगाडी बसपार्क छेउमा आक्रमण गरेका थिए ।

चामुण्डा हार्डवयरमा घरायसी प्रयोजनका लागि सामाग्री किनिरहेको अवस्थामा एक्कासी पछाडीबाट लछारपछार गरी हेलमेटले प्रहार गरी टाउकै टाउकोमा हानेर गम्भिर घाईते बनाएको पत्रकार कार्कीले जानकारी गराउनुभयो । कार्कीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
पत्रकार कार्की माथी आक्रमण गर्ने उद्धवलाई कानुनी कार्बाहीको माग गर्दै र कार्किकाे स्वास्थलाभकाे कामना गर्दै नेपाल पत्रकार महासंघ काभ्रे, नेपाल प्रेस युनियन काभ्रे तथा नेपाल ट्रेड युनियन काभ्रेले छुट्टा छुट्टै विज्ञप्ती निकालेका छन् ।

पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले जारी गरेको विज्ञप्तीमा संचारकर्मी माथी भएको आक्रमणले सिङ्गो संचार क्षेत्रलाई त्रसित बनाएको उल्लेख गरिएको छ । संचारकर्मीलाई आक्रमण गर्ने अपराधमा संलग्न ब्यक्तिलाई कानुन अनुसार कारवाही गरी सुरक्षित ढंगबाट काम गर्ने वातावरण तयार गर्न विज्ञप्ती मार्फत महासंघले माग गरेको छ ।

त्यस्तै प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोईरालाले विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गर्दै दोषि माथी कडा कारवाहीको माग गर्नु भएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेसका सचिव नारायण सापकोटाले पनि घटनाको विरोध गर्दै विज्ञप्ती जारी गर्नु भएको छ ।
