
प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले प्रहरी संगठनले लिएको लक्ष्य र उदेश्य अनुरुप सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
शुक्रबार बिहान निरीक्षणको क्रममा मातहत प्रहरी कार्यालय सिंहदरबार वृत र मालिगाउँ वृतमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।
एसएसपी अशोक सिंहले समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार क्रियाकलाप व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
नेपाल प्रहरीले अंगिकार गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक र प्रहरीको सम्बन्धमा सुधार गर्नुकोसाथै यस कार्यक्रम मार्फत गरिएका गतिविधि अत्यन्तै फलदायी भइरहेको तथा यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।
हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।