राजेश तिमल्सिना
काभ्रे

आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । कृषि प्रधान देश नेपालमा परम्परादेखि नै असार १५ लाई दही–चिउरा खाएर मनाइने गरिन्छ । पछिल्लो समय कृषकको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि मन्त्रालयले यस दिनलाई ‘राष्ट्रिय धान’ दिवसका रुपमा मनाउन गरेको छ ।
प्रत्येक असार १५ मा शुभ साइत सम्झेर दहि चिउरा खाने गरिन्छ । संस्कृतमा दहिलाई दधि भनिन्छ । चिउरालाई भने शुष्कोदन भन्ने गरिन्छ
संस्कृतिविद्हरुका अनुसार धानखेतीको प्रारम्भ भएसँगै असारमा चिसो आलीको डिलमा बसेर रोपाईको काम सकिएपछि दहि चिउरा खाने गरिएको र पछिल्ला समय यो परम्परा परिष्कृत हुँदै रोपाईमा मात्रै नभई घरघरमा खाने चलन चलेको हो ।

दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ । दही र चिउराले हाम्रो शरीरमा फाइदा पनि पुर्याउँछ । दहीमा प्रोबायोटिक्स पाइन्छ जसले गर्दा हाम्रो पेटको स्वास्थ्यलाई निक्कै नै फाइदा गर्छ । हाम्रा पुर्खाले असार १५ मा दही चिउरा खान ल्याएको प्रचलनलाई वैज्ञानिक रुपमा पनि सान्दर्भिक समेत छ ।
दहीमा प्रचुर मात्रामा क्याल्सियम, सोडियम, पोटासियम, भिटामिन ए, डी, बी–१२ जस्ता तत्व पाइन्छन् । जसको सेवन गर्दा पाचन क्रियालाई सहयोग पुर्याउँछ । दहीले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्दछ । दहीमा क्याल्सियम र फोस्फरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउँछ । दहीमा जिंक, भिटामिन ई, फस्फरोसजस्ता मिनरल्स पाइने भएकाले यसले छालालाई जवान राख्छ ।दहीमा पाइने क्याल्सियमले शरीरमा कार्टिसोलको सन्तुलन गर्छ र मोटोपना, हाइपरटेन्सन र कोलेस्ट्रोल घटाउन मद्दत गर्दछ । दहीको सेवनले दिमागलाई शान्त बनाउँछ जसले गर्दा भावना र पीडालाई नियन्त्रण गर्दछ ।
चिउरामा भिटामिन ए, सि, क्याल्सिम र आइरनको प्रचुर मात्रा पाइन्छ । चिउरा चिल्लोपदार्थ र ल्याकटोस नहुने भएकाले मुटुका लागि निकै राम्रो मानिन्छ । चिउरामा आइरन,भिटामिन बी, कार्बोहाइड्रेट र प्रोटिन तत्व रहेको हुन्छ । चिउरामा कार्बोहाइड्रेटको मात्रा धेरै हुने भएकाले शरीरमा ऊर्जाको स्तरलाई कायम राख्न सहयोग गर्दछ । मधुमेहका रोगीले चिउराको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको संचार ढिलो गराउँछ
कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔ भन्ने नाराका साथ यो दिवस मनाइन्छ। यसलाइ रोपाई दिवस समेत भनिन्छ।
राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरि मनाउदछन् । यस दिनलाई रोपाई महोत्सवका रुपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा यस दिन अधिकांस स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ ।
कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि दहीचिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ ।