राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे १ सय १ वर्षको उमेरमा मंगलबार निधन

  •   काभ्रे
  •   २ भाद्र २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

काठमाडौं, भदाै २गते

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।
२०७७ भदाै २गते १ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनका पारिवारिक सदस्यले जानकारी दिए।

घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ।

अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको पनि परिवारले  जानकारी दिएकाे छ।

राष्ट्र कवि माधव घिमिरेकाे बारेमा थप जानकारी तल पढ्नुहाेस

राष्ट्र कवि माधव घिमिरेद्वारा लिखत गिती कविता :-

नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)२
उचाइ हाम्रो चुलिन्छ कहाँ (हिमालै नरहे)२
  तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
    माटो र पानी पहिलो धन धर्तीका छोराको
  ए कहाँबाट संसार हेर्छौ (सन्झ्यालै नरहे)३
  
  दसैँ र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले
  हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले
  बैँसको तालमा नाचौँला कहाँ (मादलै नरहे)३
 
  ए कति राम्रो बिहानी पख घामको रेखी हो
सभ्यता पहिलो संसारमा फैल्यो हिमाल देखि हो 
  बिम्झौँला कहाँ पुर्वको पैलो (उज्यालै नरहे)३
  नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)२

सुरुवाती जीवन

माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भयो। जन्मिएको तीन वर्षमा उनकी आमा बितिन। ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे। ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे। त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे। घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।

पेशागत जीवन र अन्य

१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे। घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिरे पनि थिए। बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए।

वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (नारायण गोपाल)ले गाएका छन्। उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे।

व्यक्तिगत जीवन

वि.सं. २००४ सालमा उनको जीवनसंगिनी गौरीको निधन भयो।

कृति

उनको काविक यात्राको पहिलो कृति नव मञ्जरी वि.सं. १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर छ। गौरी राष्ट्रकवि माधव घिमिरेद्वारा लेखिएको शोककाव्य हो। साझा प्रकाशनले वि.सं. २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविताहरू संग्रहित छन्।

माधव घिमिरेद्वारा लेखिएका कृतिहरू

नव मञ्जरी
गौरी (शोककाव्य)
मालती मङ्गले (गीतिनाटक)
हिमालपारि हिमालवारि (गीतिनाटक)
राजेश्वरी
इन्द्रकुमारी
राष्ट्रनिर्माता
किन्नर-किन्नरी (गीतसङ्ग्रह)
चारु चर्चा (निबन्ध)
आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध)

सम्मान तथा पुरस्कार

राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उहाँलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको छ।

वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कार प्राप्त
वि.सं.२०५८ सालमा चारु चर्चा(निबन्ध) का लागि साझा पुरस्कार प्राप्त

मृत्यु
२०७७ भदाै २ गते काठमाडौं लैनचौर  अाफ्नै निवास

Leave a Reply

Your email address will not be published. Required fields are marked *