रवि लामिछानेले नै पैसा नदिए केही हुन्न भनेपछि…

  •   चीतवन
  •   ६ भाद्र २०७६, शुक्रबार
  •   तिलक गैरे
0Shares

मेरो बुबामाथि २०७५ पुस १९ गते बलात्कारको उजुरी पर्यो । बुबालाई चितवन प्रहरीले पक्राउ गर्यो । अहिले मुद्दा विचाराधीन छ । जसले मेरो बुबालाई बलात्कारको आरोप लगाएकी हुन, उनले दाङमा पनि अन्यलाई यस्तै आरोप लगाएको सुनेपछि मिसिल खोज्न दाङ गएँ ।

चैतको मध्यतिर हुनुपर्छ । एकाएक ‘सिधा कुरा जनतासँग’ मा बलात्कारको पीडित भनिने युवतीलाई बयान फेर्न प्रभावमा पार्न उनको ब्यागमा पाँच लाख राखिदिएको भनेर समाचार प्रशारण भएछ । उनीहरु अदालतमै आएर भिडियो खिचेर गएका रहेछन् । रवि लामिछाने, दीपक बोहरा र युवराज कँडेल आएका रहेछन् । कार्यक्रम प्रशारण भयो ।
म दाङमा थिएँ । चितवनमा हाम्रो परिवार पनि थियो ।

कसैसँग घटनाबारे सोध्दै नसोधी, हुँदै नभएको, गर्दै नगरेको समाचार आएपछि म चितवन फर्किएँ । रविको सहयोगी कँडेलको नम्बर फेला पर्यो । मैले उनलाई फोन गरेर अदालतमा विचाराधीन मुद्दामा झूटो कुरो किन बोल्नुभयो ? यो झूटो हो, पीडित भनिएकी युवतीले अरुलाई पनि फँसाएकी छन् भनेँ । कँडेलले अहिले हामी नुवाकोटमा छौँ, यतै आउनु भने । म आउन सक्दिनँ भनेँ । अफिस कहाँ हो म आउँछु भनेपछि काठमाडौं पानीपोखरीमा मिसिल लिएर आउनु भने । म चितवनबाट काठमाडौं आएर पानीपोखरीमा रहेको न्युज २४ को कार्यालयमा गएँ ।

हामी तीन जना गएका थियौँ । रविलाई दाइ भनेर चितवन जिल्ला अदालतमा जे समाचार प्रशारण गर्नुभयो त्यो झूटो हो, पैसा दिएको छैन, लेनदेन गरेको छैन । मिसिल हेर्नुस, प्रमाण केही भए मेरो बुबालाई सजाय हुनुपर्छ । नत्र ५९ वर्षको निर्दोषलाई फँसाउनु पाप हो । योबारे बोल्दिनुपर्यो भनेँ ।

रवि सरले यसरी बोल्न यो रेडियो एफएम हैन भने । केही समय विवाद भयो । यो घटनाको बारेका अनुसन्धान गरेर कार्यक्रम बनाउनुस र देखाउनुस, बुबाको कार्यक्रमको भिडियो युट्युबबाट हटाउनुस भन्दा त्यत्तिकै कार्यक्रम बनाउन लाग्ने खर्च १० लाख जति दिनु युट्युुबबाट पनि हटाउँला भने । म त झसंग भए । म त उहाँको फ्यान थिएँ । अन्यायविरुद्ध आवाज उठाउने व्यक्ति भन्ने लागेको थियो । उल्टो पैसा मागेपछि के भन्ने के भन्ने भयो ।

दाइ म त तपाईंको फ्यान पनि हो । अन्यायमा पनि परेको हुँ । भिडियो भए पनि हटाइदिनुस् न त भन्दा हामीबाट केही हुन्न, अदालत गए हुन्छ भने । पैसा नदिए केही हुन्न भनेपछि मैले १० लाख त छैन, मसँग भएको साढे ३ लाख रुपैयाँ छ, हुन्छ भने लिनुस भनेँ । उहाँले ल यो भित्र गएर युवराज कँडेललाई दिनु म हटाइदिन्छु भन्नुभयो ।

म चितवन फर्किएँ । चितवन गएर हेर्दा हटेको रहेनछ । मैले रवि दाइलाई फोन गरेर भिडियो त हटेको रहेनछ भनेँ । उहाँले युवराजसँग कुरा गर्नु भने । युवराजलाई फोन गर्दा साढे ३ लाखले भिडियो हट्दैन, नाम चैँ हटाइदिएका छौँ भने । बाँकी पैसा दिन सकिनँ । उल्टो अन्यायमा परेँ ।

रवि लामिछाने बिना स्वार्थ हिँडेको रहेनछ । राम्रो मान्छे रहेनछ भन्ने देखियो । मैले अहिले जे बोलेको छु, त्यसबारे अनुसन्धान होस् । म जहाँ जान पनि तयार छु । (शुक्रवारसँगको कुराकानीमा आधारित )

Leave a Reply

Your email address will not be published. Required fields are marked *