महाशिवरात्रिमा पशुपतिक्षेत्रको सुरक्षा व्यवस्था कडा

  •   काभ्रे
  •   १६ फाल्गुन २०७८, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

महाशिवरात्रि पर्वको अवसरमा महानगरीय प्रहरी परिसरले पशुपतिक्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीले महाशिवरात्रि पर्वलाई विचार गर्दै ४३ सय प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार एसपीको कमाण्डमा प्रहरीको ११ वटा सबकमाण्ड पोष्ट शिवरात्रिको लागि पशुपतिक्षेत्रमा परिचालन गरिएको छ । पशुपति क्षेत्रमा आजबाट बिहीबार बिहानसम्म प्रहरी परिचालन गरिइएको उहाँको भनाइ छ ।

पशुपतिक्षेत्रमा एक हजार ५० महिला र ३२ सय ५० पुरुष प्रहरी गरी जम्मा ४३ सय प्रहरी परिचालन गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

प्रहरीले भक्तालुहरुलाई बहुमूल्य गरगहना लगाएर नआउन अनुरोध गरेको छ । साथै पशुपतिक्षेत्रमा आउने भक्तालुहरुलाई कुनै समस्या भए १०० मा फोन गर्न वा १०० मा फोन नलागे त्यही रहेको प्रहरीको कमाण्डमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

त्यस्तै, महाशिवरात्रि मनाउन पशुपतिमा आउने साधुसन्तहरुका लागि यातायात र सुरक्षाको प्रभावकारी व्यवस्था मिलाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन सहज, सुरक्षित र छिटो दर्शन गराउने कामलाई प्रभावकारी बनाउँदै आएपनि प्रहरी बिना सम्भव नहुने भएकाले प्रहरी परिचालन गर्नुपरेको उहाँले बताउनुभयो ।

‘मङ्गलबार महाशिवरात्रि पर्वमा पशुपतिक्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई प्रभावकारी बनाइएको छ । आज ४ बजेदेखि प्रहरी परिचालन गरिएको छ ।’ उहाँले भन्नुभयो ।

यता, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको संयोजकत्वमा गठन भएको १११ सदस्यीय महाशिवरात्रि व्यवस्था मूल समिति–२०७६ अन्तर्गत ११ वटा उपसमितिहरु गठन गरिएको छ । उपसमितिहरुले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचार–प्रसार, वातावरण सरसफाई, स्वास्थ्य सेवा, स्वयंसेवक परिचालनलगायतका काम गर्ने पर्यटन मन्त्रालयले जनाएको छ ।

बाहिरी ढोकाबाट एक–एक लाइनको व्यवस्था गर्ने र भित्र चार लाइनसम्म व्यवस्था गरी दुई घण्टा भित्रमा दर्शन गरिसक्ने व्यवस्था मिलाइएको छ । नेपाल प्रहरीसहित सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिसहित छ हजार सुरक्षाकर्मी र करिब पाँच हजारको सङ्ख्यामा स्वयंसेवकहरु परिचालन हुने मन्त्रालयले जनाएको छ ।

पशुपति विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीका अनुसार महाशिवरात्रिका दिन बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरको चारै ढोका खुला हुने भएकाले चारै प्रहर भक्तजनलाई पङ्तिबद्ध भएर पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ । कोरोना महामारी रहिरहेकाले भक्तजन र दर्शनार्थीलाई अनिवार्य मास्क र भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *