मदरल्याण्डले दियो विद्यार्थीलाई अभिमुखीकरण तथा सचेतना

  •   काभ्रे
  •   ८ पुष २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

मदरल्याण्डले दियो विद्यार्थीलाई अभिमुखीकरण तथा सचेतना

अमर कृष्ण चन्द

भक्तपुर/विद्यार्थीको वृत्ति बिकासकाे लागि सूर्यविनायक नगरपालिका वडा नं ९ भातेढिकुरमा अवस्थित मदरल्याण्ड स्कुलले विद्यार्थी लक्षित आधारभूत शिक्षा एवं सचेतना विषयक १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाे छ ।
विद्यार्थीलाई समसामयिक विषयमा ज्ञान दिन अायाेजित कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र राज केसीले विद्यार्थीहरुकाे लागि अति नै उपयाेगी व्यवहारिक विषयमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम गरेकाेमा मदरल्याण्ड स्कुलकाे प्रशंसा गरेका थिए । वडाध्यक्ष केसीले अाफुमा भएको क्षमता र खुबीलाई निखार्दै जानु नै विद्यार्थीहरुकाे मुख्य दायित्व भएको बताउँदै शिक्षालाई किताबी ज्ञानको दायरामा मात्रै कैद गर्न नहुने बताए । हरेक मानिसमा फरक क्षमता हुने र त्यसको पहिचान गर्न अावश्यक रहेको केसीले बताए । पढाइमा पछि परे पनि संसारमा धेरै मानिसहरु सफल बनेको प्रशस्त उदाहरण रहेको उनको कथन थियोे । पढाइसँगै विद्यार्थीको विशिष्ठ क्षमता पहिचान गरी त्यसको विकास गर्न विद्यार्थी, अभिभावक, विद्यालय र राज्य लाग्नुपर्ने आवश्यकता रहेको केसीले धारणा राखे ।


वडाध्यक्ष केसीले आफ्नो वडामा रहेको मदरल्याण्डले नगरपालिकाको अपेक्षा अनुरुप शिक्षा प्रदान गरिरहेको बताउँदै सक्षम विद्यार्थीबाट नै सक्षम समाज बन्ने र त्यसमा विद्यालयको योगदान महत्वपूर्ण हुने धारणा राखे । केसीले समाज र राष्ट्रलाई कस्तो बनाउने भन्ने कुरा विद्यार्थी वर्गकै हातमा रहेको बताए । यसको लागि विद्यार्थीमा देश र समाजप्रति सकारात्मक भावना विकास गर्न शिक्षाको महत्व हुने समेत धारणा राखे ।
साेहि अवसरमा प्रहरी विद्यालय कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त जगातीले “आधारभूत शिक्षा एवं सचेतना” विषयक विद्यार्थी लक्षित अभिमुखीकरण कार्यक्रम पनि गरेको थियोे । कार्यक्रममा वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले आधारभूत शिक्षा एवं विद्यार्थीहरुले अपनाउनु पर्ने भूमिकाको विषयमा विद्यार्थीहरुसंग अन्तरक्रिया गरेका थिए । अन्जानमै हुनसक्ने अपराध तथा दुर्व्यसनबाट बच्न अपनाउनुपर्ने सावाधानीहरुबारे जानकारी प्रनाउ केसीले दिएका थिए । केसीले लैंगिक हिंसा तथा सडक दुर्घटना बारेमा समेत वगत गराएका थिए ।
कार्यक्रममा सामाजिक उत्प्रेरक बिकासदेव योन्जनले विद्यार्थी जीवनदेखि नै राम्रो संगतमा रहि वृत्ति विकास तर्फ अग्रसर हुनुपर्ने बताए । याेन्जनले सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिएका थिए । विद्यार्थीहरुले आफ्नो जीवनमा गल्ती गर्नै नहुने भन्ने नभएको भन्दै उनले गल्ती नदोहाेराउन र गल्तीलाई सच्याउँदै सक्षम नागरिक बन्ने तर्फ उन्मुख हुनुपर्ने बताए ।

विद्यालयका संचालक शर्मिला देउजाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य अतिथिहरु राष्ट्रिय संगितकर्मी संघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द, पत्रकार महासंघ भक्तपुरका सचिव संजिप घिमिरे, पारिजात विद्याकुन्जका प्रिन्सिपल विक्रम थापा, शिक्षाविद पद्मनाथ तिवारी, अभिभावक प्रतिनिधि भिमेश्वर थापा, प्राध्यापक तथा अधिवक्ता विकल प्रजापति लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले संचालन गरेको व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको परीक्षामा नेपाल टप गर्ने भक्तपुरकी बबिता ग्वाछालाई समेत मदरल्याण्ड स्कुलले सम्मान गरी बधाई तथा शुभकामना दिएको थियो। ग्वाछाले अाफ्नाे अनुभव शेयर गर्दै अाफुले सामाजिक संजाललाई अध्ययन अवधिभर टाढा राखेको बताइन् ।

सूर्यविनायक ९ स्थित डोलेश्वर भिलेज रिसोर्टमा सम्पन्न कार्यक्रममा विद्यालयबाट यसवर्ष र अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइइ) उतीर्ण गरेका विद्यार्थीहरुलाई बिदाई गरेको छ । अघिल्लो वर्ष कोभिड १९ महामारीका कारण कार्यक्रम गर्न नपाएपछि संयुक्तरुपमा ५८ जना विद्यार्थीहरुलाई भव्य कार्यक्रमका बीच औपचारिक बिदाई गरिएको विद्यालयका प्रधानाध्यापक संजय खड्काले जानकारी दिए ।
एन प्याब्सन भक्तपुरका अध्यक्ष समेत रहेका प्रधानाध्यापक खड्काले उतीर्ण भएर बाहिरिएका विद्यार्थीहरुलाई यस्ता कार्यक्रमले विद्यालयसँग जोड्ने विश्वास व्यक्त गरे । खड्काले विद्यार्थीको उज्वल भविश्यको कामना गर्दै विद्यालयले विद्यार्थीहरुकाे लागि अावश्यक यस्ता कार्यक्रम समय समयमा गर्दै अाएकाे बताए ।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा एसईई उत्तीर्ण ५८ जना तथा कक्षा ६ देखि कक्षा १० सम्मका २ सय २४ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *