भारतसँग वार्ता गर्न सरकारको व्यग्र प्रतीक्षा:-परराष्ट्रमन्त्री ज्ञावली

  •   काभ्रे
  •   २७ जेष्ठ २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares


जेठ २७, काठमाडौँ (रासस) |

सरकारले सिमानालगायत भारतसँगका सबै समस्या वार्ताको माध्यमबाट समाधान गर्न चाहेको दोहोर्याउँदै त्यसका लागि व्यग्र प्रतीक्षा गरिरहेको स्पष्ट गरेको छ ।
नयाँदिल्लीसँग वार्ताका निम्ति निरन्तर प्रयास र ताकेता गरिरहेको र उसको प्रत्युत्तरको प्रतीक्षा भइरहेको पनि सरकारले बताएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७७ माथिको छलफलका क्रममा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सांसदहरूले उठाउनु भएका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले वार्ताको विकल्प नसोचेको बताउनुभयो । कूटनीतिक माध्यमबाट धेरै जटिल समस्या समाधान भएका तर्क गर्दै उहाँले भारतसँगका मुद्दा पनि वार्ताकै माध्यमबाट हल हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।
कोभिड–१९ को महामारीका बेला पनि चीन र भारतबीच गत शनिबार वार्ता भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालसँग वार्ता गर्न भारतले नमान्नुपर्ने कारण आफूले नदेखेको बताउनुभयो ।
नेपाल–भारत सीमासम्बन्धी नसुल्झिएका विषयलाई सुल्झाउन कूटनीतिकस्तरमा वार्ता गर्न नेपालको तर्फबाट निरन्तर प्रयास हुँदै आएको र नेपाल–भारत सम्बन्धलाई अझ मजबुत र सुदृढ बनाउँदै लैजान इतिहासदेखि थाती रहेका विषयहरुलाई सम्बोधन गर्न जरुरी  भएको उहाँले बताउनुभयो ।
नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेक लगायत सबै मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई सुदृढ बनाउँदै लैजाने नीति सरकारको रहेको उहाँको कथन थियो । सरकारबाट सक्रिय र सार्थक कूटनीतिक प्रयास जारी रहेको तथा कूटनीतिक वार्ता मार्फत नेपालको सीमाभित्र पर्ने भूमिमाथि हाम्रो नियन्त्रण कायम गर्नेलगायत नेपाल–भारत सीमा समस्याका अन्य विषयहरुको निकास निकाल्न सरकारले हरसंभव पहल गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
परराष्ट्र मन्त्रालयले नेपालको संविधानले गरेको मार्गनिर्देशन र नीतिअनुरुप परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्दै आएको बताउँदै मन्त्री ज्ञवालीले भन्नुभयो – “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित तथा विदेशमा रहेका नेपाली नागरिकको हित रक्षाका खातिर सरकारले पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको छ ।”
“संविधानले गरेको मार्गनिर्देश अनुरुप राष्ट्रिय हित प्राप्तिमा संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हित, सार्वभौमिक समानता, पारस्परिक सम्मान, सिमानाको सुरक्षा र आर्थिक समुन्नतिलाई नेपालको राष्ट्रिय हितका र पारस्परिक लाभको आधारमा नेपालले स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति सञ्चालन गरिआएको छ र यस नीतिलाई अझ प्रभावकारी रुपमा सञ्चालन गरिनेछ,” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *