काठमाडौं

चीन र भारतको विवाद पछिल्लो समय निकै उत्कर्षमा पुगेको छ । त्यसको प्रभाव विभिन्न क्षेत्रमा देखिन थालेको छ । संसारभरि नै टिकटक मोबाइलका सर्वाधिक लोकप्रियमध्येका एक एप्लिकेशन मानिन्छ ।

भारत सरकारले त्यहाँको सूचना प्रविधि कानूनको धारा ६९ए को प्रयोग गर्दै टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ ।
भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेपछि त्यहाँको सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई यी एपलाई प्रतिबन्ध गर्ने आदेश दिएको हो । चाँडै नै भारतमा गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट यी एप्लिकेसनहरु डाउनलोड गर्न नमिल्ने हुनेछन् । कसैले टिकटक लगायत प्रतिबन्धित एप्लिकेसनहरु प्रयोग गर्न खोजे भने पनि इन्टरनेट सेवा प्रदायकको तर्फबाट ‘सरकारको अनुराधेमा यी एप्सहरुसम्म तपाईंको पहुँच निषेध गरिएको छ’ आशयको सन्देश आउनेछ । तर टिकटकलगायतका मोबाइल एप्लिकेसनहरुमा प्रतिबन्ध लगाइएपछि भारतमा हज्जारौं भारतीयहरुले जागिर गुमाउने खतरा पैदा भएको छ ।
