भर्चुअल माध्यमबाट पार्वती एलुम्नाई एशोसिएशनकाे प्रारम्भिक साधारणसभा सम्पन्न

  •   काभ्रे
  •   १९ भाद्र २०७८, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

पार्वती एलुम्नाई एशोसिएशन नेपालले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको प्रारम्भिक साधारण सभामा निर्वाचन संयोजक पद्मनारायण तिमल्सिना , जयराम तिमल्सिना र लक्ष्मण वाइबा लगायतकाे सदस्य समितिले निर्विरोध निर्वाचित कार्यसमितिको घोषणा गर्नुभएको हो । उक्त समितिले निर्वाचित कार्यसमितिलाई आजै पद तथा गोपनियताको सपथ गराएको छ ।

११ सदस्यीय कार्यसमितिको अध्यक्षमा मिठाराम बाँस्तोला रहेका छन् भने उपाध्यक्षमा पुरुषोत्तम तिमल्सिना, सचिवमा छवि श्रेष्ठ, सह-सचिवमा दिपिका के.सी, कोषाध्यक्षमा बिनोद तिमल्सिना र सदस्यहरूमा सन्दिप तिमल्सिना, कुमार तिमल्सिना, पार्वती सापकोटा, उपा शंकर, भगवान आचार्य र सुशान्त अधिकारी रहेका छन् ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मिठाराम बाँस्तोलाले गर्नुभएको थियो ।कार्यक्रममा पूर्व विद्यार्थी एवं पार्वती एल्मुनाई एशोसिएशनको संस्थापकको रूपमा नेपाल सरकारका सह-सचिव तथा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे, प्रथम एस एल सी व्याचका प्रथम तुलाबहादुर तिमल्सिना लगायत झण्डै चार दर्जन भन्दा बढी पूर्व विद्यार्थीको उपस्थिति रहेको थियो ।कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं २ का वडाअध्यक्ष भगवान घिमिरे, श्री पार्वती मा.विका प्रधानाध्यापक गोविन्दप्रसाद शर्मा, पूर्व अध्यक्ष सिताराम लामा, खेलकुद पत्रकार प्रकाश तिमल्सिना लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

सभाले संस्थाको आ.व २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रगती प्रतिवेदन र आगामी २ वर्षको कार्ययोजना अनुमोदन गरेको छ ।

कार्ययोजनाले संस्थाको आगामी मार्गचित्र स्पष्ट पार्दै यस अघिको श्री पार्वती एल्मुनाई एशोसिएशनको स्वामित्व ग्रहण गर्ने, यस अघिको आजिवन सदस्यलाई स्वत आजिवन सदस्य हुने प्रवन्ध मिलाउने र साधारण सदस्यलाई नविकरण गरि संस्थामा पुन: जोडिन आह्वान गर्ने, विद्यालयको अभिन्न अङ्गको रुपमा विकास गर्दै विद्यालयका प्रधानाध्यापक प्रमुख संरक्षक रहने व्यवस्था सहित पूर्व विद्यार्थीहरूको लगत सङ्कलन, सदस्यता वितरणलाई चुस्त दुरुस्त बनाउने लगायतको महत्वपूर्ण कार्यक्रम समेटेको छ भने आगामी २ वर्षभित्र गर्ने अन्य महत्वपूर्ण कार्यक्रमको बारेमा समेत स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *