बेथानचोक– २ ले लोकतान्त्रिक विधिबाट योजना छनौट गर्यो ।साविक वडा ६,७,८,९का जनसमुदायलाई पायक पर्ने टाेलमा जम्मा भई याेजना संकलन गर्ने कार्य सम्पन्न भएकाे हाे ।

बेथानचाेक ,काभ्रे ।
काभ्रेपलाञ्चोक जिल्लाको वेथानचोक गाउँपालिका वडा नं २ मा आगामी आर्थिक वर्ष २०७७/७८ को लागि समुदाय स्तरबाट छलफल गरी १९५ वटा साना ठूला योजना छनौट गरेको छ । कार्यक्रमको पहिलो चरणमा नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने सन्दर्भमा जारी गरिए अनुरुप योजना छनोट गरिएको वडा अध्यक्ष भगवान घिमिरेले बताए ।

वेथानचोक गाउँपालिका वडा नं २ मा पूर्व सूचित सूचना अनुसार साबिक ढुंखर्क गाबिसको वडा नं ६, ७, ८ र ९ मा क्रमशः आषाढ २, ३, ४ र ५ गते स्थानिय जनतासँग छलफल गरि योजना छनोट गरिएको हो । साविक ढुंखर्क वडा नं ६ का वडाबासीहरूको चाहाना मुताविक वडाअध्यक्ष भगवान घिमिरेको उपस्थितिमा योजना छनौट कार्य सम्पन्न भएको थियो । निर्धारित समयभन्दा एक दिन थप गरी कार्यक्रम लम्बाईएको थियो । साबिक ढुंखर्क वडा नं ६ को पाखुरेडाडामा सम्पन्न भेलामा ८१ जना स्थानियको उपस्थिति रहेको थियो। वेथानचोक गाउँपालिका वडा नं २ का वडा अध्यक्ष घिमिरेसहित वडा सदस्यहरू रामप्रसाद अधिकारी, नवराज केसी, भगवती तिमल्सीना र रेणुका नेपाली योजना अधिकृत विश्वनाथ दाहालसहित अन्य कर्मचारीहरूको उपस्थितिमा आगामी बर्षको लागि ४४ वटा योजनाहरू आवश्यकताको पहिचान गरिएको थियो ।

उक्त योजनाहरू प्राथमिकताको आधारमा योजना कार्यान्वयनको लागि टिपोट गरी वडा कार्यालयमा पठाएको भेलामा सहभागी मछिन्द्रकुमार लामाले बताए । त्यसैगरी वडा नं ७ को मुखिया टोल स्थित डेरीमा ४५ जना साबिक ढुंखर्क–७ का स्थानीय जनसमुदायको उपस्थितिमा योजना छनौट कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त भेलाले आगामी बर्षको लागि ६० वटा योजना छनौट गरी प्राथमिकताको आधारमा योजना सम्पन्न गर्न वडा कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको थियो ।साविकको वडा नं ८ को भेला भने ढुंखर्कको गेल्डुङ श्री पार्वती माविमा सम्पन्न भएको थियो । ३१ जना उपस्थित रहेको भेलाले आगमी बर्षको लागि ५१ वटा योजना सिफारिश गरिएको थियो । वडा कार्यालयले आगामी बर्षको लागि विनियोजन गरेको रकम र योजना सहितको नागरीक वडापत्र वडा कार्यालयमा सबैले देख्ने ठाउँमा टाँस गर्नु पर्ने सुझाव भेलाले दिएको थियो ।

ढुंखर्क साबिक–९ को भेला श्री कृष्ण प्रणामी सत्संङ्ग भवनमा भएकोे थियो । ४० जना स्थानीय जनसमुदायको उपस्थितिमा भएको भेलाले आगामी बर्षको लागि विभिन्न शिर्षकमा ४० वटा योजना छनौट गरी प्राथमिकताको आधारमा योजना कार्यान्वयनको लागि वडा कार्यालयमा सिफारिस गरिएको थियो । साबिकको वडा नं ६ बाहेकका कार्यक्रममा भने वेथानचोक गाउँपालिका वडा नं २ का ४ जना वडा सदस्यहरू र कर्मचारी मात्र उपस्थिति रहेको थियो । बेथानचोक गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि यही असार १० गते बजेट पेश गर्ने छ भने बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँ बजेट बिनियोजन गरिसककेको छ ।
