निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न : गण्डकी प्रदेश पोखरा

  •   काभ्रे
  •   २२ मंसिर २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न : गण्डकी प्रदेश पोखरा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको निरीक्षण तथा अवलोकन गरी प्रदेश अन्तर्गतका ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा पोखरा उपत्यका स्थित अन्य प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।

निरीक्षणका क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पुग्नु भएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले स्वागत गर्नुभयो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अर्यालले समग्र गण्डकी प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्था, अपराधिक तथ्याङक विश्लेषण, प्रहरी परिचालन एवं जनशक्ति व्यवस्थापन, हालसम्म गण्डकी प्रदेश अन्तर्गत भएका उल्लेख्य गतिविधिहरु तथा प्रदेश प्रहरी कार्यालयको आगामी कार्ययोजना एवं रणनीतिहरु लगायतका विषयमा प्रस्तुतिकरण मार्फत प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई जानकारी गराउनुभयो ।

प्रस्तुतिकरण कार्यक्रम पश्चात गण्डकी प्रदेश प्रहरी कार्यालयको बहुउद्देशीय हलमा सहभागी प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी संगठनले अंगिकार गरेका नीति तथा मुल्य मान्यताहरुको विपरित रहि आफ्नो निजी स्वार्थ सिद्ध गर्न गरिने जस्तोसुकै आर्थिक अपार्दशिताका गतिविधिहरु सह्य नहुने बताउँदै यस प्रति सबै प्रहरी कर्मचारीहरु सचेत रहि पारदर्शिताको नमूना प्रर्दशन गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै प्रहरी कर्मचारी आम नागरिकका पीडा तथा समस्याहरुको निदानकर्ता भएकाले कुनै पनि प्रहरी कर्मचारीको अकर्मण्यताका कारण आम नागरिकमा समग्र कानून एवं न्याय प्रणाली प्रति नै नैराश्यता उत्पन्न हुन नहुने बताउँदै कार्यदक्षताले भरिपूर्ण तथा चरित्रवान प्रहरी कर्मचारीका रुपमा आफूलाई कार्यक्षेत्रमा समर्पित गर्न उहाँले निर्देशन गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतको निरीक्षण तथा निर्देशन सम्बोधनका लागि संगठन प्रमुख प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई धन्यवाद व्यक्त गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अर्यालले प्रहरी महानिरीक्षकज्यूबाट भएका निर्देशनहरुलाई आत्मसाथ गर्दै नेपाल प्रहरी संगठनका प्राथमिकताहरुलाई कार्यान्वयन गरि नतिजामुखी सेवा प्रवाह जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

निरीक्षणको क्रममा निर्माणाधीन अवस्थामा रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा पोखरा र निर्माणाधीन अवस्थामा रहेको गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण तनहुँको समेत निरीक्षण तथा अवलोकन गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *