धुलिखेल अस्पतालमा कोरोना भाइरसको कारण ७६ वर्षीय वृद्धको मृत्यु

  •   काभ्रे
  •   २० भाद्र २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

बनेपा, भदौ २० गते

काभ्रेपलाञ्चोक जिल्लामा रहेको धुलिखेल अस्पतालमा कोरोना भाइरसको कारण ७६ वर्षीय वृद्धको मृत्यु भएको छ ।

महोत्तर, बर्दिबास घर भई विगत १५ दिनदेखि धुलिखेल अस्पतालमा उपचाररत वृद्धको बिहान ६ः३० बजे उपचारको क्रममा निधन भएको र कोरोना भाइरसकै कारण निधनको पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

यसैगरी, बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा कार्यरत कर्मचारी, उपचाररत बिरामी र बिरामी कुरुवाहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार प्रादेशिक ल्याब धुलिखेलमा गरिएको परीक्षणमा अस्पतालका कर्मचारी, बिरामी र बिरामी कुरुवामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा शुक्रबारमात्र २२ जनाका कोरोना संक्रमित पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय १६ पुगेको छ । अस्पतालमा कर्मचारी, बिरामी र बिरामी कुरुवाको सम्पर्कमा आएका व्यक्तिहरुमा कन्ट्याक्ट ट्रेसिङ्गको कार्य अगाडि बढाइएको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि भैंसेपाटीमा रहेको स्पाईनल इन्जुरी अस्पतालमा कर्मचारी तथा बिरामीहरु गरेर १ सय ४ जनामा संक्रमण पुष्टि भएको थियो भने धुलिखेल अस्पतालमा पनि कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र विरामी गरी ५० भन्दा धेरै संक्रमित भएका छन् । जिल्लामा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी, कानुन ब्यवसायी, बैदेशिक रोजगारबाट फर्किएका, विरामीहरु र सर्वसाधारणहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको देखिन्छ ।

जिल्लाको १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *