धादिङ
अविरल वर्षाका कारण धादिङबाट चितवन प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल क्षति पुगेको छ ।
मौवाखोलाको पुलको एकतर्फी भाग बगाएको छ।

सोमबार दिउँसो करिब २ बजेतिर आएको बाढीले धादिङतर्फ मौवाखोलाको पुल करिब पाँच मिटर सडक कटान गरेको हो।
धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले दिएको जानकारीअनुसार तत्काल पुल मर्मत गर्न सक्ने अवस्था छैन।
‘पानी परिरहेको छ। धादिङदेखि मौवाखोला पुग्ने ९ ठाउँमा पहिरो छ,’ ‘मौवाखोलाकै बाढीले पुलको एकतर्फ सडक कटान गरेको हो। अहिले खोलामा पानी केही कम भएको छ तर तत्काल मर्मत गर्न सकिने अवस्था छैन।’
पाँच मिटरजति कटान भएको सडकमा माटो भरेर सडक सुचारू गर्नुपर्छ त्यसका लागि पानी पर्न कम हुनुपर्छ,’ उनले भने, ‘आज पुल मर्मत सम्भव छैन। वर्षा थामियो भने भोलि मर्मत गर्छौं।’
बाढीले पुलसँगैको सडक कटान गरेपछि धादिङतर्फ फसेका करिब २२ वटा सवारी साधन र एक सय जनाजति मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको उनले जानकारी दिए।
‘हिँडेर पनि चितवनतर्फ जान जोखिम छ। त्यहाँ रहेका मानिस र सवारी साधनलाई धादिङतर्फ सुरक्षित स्थानमा लगेका छौं,’ प्रजिअ तामाङले भने।