ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको महानिरीक्षक थापा क्षेत्रीबाट समुद्‍घाटन तथा निरिक्षण

  •   काभ्रे
  •   १६ फाल्गुन २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सिद्धार्थनगर नगरपालिका-९ गोलिगढस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित कार्यालय भवनको आइतबार आयोजित एक कार्यक्रमबीच समुद्‍घाटन गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनिर्मित भवनको निरीक्षण गर्नुको साथै भवन निर्माण कार्यमा उल्लेखनीय सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने सिद्धार्थनगर नगरपालिका लगायत सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई धन्यवाद दिनुभयो । प्रहरी कर्मचारीले सदैव आफ्नो कामलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै ट्राफिक नियम पालना गराउन इमानदार भई लाग्नुपर्ने उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा भवन निर्माण समितिका कोषाध्यक्ष मंगल भण्डारीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२०७६ जेठ ३ गते शिलान्यास भएको उक्त भवन सिद्धार्थनगर नगरपालिका तथा उद्यमी व्यवसायीहरूको सक्रियता एवं जनसहभागितामा करिब १ करोड ५२ लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । करिब ५ हजार वर्गफिट क्षेत्रफलमा निर्मित साढे २ तले उक्त भवनमा सभाहल, कार्यालय प्रमुख कक्ष, व्यारेक, भान्साकोठा लगायत ९ वटा कोठा रहेका छन् ।

भवन निर्माण समितिका संयोजक कृष्ण प्रसाद शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न सरकारी कार्यालयका प्रमुख, प्रहरी अधिकृतहरू, संघ संस्थाका प्रमुख, भद्रभलादमी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

भवन उद्‍घाटन कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रमबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त क्षेत्रको शान्ति सुरक्षा एवं वस्तुस्थितिबारे जानकारी लिनुको साथै वर्तमान परिस्थितिमा शान्ति सुरक्षा कायम गर्ने तथा अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने काममा अझै सक्रिय भई काम गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *