वालिङ २९ असोज ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९(कोरोना भाइरस) को संक्रमण बढ्दै गएको र हाल यो समुदायस्तर सम्म फैलिएको साथै यसको रोकथाम र नियन्त्रणको लागि विभिन्न प्रयासहरु भैरहेको सर्वविदितै छ । दशै, तिहार, छठ जस्ता महानचाडपर्वहरु नजिकिंदै गरेको अवस्थामा नागरिकहरुको आवागमन स्वभावतः बढ्ने हुँदा संक्रमणको जोखिम समेत बढ्ने देखिन्छ । यसै परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र सर्वपक्षीय बैठकको निर्णयले यसपटकको दशैँ घरघरमै मनाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारीबाट अादेश जारी गरिएकाे छ।
चाडपर्व नजिकिँदै गर्दा चाडपर्वको बहानामा जिल्ला प्रवेश गर्ने अवस्था रहने भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै उच्च जोखिम भएका स्थानहरुबाट जिल्ला प्रवेश गर्दा ७२ घण्टाभित्रको पिसिआर रिर्पोट साथमा हुनुपर्ने जनाएको छ । कार्तिक १ गतेबाट रिर्पोट नहुनेहरु अनिवार्य तोकिएको क्वारेन्टाईनमा बस्नुपर्नेछ ।
प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतद्धारा जारी आदेशमा भिडभाड तथा भेला नगर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस अहिले समुदायस्तरमा समेत फैलिसकेको अवस्थामा चाडपर्वका बेला थप जोखिम हुने भन्दै प्रशासनले विभिन्न कार्यहरु निषेध गरेको छ ।
