खेलकुदकाे लागि कुन प्रदेशमा कति बजेट

  •   काभ्रे
  •   २ असार २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

असार, काठमाडौं

नेपाल सरकारले बजेट सार्वजनिक गरेको दुई हप्तापछि सबै प्रदेशले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेका छन् । सोमबार सातवटै प्रदेशले बजेट सार्वजनिक गरे ।
सबै प्रदेशले खेलकुद क्षेत्रमा पनि बजेट विनियोजन गरेका छन् । आफ्नो प्रदेश अनुकुल त्यहाँ हुन सक्ने खेलकुद प्रतियोगिता र त्यहाँ बन्ने पूर्वाधारलाई ध्यानमा राख्दै प्रदेशले बजेट विनियोजन गरेका छन् ।
आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सरकारहरूले खेलकुदका लागि विनियोजन गरेको बजेट यस्तो छ-

प्रदेश १

प्रदेश एक सरकारले खेलकुद क्षेत्रको विकासका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रादेशिक एवं जिल्ला र स्थानीय तहसम्म खेलकुदका आवश्यक पूर्वाधारको स्तरोन्नती तथा निर्माण कार्यलाई जोड दिएको छ । जसमा धरानमा खेलकुदग्राम निर्माण गरिनेछ । खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै खेलकुद निर्माणाधीन पूर्वाधारको विकास र विस्तारका लागि ३० करोड बजेट छुट्याएको बताएको छ ।

यसका साथै प्रदेश खेलकुद बोर्डको आवश्यक संरचना निर्माण गरिनेछ, प्रदेशस्तरीय राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिने बताएको छ । विराटनगरमा शहिद मैदानमा फल्डलाइट निर्माण कार्य यसै वर्ष सम्पन्न गरिने उल्लेख छ ।
प्रदेश २
खेलकुदमैत्री पूर्वाधारहरुको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरी समग्र खेलकुद क्षेत्रको विकास गरिने छ ।
बागमती प्रदेश ३
बागमती प्रदेश सरकारले खेलकुदका लागि ६८ करोड ४० लाख रुपैयाँ छुट्याएको छ ।
राष्ट्रका लागि खेलकुद श्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यका साथ खेलकुद पूर्वाधार विकास गर्न चालु आर्थिक वर्षका आयोजनाहरुको निरन्तरता सहित थप रंगशाला, कभर्डहल र खेल मैदान निर्माण गर्न ६८ करोड ४० लाख बजेट प्रवन्ध गरिएको छ ।
यस्तै प्रदेशस्तरीय अन्तरप्रदेश तथा राष्ट्रिय खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न एवं खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि तथा व्यवसायिक बीमा कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था मिलाएको उल्लेख छ ।
प्रदेश युवा परिषद तथा प्रदेश खेलकुद परिषद निर्माणको गर्न आवश्यक कानुनको तर्जुमा एवं सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारले विभिन्न खेलकुदको पूर्वाधार विकासमा बजेट विनियोजन गरेको छ । साथै नवौं राष्ट्रिय खेलकुदलाई पनि बजेट विनियोजन गरेको छ ।
प्रदेशको समग्र खेलकुद विकासको निम्ती खेलकुद कानुन नीति कानु संरचना र पूर्वाधार निर्माणमा जोड दिइएको छ । प्रदेश स्तरीय बहुउद्देश्यीय रंगशाला, क्रिकेट रंगशाला, गल्फ कोर्ष, स्की उच्च उचाइ खेलकुद तालिम केन्द्र जिल्ला स्तरीय रंगशाला तथा एक स्थानिय तह एक खेल मैदानका लागि ८ करोड ४५ लाख विनियोजन गरेको छ ।
यस्तै अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना र खेलाडीलाई प्रोत्साहन गर्न तथा समग्र खेलकुद विकासका लागि रकम छुट्टाइएको छ । यससँगै मुख्य मन्त्री कप फुटबल प्रतियोगितालाई समेत प्रदेश सरकारले निरन्तरता दिने भएको छ ।पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापन तथा खेलाडीलाई प्रशिक्षण प्रदान गर्न १ करोड ५० लाख विनियोजन गरिएको छ ।
प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाएको उल्लेख छ ।
प्रदेश ५
प्रदेश नम्बर ५ सरकारले खेलकुदका लागि कूल १२ करोड ५० लाख विनियोजन गरेको छ । खेलकदलाई निरोधात्मक स्वास्थ्य र उद्यमको रुपमा विकास गर्ने भन्दै खेलकुद पूर्वाधारको लागि बजेट छुट्याइएको छ ।
मुख्यमन्त्री रनिङ शिल्ड लगायत खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न तथा निर्माणाधीन दुई रंगशालाका लागि उक्त बजेट विनियोज गरिएको उल्लेख छ ।
दुई रंगशालालाई प्राथमिकतामा राख्दै नयाँ आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र उजिरशिंह रंगशालालाई साफस्तरको रंगशालाका रुपमा निर्माण गर्ने भएको छ ।
यस्तै, रुकुम पूर्वमा उच्च हिमाली खेल संरचना निर्माण गरी पर्यटन प्रवर्द्धनको सम्भाव्यता अध्ययन गर्न समेत बजेट बिनियोजन गरेको जानकारी दिएको छ ।
कर्णाली प्रदेश
राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी एवं खेलाडीहरुको प्रशिक्षणका लागि वीरेन्द्रनगरमा नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रादेशिक रंगशाला निर्माणको काम अगाडि बढाउने उल्लेख छ ।
साथै जिल्लामा रंगशाला कभर्डहल र खेलमैदानका कार्यक्रमहरु अगाडि बढाउने, खेल क्षेत्रको स्तरोन्नती र खेलाडीको वृत्ति विकास लगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । युवा परिचालन र खेलकुद विकासका लागि १५ करोड ६० लाख विनियोजन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशले खेलकुद पूर्वाधार, खेलकुद प्रतियोगिता, युवा उद्यमलाई समेटेर कूल क्षेत्रका लागि विभिन्न शिर्षकमा करिब १२ करोड बजेट विनियोजन गरेको छ ।
खेलकुदको माध्यमबाट प्रदेशमा स्वस्थ र अनुशासित तथा युवा जनशक्ति उत्पादन गर्न प्रदेश सभाका हरेक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान निर्माण एवं स्तरोन्नती गर्न ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने अत्याधुनिक एवं सुविधासम्पन्न रंगशाला निर्माणका लागि महेन्द्रनगर तथा धनगढी रंगशाला स्तरोन्नती र संरचना सुधारका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।
मुख्यमन्त्री खेलकुद तथा अन्य खेलकुद प्रतियोगिताका साथै खेल क्षेत्रको समग्र विकास र खेलप्रति आकर्षण बढाउनका लागि एक करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । खेलाडीको वृत्ति विकास तथा सम्मानका लागि प्रदेश स्तरमा खेलाडी कल्याणकारी कोष सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ ।यस्तै युवा उद्यम कार्यक्रमका लागि १ करोड ६० लाख विनियोजन गरिएको छ ।प्रदेश खेलकुद परिषद तथा जिल्ला खेलकुद विकास समिति संचालनका साथै प्रदेश गौरवको रुमा रहेको फाप्ला क्रिकेट मैदानको डीपीआर निर्माणको लागि प्रारम्भिक अध्ययन समेतका लागि १ करोड २५ लाख रकम विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *