केपी ओलीले दुबै पद ओगट्न मिल्दैन, एउटा छाड्नै पर्छ : देवेन्द्र पौडेल

  •   काभ्रे
  •   १९ मंसिर २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

केपी ओलीले दुबै पद ओगट्न मिल्दैन, एउटा छाड्नै पर्छ : देवेन्द्र पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै पर्ने बताउनु भएको छ ।काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा पौडेलले एक पद छाड्ने बाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । पार्टीभित्रको समस्यालाई निकास दिनका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र लिनुपर्ने उहाँको भनाइ छ ।

“ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन,” पौडेलले भन्नुभयो ।पौडेलले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताउँदै भन्नुभयो “पार्टी फुटाउनु हूँदैन, एक बनाउनैपर्छ,” ।

पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाइ छ । उहाँले ओलीले पार्टीको निर्णय मान्नुपर्ने भन्दै पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताउनुभयो ।

नेकपा विवादले संकटपूर्ण अवस्था सृजना गरेको भन्दै उहाँले अब समस्या समाधान गर्ने जिम्मा ओलीले लिनुपर्ने बताउनुभयो । सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेर मात्रै निकास निस्कने उहाँको भनाइ थियो । त्यसका लागि ओली तयार हुनुको विकल्प नभएको पौडेलले बताउनुभयो ।

दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उहाँको विश्वास छ । प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको र छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने उहाँको तर्क छ ।

फरक प्रसंगमा पौडेलले तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गर्नु गलत भएको बताउनुभयो । “लोकतन्त्र हाम्रो जीवनपद्धति हो, पौडेललाई नियन्त्रणमा लिन दुखद कुरा हो,” उहाँले भन्नुभयो । वरिष्ठ नेतालाई सम्मान गर्नुपर्ने भन्दै उहाँले तनहुँको घटनामा पार्टीको संलग्नता नरहेको दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *