महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह द्वारा महानगरीय प्रहरी वृत्त बालाजु तथा मातहतमा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुको व्यक्तिगत निरीक्षण भौतिक संरचनाको अवलोकन र कार्यालय व्यवस्थापनको निरीक्षण तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
कानुनको कार्यान्वयनमा कदापी नचुक्दै र नझुक्दै उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पूरा गर्न प्रहरी कर्मचारीहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले निर्देशन दिनुभएको छ ।
प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राही समक्ष प्रहरीले उच्च आचरण र व्यवहार सहित प्रस्तुत भएमा प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुने उहाँले बताउनुभयो ।

अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा प्रमाणमुखी बनाउनुपर्नेमा जोड दिँदै प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भन्नुभयो, ‘अपराध कार्य नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा प्रहरीले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेशा सम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्छ ।’ प्रहरी अधिकृतहरुले समस्याको पहिचान पश्चात् त्यसको समाधानतर्फ अग्रसर भएमा राज्यले अख्तियार गरेको नीति तथा निर्देशनलाई प्रभावकारी ढंगबाट संचालन गर्न सकिने उहाँले बताउनुभयो ।