काठमाडौँका सडकमा नौ वर्षदेखि बन्द रहेका ट्राफिक लाइट बल्न थाले सडकमा जाम पनि घट्न थाल्याे:-एसएसपी ढकाल

  •   काभ्रे
  •   १३ आश्विन २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं असाेज १३ गते

काठमाडौँमा ट्राफिक प्रहरी प्रमुखकाे जिम्मेवारी लिएका एसएसपी भीम ढकालले उपत्यकाको ट्राफिक व्यवस्थापनमा धेरै भन्दा धेरै सुधार ल्याएका छन् । ढकाल महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखका रुपमा २०७६ भदाैमा जिम्मेवारी लिएका थिए ।

ढकालले ट्राफिक प्रमुखको रुपमा जिम्मेवारी लिएपछि उपत्यकाका विभिन्न १७ स्थानमा बिग्रेर रहेका ट्राफिक लाइट पुनः बल्न थालेका छन् । वर्षदेखि बन्द रहेका लाइट ट्राफिक प्रहरीले सडक विभागसँग आग्रह गरी पुनः सञ्चालनमा ल्याएको हो । पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ । यस अनुसार कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे चोक, सितापाईला, बौद्ध, ग्रान्डी लगायतका ११ स्थानमा ट्राफिक लाईट जडानका काम शुरू भैरहेको र उपत्यकाको अन्य थप ४६ स्थानमा पनि ट्राफिक लाईट जडानको लागि पहल भैरहेको महाशाखाले जनाएको छ । अहिले सिंहदरबार, पद्मोदय मोड, बागबजार, तीनकुने, बानेश्वर, पुरानो बानेश्वर, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, कालीमाटी, टंकेश्वर ठिमी, पाटन, मंगलबजार र मुनिभैरवमा बिग्रिएको अवस्थामा रहेका ट्राफिक लाइट पुनः बल्न थालेका छन् । अब कोटेश्वर, जडीबुटी, थापाथली, त्रिपुरेश्वर, केशरमहल र दक्षिणढोकामा रहेका ट्राफिकलाइट मर्मत गर्ने तयारी रहेको उनले बताए । नगरपालिकासँग समन्वय गरी भक्तपुरका अन्य चार ठाउँमा पनि लाइट राख्ने तयारी छ । ‘हाइवेमा राखिसकेपछि अब भित्री सडकमा पनि लाइट राख्ने पहल गरिरहेका छौँ, सँगै लाइटअनुसार यात्रा गर्ने बानीको पनि विकास गर्नुपर्ने अवस्था छ,’ उनको भनाइ छ ।

काठमाडौँका सडकमा नौ वर्षदेखि बन्द रहेका ट्राफिक लाइटमात्रै बल्न थालेका छैनन् सडकमा जाम पनि घट्न थालेको छ । ट्राफिक प्रहरीको सेवामा सुधार आएकाे छ । उनले ट्राफिक प्रहरीमा आएपछि सडकमा प्रवाह गर्ने सेवालाई प्रविधिमैत्री बनाउन अभियान थालेका छन्। सडकलाई यात्रुमैत्री बनाउन ट्राफिक प्रहरीले आधुनिक प्रविधिको प्रयोग र सवारी व्यवस्थापनमा सक्रियता बढाएको हो । प्रहरीले सिसिटिभीबाट चालकले ट्राफिक नियम माने/नमानेको समेत निगरानी गरिरहेको छ । सिसिटिभी फुटेजबाटै यात्रुले आफू चढेको गाडीमा छोडेका/हराएका सामान फिर्ता पाउँछन् । प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधि अपनाउन प्रयास भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी ढकालले बताए । ‘सडक र ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ,’ उनले भने ।

काठमाडौंमा अहिले १४ सय ट्राफिक प्रहरी खटिएका छन् । पूर्ण प्रविधिमैत्री सडक भएपछि अहिले परिचालित जनशक्तिको एकतिहाइ मात्रै खटाए पनि ट्राफिक व्यवस्थापन हुने एसएसपी ढकालले बताए । ‘सबै पूर्वाधार तय हुने र सवारीसाधन पनि सिस्टममा चल्ने हो भने ट्राफिकले दिनभर सिट्टी फुकेर बस्नुपर्दैन,’ एसएसपी ढकालले भने । ट्राफिक प्रहरीले सडकमा लाइट, सिसिटिभी, अनलाइन सेवा र रेडियो सचेतना वृद्धि, सडक लेन मार्किङ, सचेतना बोर्ड, युवा स्वयंसेवक परिचालन, विद्यालयमा ट्राफिक चिल्ड्रेन पार्क निर्माणलगायत ३७बुँदे सुधारका अल्पकालीन योजनासमेत अघि सारेको छ ।

काठमाडौं उपत्यकाका झण्डै १२ लाख सवारी व्यवस्थापनको जिम्मेवारी एक हजार चार यस ४५ ट्राफिक प्रहरीको काँधमा छ । कोरानाको समयमा सरकारले ल्याएको लकडाउन सवारी नीति कार्यान्वयनको मुख्य जिम्मेवारी पनि ट्राफिककै छ । दैनिक १६ घण्टासम्म सडकमा बिताउने प्रहरीले व्यवहारिक समस्या पनि उत्तिकै झेल्नुपर्छ । सडक समयमै नबन्दा, मर्मत सम्भार नहुँदा धूलो र हिलोको सामना गर्नुपर्छ । ट्राफिक प्रहरीको अर्को समस्या भनेको बाथरुम, ट्वाइलेट, खानेपानी र खाजाको उपयुक्त प्रबन्ध नहुनु पनि हो । कतिपय ठाउँमा ट्राफिक प्रहरी बस्नका लागि ब्यारेकको समेत अभाव छ । यसमा सरोकारवाला निकाय मौन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *