कम्युनिष्ट सरकार र दमित दलित (सन्दर्भः गणतन्त्र दिवस) :-महेश पाैडेल

  •   काभ्रे
  •   १७ जेष्ठ २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares
महेश पौडेल

कम्युनिष्ट सरकार र दमित दलित     (सन्दर्भः गणतन्त्र दिवस)
                                                      

आजको ठिक १२ बर्ष अघि संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्ती गर्न हिंडेको क्षण र रुकुमको पश्चिम चौरझारीका दलितहरुमाथि भएको पाशविक घटनालाई एकसाथ सम्झदा लोकतन्त्र ,गणतन्त्र र संघियता फिक्का फिक्का लागेर आयो . गणतन्त्रलाई धुमधामसँग मनाउनुपर्ने हामी जस्ता राजनैतिक सचेत मानिसमा क्रोध, आवेश र उत्तेजना जागेर आयो ।

हिजो पधेरो छोएको निऊ, चिया पसलमा गिलास नमाझेको आरोप, गाउँमा फरक जातकी कन्यासँग प्रेम गरेको बहानामा गाउँ निकाला गरेको दृष्य आजका दिनमा पनि ज्यूँका त्यूँ छ भने लोकतन्त्र कहाँ आयो ? मेरो मनले मलाई प्रश्न गर्यो । म निरुत्तरित भए । आखिर गणतन्त्रको लागी मैले भन्दा त्यही दलितले योगदान बढी गरेको छ तर आज उ आफूलाई सबैभन्दा बढी दमित महशुस गर्छ .। त्यसैले मलाई भन्न मन लाग्यो लोकतन्त्र पनि कालो र सेतो हुन्छ की भनेर ? आज केही सर्बहारा, जनपक्षिय,समाजबादी नेता तथा कार्यकर्ता र उपल्लो बर्गलाई लोकतन्त्र आएको छ तर गरीब, दलितलाई लोकतन्त्र कहाँ आयो ? २०४६ सालमा जनआन्दोलन,२०५२ सालमा जुन अठोट, जुन अपेक्षा र समानताका लागी शसस्त्र युद्धमा बन्दुक बोकेको दलित केटा वा केटी फेरी कम्यूनिष्ट सत्तामा त्यही परिदृष्यमा सोच्न पुग्छन् भने खोई ⁄हामीले खोजेको र लडेको गणतन्त्र ?
मेरो मनले बारम्बार मलाई सोध्यो— लोकतन्त्र, गणतन्त्र, संघियता , समानता यही हो ? दलित भएकै कारण उसले मन परेको केटीसँग बिहे गर्न नपाउनुपर्ने, मन पराउनु अपराध? दलित भएकै कारणले मर्नुपर्ने ? त्यो पनि जातिय मुक्तिको झण्डा गाड्न हिंडेका नेताहरुको घर आँगनमा ।. कमरेड म निःशब्द छु । . मेरो आन्दोलनको सहभागीता के रह्यो? के बिशे नगर्चि, धनमानसिंह परियारदेखि नवराज सम्म आइपुग्दा दलित आन्दोलन जुलुस, सभा, संबिधानको धारा,उपधारा, कानुनमा लेख्नका लागी मात्र हुन् ? दलित मुक्तिका कुरा झण्डा सिलाउने र झण्डा बोकाउने खेल र क्षणिक आत्मरतीको साधन मात्र हो ?. साच्चै गणतन्त्रको साब्दिकताको मर्ममाथि ध्यान पुग्थ्यो भने संघिय गणतन्त्र नेपालका स्थानीय सरकारकै वडा प्रमुख जातकै नाममा युद्ध मैदानमा दुर्याेधन निस्केजस्तै निस्कदैनथे . कस्तो संस्कारयुक्त संघिय लोकतान्त्रिक गणतन्त्र हो ? म जस्तै मानिसहरु निरुत्तरित छन् र चिन्तित पनि ।
हाम्रा प्रतिनिधि नै खुँडा, खुकुरी, हँसिया , लाठी सहित अपराधमा सहभागी हुनुले हाम्रो परिवर्तनको संस्थागत बिकासको स्तर प्रष्टै हुन्छ . बिरालोलाई त भाग्ने बाटो राखेर पिट्नुपर्छ भन्ने लोकोक्ती छ . तर आफुजस्तै अर्काे ब्यक्ति त्यसमा पनि परिवारको असहमति थाहा पाएपछि फर्किसकेका दलितह? भाइहरुलाई चौतर्फि घेरा हालेर हत्या गर्नु कति कठोर र कहालिलाग्दो होला ?यस्ता घटनाले हाम्रो गणतन्त्र, हाम्रो परिवर्तनको जग कति कमजोर रहेछ भन्ने प्रष्ट हुन्छ . १३ प्रतिशत जनसंख्या ओगटेको दलित समूदायले संघिय लोकतान्त्रिक गणतन्त्रको १२ बर्ष र प्रजातन्त्रको३० बर्षमा पनि बिभेदको काँडेतार पन्छाएर स्वतन्त्र नागरिकको स्वास फेर्न नसक्ने ? कस्तो हाम्रो गणतन्त्र ?
संसदमा दलितको समस्या दलितले मात्र बोल्नुपर्ने हिजै सम्म देखियो कस्तो बिडम्बना⁄ आफनो समूदायको समस्या उठाउँदा संसदमै उपल्लो नेता ठान्ने सांसदले संसदभित्रै बिभेदपूर्ण धम्की दिनु कायरता की राजनैतिक स्खलन हो ? कमरेड बिर्सनु भो , त्यही बिश्वकर्माले बनाएको टुकटुके भरुवा बन्दुक, त्यही परियार दाईले सिलाएको चुस्ता , त्यही सार्की दाईले बनाएको जुत्ता लगाएर जनयुद्ध रन्काएको , आफनो शब्दकोषमा बिभेद भन्ने शब्द छैन, जात भनेको महिला र पुरुष मात्र हो भनेर डुक्रनु भएको बस्ती त्यही हो , समानताको भाषण चिल्लाउँने तपाइहरुले चाहेको गणतन्त्र यस्तै हो ? माननीय कमरेडहरु . जनयुद्धको स्पिरिट यही हो, बहुदलिय जनबादको कार्यदिशा यही हो ? जनतालाई उत्तर दिनुस् .
न्याय दिनुस्, अपराधीहरुलाई सरकारको अदालतबाट कार्बाही गर्नुस् । बिगतमा तपाइहरुले गला सुक्ने गरी गर्नुभएको भाषणका अंशहरु हुन् ः सामन्तबादी , अमेरिकी सामाज्यबादी , भारतीय बिस्तारबाद र पूँजिबादी सत्ताका कारण बेथिती र अन्याय बढेको छ । यसलाई परास्त र धुलिसात नगरेसम्म जनताको शासन आउँदैन । हो, अहिले ती प्रतिक्रियाबादी, दलाल र गद्दारहरुको सरकार छैन । अहिले त जनताको अपार समर्थन पाएको सर्बहारा, मजदुर , किसान , दलित , जनजाती, उत्पीडित, अपहेलित निमुखाहरुको सरकार छ . गरीबहरुको सरकार छ . अब न्याय पाइन्छ होला नी ?
.
मेरो प्रश्न छ गृहमन्त्रि ज्यू, संसदीय छानबीन समिति गठन गर्न किन गाह्रो भयो । एउटा कर्मचारीको नेतृत्वमा कामकाजी समिती बनाउनुभयो .कतै ३३ किलो सून, निर्मला पन्त काण्ड , बालुवाटार काण्ड जस्तै काण्डहरुको सूचिमा नवराज काण्ड पनि सूचिकृत हुन्छ की ? कार्बाही हुन्छ . तपाईले समेत दोषिलाई कार्बाही गर्ने ठोकूवा नगरेर बिश्वास ब्यक्त गर्दा नवराज लगायतको आत्माले शान्ति पाउँलान् . अबका दिनमा दलित माथि जातको बिभेद हुँदैन र भयमुक्त वाताबरणमा ज्यूँने के आधार दिनुहुन्छ ? सम्पूर्ण नेपालीहरु पर्खिबसेका छन् .
मेरो मनको अर्काे प्रश्न दलित दाजूभाइ दीदीबहिनीलाई पनि बारबार गरौं भन्छ ः जब की

”कामीले दमाइले छोएको नखाने”
“दमाइले सार्कीले छोएको नखाने”
“सार्कीले गाइनेले छोएको नखाने”
“गाइनेले बादीले छोएको नखाने”
“बादीले डुमले छोएको नखाने”
अनि छुवाछुत चाहिं क्षेत्रि बाहुन र दलित बीचको मात्र देखिने ? छुवाछुतमै भेदभाव??आखिर कहिलेसम्म छुवाछुतको नाममा बाहुन क्षेत्रीलाई दोष दिने? समूदायका मानिस मारिए भन्नुस जातलाई नल्याउनुस् जात ल्याउनु भनेको आफुले आफैंलाई पछाडी धकेल्नु हो । त्यसैले न्याय ज्यानको माग्नुस् जातको होइन । हामी पनि माग्छौं र भन्छौं मानिसको रक्षा गरौं । मानिस रहे मात्र जात रहन्छ । आशय यति मात्र हो जातको नामको बिभेद सबैका लागी असह्य हुन्छ .यो दुष्चक्रमा कोही नफसौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *