कथा:-प्रेम र बुझाई /अनिता धिताल

  •   काभ्रे
  •   ५ असार २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares
          
   

कथा:-“प्रेम र बुझाई

अनिता धिताल :-पात्लेखेत काभ्रे

कोठाबाट निस्कदै भैरवलाई फोन गरेँ।बल्ल बल्ल उठायो।
“म निस्किएको है।छिटो आइजो।”
मैले फोन उठ्ने बित्तिकै भनेँ
“ल ल म पनि निस्किन लागेको,ढिलो भएँ भनेपनि पर्खी ल, छोडेर नजा नि।”उसले भन्यो।
छोडेर नजा भन्नुको मतलब केटो आज ढिलो आउँछ,मैले बुझिहालेँ।
“६ बजे सम्म नआए जान्छु म त”
मैले हाँस्दै जवाफ दिएँ।उसले “गए जा न त”भन्दै रिसाएर फोन राख्यो।
घडी हेरेँ। ६ बज्न १० मिनेट बाँकी नै थियोे।५ मिनेट हिड्दै भैरव आउने बाटो पुगिन्थ्यो।त्यहाँबाट १५ मिनेट हिडेपछी त कलेज नै आउथ्यो।
६:१५ देखि कलेज सुरु हुन्थ्यो।म बिस्तारै हिडेँ। जसरी पनि ऊ नआए सम्म मैले कुर्नै पर्थ्यो।६ बजे भैरवसंग भेट हुने ठाउँमा पुगेँ।म पुग्नु अगाडि नै आइसकेछ।मलाई देख्ने बित्तिकै भन्यो,”५ मिनेट पनि नलाग्ने बाटो छ।यतिबेर सम्म कता गइस्?”
“तँ ढिलो आउछ्स् भनेर बिस्तारै आएँ।मलाई के थाहा?आइसकिस् भन्ने।”


“छोडेर जान्छु भन्थिस् नि त,अनि यो बाटो एक्लै हिड्न दिक्क लाग्छ के त्यही भएर,थाहा छ,तैले फोन गर्दा म बल्ल उठेको थिएँ।”उसले
हिड्दै भन्यो।म पनि उसलाई भेट्टाउन छिटो छिटो हिडेँ।कलेजको गेट बाहिर चिया पसल थियो।जहिलेपनी हामी त्यहाँ पुग्दा एउटा बूढो हजुरबा र उहाँको ११/१२ बर्ष जतिको नाति पसल खोल्दै हुन्थे।उनीहरुको परिवारमा हजुरबा,हजुरआमा र त्यही भाइ मात्र हो भन्ने कुरा मलाई हजुरबाले भन्नुभएको थियो।तर उहाँका छोराबुहारीको बारेमा केही भन्नुभएन।हजुरआमालाई पनि कहिल्यै पसलमा आएको देखिदैनथ्यो।जहिल्यै देखिने भएपछि उसै चिनिने।भाइले मलाई बोलायो,”मिरा दिदी,आँउदै हो।”
“उम आउँदै,फर्कदा कुरा गर्छु ल।ढिलो भयो”म बोल्दै हिँडे।
“देखिएका,भेटिएका सबैसंग बोल्नैपर्ने,अचम्मको बानी छ मिरा तेरो,अब कोहि संग नबोल ल।ढिलो हुन्छ फेरि”भैरवले भन्यो।
मैले हस् भनेँ।हामी गेटबाट भित्र पस्यौ।गेटमा पालेदाइ बस्नुहुन्थ्यो।सबैले दाइ भन्थे।हाम्रै जिल्लाको हुनुहुन्थ्यो त्यसैले म काका भन्थेँ।
काकालाई बोलाउन पर्दैनथ्यो उहाँले नै बोलाउनु हुन्थ्यो।
“ए केटाकेटी हो।आउदै हो कि कसो”आज पनि उहाँले नै बोलाउनु भयो।
“हो नि काका”मैले जवाफ दिएँ
भैरवले म तिर हेर्यो।


“मैले बोलाएको होइन,काकाले बोलाएपछि नबोल्नु त अनि”मैले रोकिएर भनेँ।
“ल ल भयो।उसले मेरो हात समातेर तान्दै भन्यो।
कपाल मिलाउदै उसले फेरि भन्यो”मिरा,हेर् त मलाई कस्तो देखिएको छ।सब ठिक छ नि?”
“हिरो देखिएको छ,आज त वर्षा फिदा हो ।”मैले भनेँ
मेरो कुरा सुनेर खुशी हुँदै भैरवले भन्यो,”कसम”
मैले हो को इसाराले टाउको हल्लाएँ।
हरेक बिहान यस्तै हुन्थ्यो।भैरवले वर्षालाई धेरै मनपराउथ्यो।बच्चादेखि आजसम्म उसले कुनै केटिको बारेमा यति सोचेको मलाई थाहा थिएन।एकदिन उसले भन्यो,”जहाँ भैरव सकिन्छ त्यहिबाट वर्षा सुरु हुन्छ।म अलमलमा परेँ अनि उसले मेरो टाउकोमा पिट्दै भन्यो,” मिरा,तँ साच्चै बुद्दु छेस्।मेरो नामको अन्तिममा व आउँछ वर्षाको सुरुमा,अनि भएन त मेरो अन्त्य उसको सुरुवात”
उसको कुरा सकिन नपाउदै मैले भनेँ,”वर्षालाई धेरै माया गर्छस्,मलाई थाहा छ भैरव,तर एउटाको अन्त्य,अर्कोको सुरुवातको कुरा किन? दुबैजना संगै सुरु भएर संगै अस्ताए हुन्न?”

उसले उदास भएर भन्यो,”हुन्थ्यो नि हुन त….आँउछे, तँ संग बोलेर जान्छे म भए तिर त हेर्दा पनि हेर्दिन।एउटै कक्षामा बसेर पढेको वर्षदिन बित्न लाग्यो।नचिनेको जस्तो गर्छे देख्दिनस्।”
“सबैलाई भन्दा तँलाई अलग व्यवहार गर्छे,यसको मतलब उसको लागी तँ अरुभन्दा खास छस्।यति धेरै नसोच् न।सबै ठिक हुन्छ।”
मैले सम्झाए जस्तो गरेँ।उसले पनि सम्झिए जस्तै गर्यो…..भैरव दिनदिनै धेरै टोलाउने हुँदै गइरहेको थियो।के के सोचिरहन्थ्यो अनि झस्किन्थ्यो।प्रेम कुनै रोग भन्दा कम हुदैन भन्ने कुरा मैले भैरवको हालत देखेर थाहा पाँए।एकदिन कलेज छुट्टी भएपछि उसले एउटा कागज मेरो हातमा दिदै भन्यो,”मिरा,यो प्रेमपत्र ,वर्षालाई दे न प्लिज।मैले उसको बारेमा के सोच्छु भन्ने जान्न पाउने अधिकार उसलाई पनि छ।तँलाई केही भन्न अप्ठ्यारो लाग्छ भने दिएर मात्र आइजो,मैले सबै लेखेको छु।”
“मैले कुरा गर्छु त भनिरहेकै छु त,मौका नै मिल्दैन,हतार नगर् न राम्रो समय हेरेर भनौला”
मैले प्रेमपत्र उसैलाई फिर्ता दिदै भनेँ।
“समय राम्रो कहिलेपनी हुदैन मिरा,आफैले राम्रो बनाउने हो। हाम्रो दोस्तीको कसम,अहिले नै दिएर आइजो।म अलि पर गएर बस्छु ।”
भैरव मेरो हातमा उहि प्रेमपत्र थमाएर गयो।
दिने मन त थिएन तर दोस्तीको कसम थियो,जे भएपनी मसंग अरु विकल्प थिएनन्।
पर्खिरहेको थिएँ।वर्षा आई।
“कसलाई पर्खिएको मिरा,खै त तिम्रो साथी”वर्षाले नै बोलाई।धन्न मलाई सजिलो भयो।
“तिमीलाई नि,यता आउ न।कुरा छ तिमीसंग”
मैले भनेँ
“के कुरा,अगिन कक्षामा नै भनेको भए हुन्थ्यो नि”
ऊ बोल्दै मेरो नजिक आई।
“यो तिमीलाई”मैले भैरवले दिएको कागज उसलाई दिदै भनेँ।
छक्क पर्दै वर्षाले सोधी,”के यो”
“प्रेमपत्र,भैरवले दिएको।त्यसले तिमीलाई अस्तिनै देखि मनपराउथ्यो।साच्चै माया गर्छ।हामी संगै जन्मिएको,संगै हुर्किएको।भैरवले कसैलाई यति धेरै चाहेको मलाई थाहा थिएन।गाउँमा हाम्रो घरपनि संगै।यता काठमाडौमा पनि नजिकै छ।वर्षा,तिम्रो जिन्दगीमा को हुन्छ को हुन्न,त्यो निर्णय गर्ने अधिकार तिमीसंगै छ तर एउटा साथी भन्दा माथी उठेर केटि मान्छे भएर हेर्दा भैरव धेरै राम्रो मान्छे हो।”
मैले एकै सासमा भनिसकेँ।
वर्षाले प्रेमपत्र ब्यागमा राखी।खुशी देखिन्थी।लाग्थ्यो वर्षा भैरवको प्रेमपत्रको वर्षौंदेखि इन्तजार गरिरहेकी थिई।
परबाट भैरवले हातले इसारा गरेर मलाई बोलायो।
“गएँ ल,भोलि भेटौला….बाइ”यति भनेर म भैरव भएतिर लागेँ।वर्षाले टाउको हल्लाई।केही भनिन।
भैरव डरले रातोपिरो भइरहेको थियो।म नजिक पुग्ने बित्तिकै “के भनी”भनेर सोध्यो।
“केही भनिन। जहाँसम्म लाग्छ तँ पनि अब कसैको प्रेमी हुन्छ्स्।”
मैले हाँस्दै भनेँ।
“लागेको जस्तो हुदैन नि त सबैकुरा”उसले मलिन भएर भन्यो।
केही नबोली हामी चुपचाप कोठातिर लाग्यौ…

वर्षा र भैरव दिनदिनै नजिकिँदै थिए।म भएको बेला भैरवसंग कुरा गर्न वर्षा अप्ठ्यारो मान्थी।भैरव मसंग बोलेको,चलेको,संगै हिँडेको उसलाई मनपर्दैन भन्ने कुरा उसको व्यवहारले देखाउँथ्यो।भैरव दोस्ती र प्यारको बीचमा फसेको थियो।म चाहन्न थिएँ मैले गरेर मेरो साथीको जिन्दगीमा कुनै समस्या आओस्।ऊ धेरै खुशी थियो किनकी वर्षा खुशी थिई। म पनि खुशी थिएँ किनकि भैरव खुशी थियो।सबैको खुशीको निम्ति म भैरवबाट टाढिन पर्थ्यो।मैले उसै गरेँ।चिया पसलको भाइ,हजुरबा र काकासंग धेरै कुरा गर्न थालेँ।बिहान कलेज आउने बेला भैरवलाई फोन गर्नपनि छाडेँ।कहिलेकाही फर्कने बेला संगै भइन्थ्यो तर त्यस्तो कुरा हुदैन थियो।
एकदिन भैरवले मसंग भन्यो,”मिरा, आजदेखी म तिमीलाई तँ भन्दिनँ ल।सक्छौ भने तिमी पनि तँ नभन।हेपेको जस्तो लाग्छ रे वर्षाले भनेकी”
म छक्क परेँ,यो त्यही भैरव हो? जो मैले कहिलेकाही झुक्किएर तिमी भनेँ भने पनि टाढाको बनाइस् भनेर दिनभर बोल्दैनथ्यो।मलाई विश्वास गर्न गाह्रो भयो रिस पनि उठ्यो।
मैले भनेँ,”हिजो भेटेको केटीको लागि बच्चा देखिको दोस्ति तोड्छ्स्,तँ सधै तँ नै होस्।यो हेपाई होइन आत्मियता हो।यती पनि बुझाउन सकिनस् तेरो वर्षालाई..सोचेको थिइनँ तँ यसरी बद्लिन्छ्स्।”
“जे बुझ्न मन लाग्छ बुझ्दा हुन्छ”यति भनेर ऊ फर्केरै नहेरी गयो।
त्यो दिनदेखी झन् कुरा हुन छाड्यो।

कलेज ९ बजे नै छुट्टी भयो।म चिया पसलको भाइसंग कुरा गरेर बसिरहेको थिएँ।काका पनि हाम्रो कुरा सुनिरहनु भएको थियो।हजुरबा आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो। भैरव र वर्षा परको चौतारामा बसिरहेका थिएँ।
भाइले उनीहरु तिर हेर्दै मलाई सोध्यो,”दिदी त्यो दाइ त तपाईंको साथी हुनुहुन्थ्यो है”
“हुनुहुन्थ्यो होइन अहिले पनि मेरो साथी नै हो।”मैले हाँस्दै भनेँ।
“मिरा,भैरव र वर्षाको जोडी तिमीले बनाइदिएको रे नि त।अस्ति भन्दै थिए तिम्रै कक्षाका साथीहरू”काकाले भन्नुभयो।
“लौ!अचम्म के फेरि,तिनीहरु बीच प्रेम छ अनि त्यो प्रेम चाहिँ मैले गराइदिएर भएको होला उसो भए”मैले रिसाउदै भनेँ।
काकाले हाँस्दै भन्नुभयो,”त्यही त,प्रेम गराइदिन पनि सिपालु रहिछे मिरा भनेर छक्क परेको म त”
केहीबेर रोकिएर भैरवहरु तिर हेर्दै उहाँले फेरि भन्नुभयो,”बिहान ६ बजे आइपुग्छन् अनि दिनभरी जस्तो यतै हुन्छन्।खाना खान पनि नपर्ने रहेछ।प्रेममा परेपछि भोक,निद्रा केही लाग्दैन भन्थे हो रहेछ।”
भाइ अगाडिदेखि नै हाम्रो कुरा ध्यानपुर्वक सुनिरहेको थियो।उसले अचम्म मान्दै मेरो अनुहारमा हेरेर भन्यो,”भोक,निद्रा केही नलाग्ने हुन्छ हो साच्चै”
“सायद हुन्छ…अहिले त मलाई थाहा छैन तर पहिले चाहिँ भैरवले कहिलेकाही भोक निद्रा केही लाग्दैन भन्थ्यो।”
मैले सामान्य भएर जवाफ दिएँ।
भाइले खुशी भएर भन्यो,”दिदी,उसो भए कसरी हुन्छ भन्नू न,म चाहन्छु मलाई प्रेम होस्,हजुरबालाई पनि होस्,हजुरआमालाई पनि होस्।”
अनि फेरि केही सम्झिए झैँ गरि दुखी भएर भन्यो,”होस् हजुरआमालाई चाहिँ नहोस्…बिरामी हुनुहुन्छ”
म अलमल परेँ।काका मजाले हाँस्नुभयो।
भाइले काकालाई आँखा तर्यो अनि मलाई भन्यो,”तपाईंलाई त थाहा छ नि दिदी कसरी हुन्छ।मलाई प्रेम गराइदिनु न”
मैले छक्क पर्दै भनेँ,”तिमीलाई नि के रहर लागेको के,गराएर हुन्न नि त प्रेम…त्यही पनि तिमी त बच्चा नै छौ।पहिले स्कुल गएर राम्ररी पढ अनि यस्तो कुरा गर्नु”
उसले मलिन भएर भन्यो,”त्यहि स्कुल जान त प्रेम होस् भनेको नि दिदी।यो चियाको व्यापारले हजुरआमालाई दमको र बाथको ओखती किन्ने कि,खानलाई चामल र तरकारी किन्ने कि,मलाई कापी कलम किन्ने?”
म र काका एकोहोरो उसलाई हेरिरहेका थियौं
उसले पहिलेको भन्दा खुशी भएर भन्यो,”अनि भोक लागेन भने त चामल किन्ने पैसाले कापी किन्न पुगिहाल्छ नि।बुबाआमा बितिहाल्नुभयो।हजुरबालाई दुख छ नि।राती निद्रा पनि लागेन भने त दिनमा हजुरबालाई सघाएर राती पढ्ने थिएँ।हजुरबालाई पनि सजिलो हुन्थ्यो।”
उसले खुशी हुँदै काका नजिकै गएर मलाई भन्यो,”मिरा दिदी,भोक निद्रा नलागेपछि त कति धेरै पैसा जोगिन्छ है अनि म यो काकाले लगाउनु भएको जस्तै इस्टकोट किनिदिन्छु हजुरबालाई,कती सुहाउँछ होला।”
मैले केहि भन्न सकिनँ।ऊ फेरि मेरो नजिकै आएर भन्न थाल्यो,”पहिले नै भन्नपर्छ नि,प्रेम भएपछि भोक,निद्रा लाग्दैन भनेर नत्र अहिले म पनि टाइ,जुत्ता लगाएर स्कुल जान्थेँ ।”
ऊ मख्ख थियो,काका अचम्मित हुनुहुन्थ्यो,
केहिबेर रोकिएर फेरि भन्यो,”दिदी,भन्न त नि सबैले मलाई बच्चा भन्छन् तर मलाई थाहा छ नि,भोकभोकै बस्न कति गाह्रो हुन्छ भनेर,निद्रा लागेर पनि सुत्न नपाउदा कति टाउको दुख्छ भनेर।”उसले आँखाभरी आँसु पार्यो अनि
औंलाले परतिर देखाउदै भन्यो,”मिरा दिदी,तिनीहरुलाई पनि प्रेम गराइदिनु ल।बिचरा!तिनीहरुलाई पनि दुख छ।म अब हामीलाई भोक निद्रा केही लाग्दैन भनेर आउछु है, नजानु ल म आइहाल्छु।”
ऊ खुशी हुँदै दौडियो।
कति नादान थियोे ऊ।उसको खुशी,सपना र वास्तविकता सबै आँखा वरिपरि नाच्न थाले।ठम्याउन सकिनँ,उसको बुझाइमा म हाँस्न पर्छ कि रुन पर्छ…..।।।

??अनिता धिताल??

Leave a Reply

Your email address will not be published. Required fields are marked *