

एनप्याब्सन ३ घन्टे मूल्यांकन विधिमा नभई नियमित सिकाइ मूल्यांकन विधिको पक्षमा: खड्का
भक्तपुर/ नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले एनप्याब्सन ३ घन्टे मूल्यांकन विधिमा नभई नियमित सिकाइ मूल्यांकन विधिको पक्षमा रहेको बताएका छन् ।
सूर्यविनायक ५ सृजनानगरस्थित पाथीभरा एकेडेमी आवासीय विद्यालयकाे अभिभावक दिवस एवं दिक्षान्त समारोहमा एन प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले साे कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष खड्काले शैक्षिक प्रगतीका लागि विद्यालय र अभिभावकले हातेमालो गर्नुपर्ने आवश्यकता औल्याए ।
विद्यार्थीकाे शैक्षिक गुणस्तर बढाउन विद्यालय वा अभिभावक एउटा पक्षले मात्र हात अघि बढाएर हुँदैन, दुवै पक्षको उत्तिकै साथ र सहयोग चाहिने बताउँदै
अध्यक्ष खड्काले अभिभावाकहरुले विद्यालयबाट अपेक्षा बढी गर्ने तर आफ्नो कमजोरी नदेख्ने कारण समस्या हुने बताए । एक फरक प्रसंगमा बोल्दै उनले कोभिडले ग्रस्त शिक्षा क्षेत्रमा माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसइइ) को मूल्यांकन विधिमा अवैज्ञानिक तवरले संसोधन गरी सरकारले गल्ती गरेको आरोप लगाए ।

सिकाइको निरन्तर विद्यार्थी मूल्यांकन विधिलाई लत्याउदै अंक तोकेर पूरानै पासफेलको नियम ल्याउदा विद्यार्थीहरुमा नकारात्मक प्रभाव पार्नसक्ने प्रति खड्काले चिन्ता व्यक्त गरे । आफ्नो संगठन एनप्याब्सन ३ घन्टे मूल्यांकन विधिमा नभई कक्षा कोठा देखिकै नियमित सिकाइ मूल्यांकन विधिको पक्षमा रहेको उनको भनाइ छ ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रमेशप्रसाद सिटौलाले स्थापनाको १० वर्षमा विद्यालयले उल्लेख्य प्रगती गरेको जानकारी गराए । पहिलो बर्ष प्ले ग्रुप बाट कक्षा सुरु गरेको विद्यालयले प्रत्येक वर्ष कक्षा थप गर्दै जाने क्रममा हाल कक्षा ७ सम्म संचालन गर्न सफल भएको प्रिन्सिपल सिटौलाले जानकारी दिए । सिटौलाले विद्यालयको शैक्षिक गुणस्तर, स्तरीय हेरचाह र अभिभावकीय ब्यवहार तथा स्वस्थकर खानपान एवं वातावरणका कारण विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको बताए । उनले कोभिडका कारण कमजोर बनेको सिकाइलाई प्रभावकारी बनाउदै लगिएको जिकिर गर्दै ३ वर्ष देखि रोकिएको औपचारिक कार्यक्रम गर्न पाएकोमा सन्तोष समेत व्यक्त गरे ।
शिक्षिका लक्ष्मी प्रधानागंले संचालन गरेको कार्यक्रममा विद्यालयकी एकाडेमिक कोअर्डिनेटर सर्मिला प्रधानाङ र मन्टेश्वरी इन्चार्ज कमला लिम्बुले खादा लगाई अभिनन्दन गरेका थिए भने अभिभावकहरुको विश्वास र अपेक्षा अनुरुप कार्य गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।
विद्यालय संचालक समितिका अध्यक्ष एवं जलविद्युत उद्यमी बमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय संचालक समिति सदस्य हेमन्त सिटौला , बुद्धिबहादुर थापा, वी क्यान नेपालका अध्यक्ष रत्न राई, विद्यालयका सल्लाहकार टंकपसाद सिटौला, युनिक स्कूलका निर्देशक मुक्त जिसी, देबश्री बहुउद्देश्यीय सहकारी का अध्यक्ष एन.पि सिटाैला, सुर्यनगर टोलका अध्यक्ष बालकृष्ण न्याैपाने, समाजसेवी तथा शिक्षा प्रेमी ध्रुब प्रसाद सिवाकोटी, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालय सन्चालक अध्यक्ष रामचन्द्र थापामगरले सम्पुर्ण उपस्थित अभिभावक लाई स्वागत गर्दै बिधालयमा अहोरात्र खट्ने शिक्षक – शिक्षिका र प्राध्यापक लाई धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त अवसरमा खेल्ने समूहमाबाट सिक्ने समूह कक्षा १ मा पुगेका बालबालिकाहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो भने अघिल्लो २ वर्ष दिक्षान्त समारोह हुन नपाएकाले कक्षा २ र ३ का बालबालिकालाई पनि दीक्षित गरिएको थियो ।
अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरुले गीत,नृत्य लगायत आफ्ना विविध प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा यस वर्ष उत्कृष्ट शिक्षण सिकाइमा संलग्न भएको भन्दै विद्यालयले आफ्ना २ शिक्षक रजिना श्रेष्ठ र श्रीशा कवा लाई सम्मानित समेत गरेको थियो ।