इन्डियन प्रिमियर लिग (आइपिएल) को समय तालिका सार्वजनिक

  •   काभ्रे
  •   २२ भाद्र २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

भाद्र २२ गते

(एजेन्सी) संयुक्त अरब इमिरेट्स (युएई) मा तय भएको इन्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेल साबिक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच हुने भएको छ। 

आइतबार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले जारी गरेको तालिकाअनुसार उद्घाटन खेलमा रोहित शर्मा र महेन्द्रसिंह धोनी नेतृत्वको टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो। यद्यपि उद्घाटन सत्र भने आगामी असोज ४ गते अबुधाबीमा हुने तालिका छ। कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण झन्डै ५ महिनापछि धकेलिएको विश्वको सबैभन्दा चर्चित फ्रेन्चाइज लिग आइपिएल सेप्टेम्बर १९ (असोज ३) बाट हुँदै छ। 

जारी तालिकाअनुसार दुबईमा असोज ४ गते दिल्ली क्यापिटल्स र किङ्स इलेभन पन्जाब तथा असोज ५ गते सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगोलरबीच प्रतिस्पर्धा हुनेछ। सारजहा सहरमा हुने पहिलो खेल भने असोज ६ गते राजस्थान रोयल्स र चेन्नईबीच हुनेछ। 

नोभेम्बर १० (कात्तिक २४) सम्म सञ्चालन हुने प्रतियोगिता राउन्ड रोबिनका आधारमा हुनेछ। प्रतियोगिताका २४ खेल दुबई, २० खेल अबुधाबी र १२ खेल सारजहामा हुनेछन्।  पूर्वानिर्धारित समयमा हुन नसकेको आइपिएल केही समय धकेलिएपछि बिसिसिआईले भारत सरकारको अनुमति लिँदै युएईमा आयोजना गर्ने निर्णय गरेको थियो।  ‘आइपिएलको १३औं संस्करण १९ सेप्टेम्बरबाट अबुधाबीमा सुरु हुँदै छ। पहिलो खेलमा साबिक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ,’ बिसिसिआईका मानार्थ सचिव जय शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

झन्डै दुई महिना हुने प्रतियोगिताका लागि प्ले अफ र फाइनल हुने स्थान पछि मात्र घोषणा गरिने सचिव शाहले जानकारी दिए। चेन्नईका दुई खेलाडी दीपक चाहर र रुटुराज गायकवाडसँगै ११ अफिसियल्सलाई कोरोना पोजेटिभ देखिँदा टोलीको अभ्यास केही समय पछाडि धकेलिएको थियो। दोस्रा मुख्य खेलाडी हरभजन सिंहलाई शुक्रबार गुमाएको चेन्नईले यसअघि नै सुरेश रैनालाई गुमाएको थियो। सुरेश रैना पारिवारिक कारणले गर्दा भारत फर्किएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *