इन्टर मिलान र नेपोली आ-आफ्नो खेलमा विजयी

  •   काभ्रे
  •   ११ श्रावण २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं, ११ साउन ।


इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति सम्पन्‍न खेलमा इन्टर मिलान र नेपोली आ-आफ्नो खेलमा विजयी भएका छन् । इन्टरले गेनोवालाई तथा नेपोलीले सासुलोलाई हराएको हो ।

गेनोवाको घरेलु मैदानमा भएको खेलमा इन्टरका लागि रोमेलु लुकाकुले २ तथा एलेक्सिस सान्चेजले १ गोल गरे । लुकाकुले ३४औं मिनेटमा र खेलको इन्ज्युरी समयमा तथा सान्चेजले ८३औं मिनेटमा गोल गरेका थिए ।

जीतसँगै ३ अंक बटुलेको इन्टर ३६ खेलबाट ७५ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । इन्टरले शीर्षस्थानको युभेन्ट्ससँगको अंकदूरी समेत छाेट्याउँदै उपाधि जित्‍ने झिनो सम्भावना कायमै राखेको छ । पराजित गेनोवाको भने ३६ अंक रहेको छ र अंकतालिकाको १७औं स्थानमा रहेको छ ।

यस्तै उता नेपोलीले पनि जीत निकाल्ने क्रममा सासुलोलाई २-० ले हरायो । नेपोलीको जीतमा एल्सेद हाजन र एलनले एकएक गोल गरे ।

नेपोलीका खेलाडीले गोलपछि खुसी साटासाट गर्दै खेलको सुरुवाती आठौं मिनेटमा नै हाजनले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । अर्को गोल भने खेलको इन्ज्युरी समयमा भएको थियो । एलनले गोल थप्दै नेपोलीको २-० को जीत सुनिश्चित गरे ।

जीतपछि नेपोली ३६ खेलबाट ५९ अंकसहित सातौं स्थानमा कायमै छ भने सासुलोको ४८ अंक छ र तालिकाको आठौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *