अपाङ्गताः सहानुभूति होइन शिक्षा र सीप चाहिन्छ

  •   काभ्रे
  •   १० असार २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

अपाङ्गताः सहानुभूति होइन शिक्षा र सीप चाहिन्छ


२०७८/०३/१०

सम्झना हुमागाई बनेपा ,अरनिकाे टेलिभिजन

काभ्रेको खानीखोला तालढुंगाकी खरिमाया जिम्बा बोल्न र सुन्न सक्दिनन् । यहि कारण उनी घरकै काममा मात्र सीमित थिइन् । उनलाई बहिरो भनेर धेरैले जिस्काउथे । तीन वर्ष अघि घरबाट भागेर काभ्रे बहिरा विकास संघ बनेपामा आएकी खरिमाया दोभाषा सिकेपछि अहिले राम्रो विद्यार्थी बनेकी छिन् । उनी काभ्रे बहिरा विद्यालयमा कक्षा ८ मा पढ्छिन् । पढ्नुका साथै उनले फूर्सदको समयमा सीपमूलक काम गरेर आर्जन समेत गर्न थालेकी छिन् । डल, माला, मास्क, सेनेटरी प्याड बनाउने लगायतका तालिम पाएपछि उनमा उर्जा थपिएको छ । जन्मेदेखिनै बोल्न र सुन्न नसक्ने खरिमायाका ६ जना दिदीबहिनी र दुई जना दाजुभाई छन् । उनीसँगै अर्का दुई भाइबहिनी पनि बोल्न र सुन्न सक्दैनन् । उनीहरु पनि काभ्रे बहिरा विद्यालयको कक्षा ६ र ५ मा पढ्छन् । ‘भाइबहिनी बनेपाको बहिरा विद्यालयमा पढेर दोभाषा सिकेको देखैरै म पनि तालढुंगाबाट यहाँ आए, अहिले त घर जाँदा छरछिमेक र आफन्तले कति बाठी भइछ, के गरी यस्तो भयो भन्छन् । अहिले आफैले कमाउन थालेपछि सबैले राम्रो व्यवहार गर्ने गरेका छन्,’ उनले सुनाइन् । आफूले काम गरेर कमाएको पैसा घरमा बुबाआमालाई पनि पठाउने गरेको उनी बताउँछिन् ।

खरीमाया जस्तै पीडा भोगेकी अर्की पात्र हुन रोस श्रेष्ठ । कुनै समय सबैको हेलामा पर्ने रोस सीपमूलक काम सिकेर आर्जन गर्न थालेपछि उनको जिवननै बदलिएको छ । बनेपाको वडा. न. ७ की रोस पाँच वर्षको उमेरमा विरामी परिन् । आईसीयूमै राखेर लामो समयको उपचारपछि उनी निको त भइन् तर कान नसुन्ने र बोल्न नसक्ने समस्या उनमा देखियो । त्यसपछि उनलाई अरु भन्दा फरक महसुस हुन थाल्यो । ‘घरमै पनि बाजेबज्यैले बोल्न नसक्ने भनेर हेला गर्नुहुन्थ्यो, लाटी भन्नुहुन्थ्यो, आफन्त छरछिमेक मैले बोल्न नजान्दा हास्थ्ये, मलाई नरमाइलो लाग्थ्यो, उनले भनिन् ।’ विद्यालयमा पनि सुन्न सक्नेसँग पढ्नु पथ्र्यो । त्यसैले उनले कक्षा ८ पछि पढाइमा पनि पुर्णविराम लगाइन् । तर दोभाषेको तालिम पाएपछि उनको जीवन बदलियो । दोभाषे जानेसँगै उनलाई विभिन्न सीपमूलक तालिम लिन सहज भयो । सीपमूलक तालिमबाट सिकेका सीपनै उनको आर्जनको बाटो बन्यो । अहिले उनी बहिरा महिला उद्यमी संघको सल्लाहकार समेत छिन् । तर, कोभिडको कारण भने आम्दानी गर्न नसकिएको उनले सुनाइन् ।

खरिमाया र रोस जस्ता अन्य थुप्रै अपाङ्गता भएका महिलाहरु सीपमूलक तालिम पाएपछि आफै स्वरोजगार भएका छन् । समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम (सिबिआर) र विभिन्न संघसंस्थाको सहयोगमा सञ्चालित सीपमूलक तालिमबाट अपाङ्गता भएकाहरुले घरमै बसेर काम गरेकै भरमा राम्रै आम्दानी गरिरहेको उनीहरु सुनाउँछन् ।

फाेटाे फाईल :- सिविआर कार्यक्रम अन्तर्गत गत वर्षकाे डल बनाउने तालिममा सहभागी महिलाहरू

बाग्मती प्रदेश अन्तरगत सामाजिक विकास मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरुको लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्न प्रत्येक स्थानीय तहका लागि ३ लाख बजेट बिनियोजन गरेको छ । काभ्रे बहिरा विकास संघलाई सोही बजेटबाट सिबिआर कार्यक्रम सञ्चालनका लागि बनेपा नगरपालिकाले प्रत्येक वर्ष १ लाख ५० हजार आर्थिक सहयोग दिदैं आएको छ । त्यसबाट काभ्रे बहिरा विकास संघले अपाङता भएका महिलाहरुलाई विभिन्न सीपमुलक तालिम दिदैं आएको छ । २०७६/७७ मा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तरगत १५ जना बहिरा महिलाले सीपमूलक तालिम लिएका छन् । यसपटक पुरुषसमेतलाई समेटेर संघले अपाङ्गता भएकाहरुका लागि सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै अन्य संघसंस्थाहरु पोटर्रेज नेपाल, ट्रिफ, लगायतका विभिन्न संस्थाहरुले पनि अपाङ्गता भएकाहरुका लागि क्षमता अभिवृद्धि गर्ने कार्यक्रम र राहतका वितरणको काम गर्दै आइरहेका छन् । मास्क बनाउने, स्यानेटरी प्याड बनाउने, इम्ब्रोइडेरेड कार्ड, क्रिष्टलका माला, खेलौना, अचार, धुप, मैनवत्ती बनाउने लगायतका तालिम तथा सीप उनीहरुलाई सिकाइन्छ भने कतिपय संस्थाले ज्याला दिएर उनीहरुले निर्माण गरेका सामान आफै किन्ने गरेका छन् ।

जिल्लाका सबै स्थानीय तहले अपाङता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम, विभिन्न संघ संस्थाले उपलब्ध गराएका श्रोतबाट विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । त्यस्तै अपाङ्गताको परिचयपत्र वितरण, वर्गिकरण अनुसारको मासिक भत्ता दिने काम पालिकाहरुले गरिरहेकै छन् । तर उनीहरुले अपाङता भएका व्यक्तिको क्षमता अभिवृद्धिका लागि बाह्य स्रोतबाट प्राप्त कार्यक्रमलाई निरन्तरता दिएपनि आन्तरिक योजना भने बनाएका छैनन । 

पाँचखाल नगरपालिकाकी महिला प्रमुख पुन्यदेवी श्रेष्ठ आफूहरुले आगामी योजनामा अपाङता भएका महिलाहरुका निम्ति कार्यक्रम ल्याउन प्रस्ताव गरेको बताईन् । दोभाषेको व्यवस्थासहित सूचना दिने काम गर्नुपर्नेमा आफ्नो जोड रहेको उनको भनाइ छ । उनले भनिन्, ‘काम लिएर आउने सुन्ने र बोल्ने अपाङ्गता भएकासँग दोभाषेको व्यस्था नहुदाँ संवाद गर्न समस्या हुदै आएको छ ।’

पनौती नगरपालिकाले पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिनु बाहेक अन्य नयाँ योजना नल्याएको सूचना अधिकारी इन्द्र प्रसाद अधिकारीले बताए । बनेपा नगरपालिकाले २ लाख ५० हजार अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्याएपनि कोभिडका कारण काम गर्न नसकेको नगरपालिकाकी महिला विकास प्रमुख बिजया सुवेदीले बताइन् । ‘अपाङ्गता भएकाहरुका लागि बजेट बिनियोजन गरेपनि कोभिड महामारीले गर्दा कार्यक्रम प्रभावित बन्यो, तर ढिलै गरी भएपनि यसपटक उनीहरुका लागि राहत वितरणको कार्यक्रम गर्ने योजना भने बनाएका छौ, उनले भनिन् ।’ 

धुलिखेल नगरपालिकाले भने अपाङगता भएकाहरुका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । अपाङ्गता भएकाहरुको समस्या सम्बोधनका लागि अपाङ्ग परिषद् स्थापना गरेको नगरपालिकाका प्रवक्ता पुष्पराज राउतले बताए । त्यस्तै सीपमूलक तालिमपछि वडा. न. ६ मा अपाङता भएका व्यक्तिहरुले मसला उद्योग सञ्चालन गरेर आयआर्जन गरेको उनले बताए । उनले भने, ‘यसपटक पनि अपाङता भएका व्यक्तिहरुका लागि १० लाख बजेट छुट्याइएको छ । अब नगरपालिका भित्रका सबै अपाङता भएका व्यक्तिहरुको भेला गरेर उनीहरुको समस्या सम्बोधन गर्न के गर्नुपर्छ उनीहरुसँगै राय लिन्छौ ।’ यस्तै धुलिखेल नगरपालिकाले नगरभित्रका १ सय व्यक्तिहरुलाई कानको मसिन अर्थात हेयरिङ एडस् वितरण गरेको जनाएको छ । कानको मेशिन एवं श्रवण यन्त्र कम कान सुन्नेहरुले प्रयोग गर्न सक्छन् ।

सांकेतिक भाषा अर्थात दोभाषेको विस्तारसँगै बहिराहरुलाई पढ्न, लेख्न, संवाद गर्न र काम गर्न सहज भएको छ । दोभाषेबारे ज्ञान नहुदाँ बहिरा बहिराबीचमै पनि कुराकानी गर्न सहज हुदैन् । काभ्रेमा बहिरा विद्यालयकी शिक्षिका समेत रहेकी काभ्रे बहिरा विकास संघकी उपाध्यक्ष शर्मिला श्रेष्ठ आफैले पनि यस्तो समस्या भोगेको सुनाइन । उनले भनिन्, ‘दोभाषेको माध्यमबाट उस्तै समस्या भएका हामीहरु एकआपसमा खुलेर कुरा गर्छौ, दोभाषे नजान्दा कुनैपनि कुरा भन्नुपर्दा बुझाउनै मुस्कि पथ्र्यो । अहिले सजिलो छ, पढ्न पढाउन, काम सिक्न र सिकाउन ।’ अपाङ्गता भएकालाई सीप र शिक्षाको खाँचो भएको उनले बताइन् । 

पछिल्लो समय अपाङ्गता भएकाहरुलाई क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरुले उत्साहित त बनाएको छ । तर अपाङ्गता पनि विभिन्न प्रकारका भएकाले सबै प्रकारका अपाङ्गताका लागि संरचना निर्माण हुन सकेको छैन । सुनाइ र बोलाई सम्बन्धि अपाङ्गता भएकाहरुलाई दोभाषेको आवश्यकता पर्छ । तर काभ्रेमा दोभाषेको व्यवस्थासहितको सूचना केन्द्र नभएको जिल्ला समन्वय समितिले जनाएको छ । भर्खरै मात्र जिल्ला अदालतमा दोभाषेको व्यवस्था सुरु भएको काभ्रे बहिरा विकास संघकी सल्लाहकार एवम काभ्रे बहिरा विद्यालयकी प्रिन्सिपल कृष्णप्यारी नकर्मीले बताईन् । सरकारी कार्यालय, अस्पताल लगायतका स्थानमा दोभाषेको व्यवस्था नहुदाँ बहिरा व्यक्तिहरुका लागि निकै असहज हुने गरेको काभ्रे बहिरा विकास संघका सचिव धिरज अधिकारीको गुनासो छ । 

अर्कोतर्फ काभ्रेमा बहिरा विद्यार्थीहरुका लागि दोभाषेको माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गर्छ । त्यसपछि भने उनीहरुले दोभाषेमा उच्च शिक्षा लिन काठमाडौं, पोखरा, भैरहवा, बाग्लुङ लगायका ठाँउमा जानुपर्ने बाध्यता रहेको बहिरा विद्यालयकी प्रिन्सिपल नकर्मीले बताइन् । जिल्लामा दोभाषेमा उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था हुने हो भने उनीहरु अन्यत्र जानु नपर्ने उनको बुझाइ छ ।

अपाङ्गतालाई विभिन्न प्रकारमा वर्गीकरण गरिएको छ । शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धि अपाङ्गता, बौद्धिक अपाङ्गता, सुनाइ र  बोलाई सम्बन्धि अपाङ्गता, अटिज्म सम्बन्धी अपाङ्गता लगायतका अपाङ्गता भएका व्यक्ति हाम्रो समाजमा छन् । उनीहरुलाई समस्या अनुसारको व्यवहार, शिक्षा र सिकाईको आवश्यकता पर्छ । हिजोसम्म केही नजान्ने र घरमै मात्र सीमित हुने व्यक्तिहरुले पनि शिक्षा र सीपपछि आत्मनिर्भर भएका थुप्रै उदाहरण छन् । त्यसैले अपाङ्गता भएका व्यक्तिहरुलाई सहानुभूतिले होइन शिक्षा र सीप दिन आवश्यक छ । अनिमात्र उनीहरुले सम्मानका साथ आफूलाई समाजमा प्रस्तुत गर्न सक्छन् ।

(समाचार संकलनका क्रममा काभ्रे बहिरा विकास संघका सल्लाहकार कृष्णप्यारी नकर्मीले बहिरा व्यक्तिहरुसँगको संवादका लागि समन्वय गर्नुभएको हो ।) 

लेखकः रेडियो अरनिको र अरनिको टेलिभिजनमा आवद्ध छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *