अक्षराङ्क पद्धतिमा सुधार आवश्यक: अध्यक्ष खड्का

  •   काभ्रे
  •   २० चैत्र २०७८, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

अक्षराङ्क पद्धतिमा सुधार आवश्यक: अध्यक्ष खड्का

अमर कृष्ण चन्द

भक्तपुर/सुर्यविनायक नगरपालिका वडा नं. ९ भाते ढिकुरमा अवस्थित मदरल्याण्ड स्कुलले अभिभावकलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा बदलिँदो परिस्थिति तथा कोभिड १९ को महामारी पश्चात् बालबालिकामा देखिएका विविध परिवर्तनका सन्दर्भ समेटेर ‘अनुकरणीय अभिभावक एवं सचेतता’ विषयक अभिमुखिकरण–२०७८ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि थापाले अहिले सबैलाई रिजल्ट मात्र चाहिएको बताए । नगर प्रमुख थापाले शिक्षा क्षेत्रमा सोचे जस्तो रिजल्ट निकाल्न ठूलो मेहनत गर्नुपर्ने बताउँदै असल मान्छे बन्न शिक्षाको मुख्य भुमिका रहने बताए । थापाले कोभिडका कारण शैक्षिक क्षेत्र मारमा रहेकोले अब शैक्षिक क्षेत्रमा नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताए ।

यस्तै सुर्यविनायक नगरपालिका वडा न. ८ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक किरण थापाले शैक्षिक गुणस्तरका लागि अभिभावकको पनि उतिकै जिम्मेवारी रहने हुँदा अभिभावकले पनि आफ्नो जिम्मेवारी भुल्न नहुने धारणा राखे । कोभिडको कारण पछिल्लो समय बालबालिकाको पढाइ र विद्यालय प्रभावित भएको बताउँदै वडाध्यक्ष थापाले अभिभावकले आफ्ना बालबालिकाको गतिविधिमा चासो राख्नुपर्ने बताए ।

कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष समेत रहेका मदरल्याण्ड स्कूलका संस्थापक प्रिन्सीपल संजय खड्काले अभिमुखिकरण कार्यक्रममा स्वस्थ र सफल जीवनका लागि सकारात्मक सोचको विकास गर्न फलदायी हुने बताउँदै अभिभावकले पढपढ मात्र भनेर दवाव दिनुभन्दा घरबाट नै असल संस्कारको विकास गराउदै अभिभावकले बालबालिकाहरुको हरेक कुरा सुनेर साथीको व्यवहार गरी उनीहरुको मनोभावना अनुसार बालबालिकालाई गलत बाटो लाग्नबाट जोगाउन अभिमुखिकरण कार्यक्रम आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा प्रिन्सीपल खड्काले सरकारले अक्षरांक प्रणालीमा पनि ३५ प्रतिशत नकटाउने विद्यार्थीलाई फेल गराउने नियम लागु गर्न लागेकोमा विरोध जनाउँदै विद्यालय तहको मूल्याकंन विधि नै सुदृढ गर्नु पर्ने बताए । शैक्षिकका साथै हरेक अतिरिक्त क्रियाकलाप तथा प्रतियोगितामा राष्ट्रीय एवं अन्तर्राष्ट्रीय पदक समेत जित्न सफल मदरल्याण्ड स्कुलले आगामी दिनहरुमा अभिभावकको पहिलो रोजाईको स्कुल बनाउने योजना रहेको प्रिन्सिपल खड्काले बताए । खड्काले आउने शैक्षिक वर्ष २०७९ देखि नेशनल प्याव्सन भक्तपुर अन्तर्गत ‘पूर्व प्राथमिक तह स्तरोन्नति’ कार्यक्रम मदरल्याण्ड स्कुलमा लागु गरी पूर्ण रुपमा मन्टेश्वरी पद्धतिमा अभिभावकको आर्थिक क्षमतालाई पनि ध्यानमा राखी संचालन गर्ने बताए । ४ कोठा घर लिएर खेल्ने सामग्री देखाउँदै किड्स तथा मन्टेश्वरी स्कुलको नाममा अत्यधिक शुल्क लिएर अभिभावकहरुलाई मार पारेको बताउदै खड्काले यस तर्फ अभिभावक सचेत हुनु पर्ने धारणा राखे ।

कार्यक्रममा महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी उपरीक्षक शिव कुमार श्रेष्ठ तथा प्रहरी निरीक्षक शशी शर्माले वर्तमान अवस्थामा लागू औषध सम्बन्धि अपराध, असर, प्रभाव, यूवाहरु लागु औषध दुव्र्यसनीमा कसरी फस्छन्, सजाय, दीर्घकालीन असर तथा न्युनिकरण एवम् साइबर क्राइम, सामाजिक संजालमा व्याप्त विकृति बारे प्रस्तुतिकरण दिएका थिए ।

साथै मोटिभेटेशन स्पिकर तथा लाइफ कोच डिआर पराजुली म्याग्नेटले बालबालिकाको अवस्था र अभिभावकको दायित्व बारे प्रस्तुति दिँदै कसरी अनुकरणीय अभिभावक बनेर कुन उमेरको बच्चासँग कसरी व्यवहार गर्ने भन्ने सर्दर्भमा प्रशिक्षण दिनु भएको थियो।

यस्तै फिनिक्स मण्टेश्वरीका संचालक रिता घिमिरे तिमल्सिनाले महँगो फि हुँदैमा गुणस्तरीय शिक्षा नहुने धारणा राख्दै अभिभावकहरुले आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षा र उज्वल भविष्यका लागि महँगो फि भएको स्कूल गुणस्तरीय हुन्छ भन्ने अवधारणा त्याग्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा समपन्न कार्यक्रममा विद्यालयकी संचालिका शर्मिला देउजा, फोनिक्स मण्टेश्वरीका अर्की प्रशिक्षक रिता आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य भिमेश्वर थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथि, अभिभावक एवं शुभचिन्तक सहित ४ सय १४ जना सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *